• ४ पुस २०८१, बिहिबार

करिब ७० हजारले गरे कृषि महोत्सव अवलोकन

blog

बनेपामा आयोजित काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सवको अवलोकन गर्दै सर्वसाधारण । तस्विरः केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, फागुन ७ गते । काभ्रेपलान्चोकको बनेपामा आयोजना गरिएको काभ्रेपलान्चोक बृहत् कृषि महोत्सव २०८० को करिब ७० हजार सर्वसाधारण नागरिकले अवलोकन गरेका छन् । 

जिल्ला समन्वय समिति, जिल्लाका १३ वटै स्थानीय तह, कृषि विकास कार्यालय, पशु सेवा कार्यालयको संयुक्त आयोजनामा भएको महोत्सव सोमबार सकिएको छ । महोत्सव मुल आयोजक समितिका सदस्यसचिव एवम् कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले चार दिनसम्म चलेको महोत्सवको करिब ७० हजार सर्वसाधारण नागरिकले अवलोकन गरेको बताउनुभयो ।

उहाँले महोत्सवमा दुई करोड रुपियाँ बराबरको ताजा तरकारीलगायतका कृषि उत्पादन बिक्री भएको बताउनुभयो । उहाँले महोत्सवमा राखिएका कृषि उपकरण र होटलको बिक्रीबारेमा तथ्याङ्क आउन बाँकी रहेको बताउनुभयो । चार दिनसम्म सञ्चालन भएको महोत्सवमा १५० वटा स्टल रहेको उहाँले बताउनुभयो । 

“महोत्सव हुनुअघि कृषि महोत्सव पनि सम्भव छ भन्ने धेरैमा कौतुहलता भएपनि महोत्सवले गाउँस्तरमा उत्पादित रैथाने बाली, उपजहरुले स्थान पाएको खण्डमा बजारीकरण गर्न सकिने रहेछ भन्ने सकारात्मक सन्देश दिएको छ” दवाडीले भन्नुभयो । 

उहाँले महोत्सवले किसानहरुलाई कृषिमा भित्रिएको प्रबिधिबारेमा जानकारी प्रदान गर्नुको साथै कसरी कृषिमा प्रबिधिको प्रयोग गर्न सकिन्छ भन्ने सन्देश किसानलाई दिएको बताउनुभयो । 

“यो महोत्सवले जिल्लामा कृषिउपजको बजारीकरणका लागि स्थान आवश्यक रहेको र जिल्लामा उत्पादित कृषिउपजहरुले बजार पाउँछन् भन्ने कुरा देखाएको छ” कार्यालय प्रमुख दवाडीले थप्नुभयो, “चार दिनसम्म सञ्चालन भएको महोत्सवमा कृषिलाई साहित्यसँग जोडेर बिभिन्न साहित्यिक रचना, कृषिलाई चित्रकलासँग जोडेर चित्रकला प्रतियोगिता समेत सन्चालन गरिएको छ ।”

महोत्सव अवलोकन गर्न आउनु भएका करिव तीनसय किसानसँग विभिन्न आठ वटा विषयमा अन्तरक्रिया गरिएको उहाँको भनाइ छ । महोत्सवमा काठमाडौँ विश्वविद्यालयका आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रमका संयोजक एवम् असिस्टेन्ट प्रोफेसर डा. यज्ञराज पाण्डे, डा. कुमार लामाले कृषिमा कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग, सम्भावना एवम् अभ्यास, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खुमलटारका बरिष्ठ कृषि इन्जिनियर डा.इ. जितबहादुर चन्दले कृषिमा यान्त्रिकरणको अवस्था, सम्भावना र चुनौतीको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

यसैगरी कृषि विभागका बरिष्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर घिमिरेले नेपालमा कृषि वीमाको अवस्था तथा चुनौतीहरु, राष्ट्रिय बाणिज्य बैङ्क बनेपाका प्रमुख जग्गनाथ अधिकारीले कृषिमा सहुलियत कर्जा एवम्  सहज परिचालन, सलाका डेरी फर्म प्रालिका सञ्चालक आङफुर्वा शेर्पाले व्यावसायिक पशुपालनसम्बन्धी अनुभव प्रस्तुत गर्नुभयो ।  

महोत्सवमा राष्ट्रिय पशु प्रजनन तथा अनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख डा. निमा अमात्य गोर्खालीले रैथाने पशुपंक्षीको महत्व, संरक्षणको आवश्यकता र आगामी कार्यदिशा, आर एण्ड डी इनोभेटिभ सोलुसनका निर्देशक डम्मर खनालले फलफुल तथा तरकारी बालीमा उत्पादनोपरान्त क्षति न्यूनिकरण तथा व्यवस्थापन र एग्री भिजन हाइटेक प्रालिका राजेन्द्र रायमाझीले संरक्षित संरचनामा खेतीमार्फत व्यावसायिकरणको विषयमा अन्तरक्रिया गरिएको थियो । 

महोत्सवमा अन्नबाली, दलहन, नगदेबाली, फलफुल, तरकारी, मसला बालीका साथै  दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपंक्षीजन्यउपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन, मत्स्यजन्य परिकारहरु समेत प्रदर्शनीमा राखिएको थियो । महोत्सवको समापन कार्यक्रममा उत्कृष्ट सहकारी, समुह, कृषि फर्मलाई नगद दुई हजार रुपियाँका दरले सम्मान गरिएको थियो ।