• १३ मंसिर २०८१, बिहिबार

चिराइतो निकासी वृद्धि

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, फागुन ८ गते । ताप्लेजुङमा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको हो ।

जिल्लामा चिराइतो उत्पादनमा कमी आइरहेको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार यस वर्ष निकासीमा वृद्धि भएको हो । तुलनात्मक रूपमा यो वर्ष केही परिमाणमा चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ८२० किलोग्राम चिराइतो निकासी भएको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार आव २०७८/७९ मा तीन हजार २८० किलोग्राम मात्र चिराइतो निकासी भएको थियो । 

यस्तै आव २०७९/८० मा पाँच हजार ८०० किलोग्राम चिराइतो निकासी भएको छ । अघिल्लो दुई वर्षभन्दा पछिल्लो अर्थात् यो वर्ष थोरै परिमाणमा भए पनि चिराइतो निकासी वृद्धि भएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले जानकारी दिनुभयो ।

पछिल्लो केही वर्षयता चिराइतोको मूल्यमा आएको गिरावटसँगै धेरै किसानले खेती लगाउन छाडेको पाइएको डिभिजनल वन अधिकृत साहले बताउनुभयो । किसानले खेती लगाउन छोडेसँगै उत्पादन घट्दै गएको थियो । 

यस वर्ष चिराइतो निकासीबाट प्रतिकिलोग्राम १५ रुपियाँका दरले ८७ हजार ३०० रुपियाँ राजस्व सङ्कलन भएको पनि डिभिजन वन कार्यालयले जानकारी दिएको छ । स्थानीय व्यापारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिमन (४० किलोग्राम) पाँच हजार रुपियाँसम्म मूल्य वृद्धि भएको छ । 

गत वर्ष चिराइतो प्रतिमन ४२ हजार रुपियाँसम्ममा कारोबार भएको स्थानीय व्यापारी टासी शेर्पाले बताउनुभयो । हाल यहाँ उत्पादन हुने चिराइतो भारत निर्यात हुँदै आएको स्थानीय व्यापारीले जनाएका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारीपछि चीनको स्वशासित क्षेत्र तिब्बतसँगको   उत्तरी      नाका   टिपताला  भन्ज्याङ बन्द भएपछि चिराइतो भारततर्फ निर्यात हुन थालेको हो । 

टिपताला नाका खुला हुँदासम्म तिब्बतका व्यापारीसँग चिराइतोको कारोबार गर्दा यहाँका व्यापारीले प्रतिमन ७५ हजारदेखि एक लाख रुपियाँसम्म पाउने गरेका थिए ।