• २० असार २०८२, शुक्रबार

त्रिपुरासुन्दरी भगवती मन्दिरमा अषाढी जात्रा आरम्भ

blog

अषाढी जात्राको अवसरमा त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा भक्तजनहरूको घुइँचो । तस्बिर : केशब राज भट्ट

केशव राज भट्ट 
बाशुलिङ्ग (बैतडी), असार २० गते ।
धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रबिन्दुका रूपमा रहेको बैतडीको ऐतिहासिक त्रिपुरासुन्दरी भगवती मन्दिरमा बिहीबारदेखि अषाढी जात्रा सुरु भएको छ ।

हिन्दू धर्मावलम्बीहरूको गहिरो श्रद्धा र विश्वासले गुञ्जिएको उक्त जात्रामा हजारौं भक्तजनहरूको सहभागिता रहँदै आएको छ । जात्रा विशेष गरी असार शुक्ल अष्टमी र नवमीका दिन विशेष पूजा, होम, हवन तथा धार्मिक अनुष्ठानका साथ मनाइन्छ । मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाका अनुसार अष्टमीको रातमा भगवतीको विशेष पूजाआजा गरी श्रद्धालुहरू दिव्य अनुभूति गर्दै मनोकामना पूर्ण होस् भन्ने कामनासहित पूजा आराधना गर्छन ।

भगवतीको सवारी कापडीसम्म

जात्राको मुख्य आकर्षणमध्ये एक भगवतीको डोली सवारी मूल मन्दिरबाट कापडी गाउँस्थित भगवतीको अर्काे मन्दिरसम्म पुर्याइन्छ । स्थानिय बाजागाजा, ढोलनगारा, शंखध्वनी तथा पूजारी, भण्डारे र धामीहरूको अगुवाइमा डोली यात्रा गरिन्छ । कापडी मन्दिरमा विशेष पूजा सम्पन्न गरेपछि भगवतीको फिर्ती सवारी गरिन्छ ।

धार्मिक जानकार आनन्दमणि भट्टका अनुसार डोली यात्रा परम्परागत संस्कार र सामाजिक एकताको प्रतीकका रूपमा रहेको छ ।

बलि परम्परा र धार्मिक चेतना

अषाढी जात्राको अवसरमा राँगा तथा बोकाको बलि अर्पण गर्ने परम्परा आज पनि जीवित छ । जनविश्वासअनुसार भगवतीलाई बलि अर्पण गर्दा पापकर्म नष्ट हुने र मनोकामना पूरा हुने विश्वास गरिन्छ । भजन, कीर्तन र धार्मिक उल्लासले मन्दिर क्षेत्र दिनभर गुञ्जायमान हुन्छ । स्थानीय श्रद्धालु श्यामबहादुर चन्दले भन्नुभयो, ‘‘बलिसँगै यो जात्राले धार्मिक चेतना र संस्कृति जगेर्नामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।’’

सीमापारको आस्था

त्रिपुरासुन्दरी भगवतीप्रति सीमापार भारतबाट समेत भक्तजनहरूको सहभागिता रहने गरेको अध्यक्ष थापाले बताउनुभयो । उत्तराखण्ड, उत्तरप्रदेश लगायतका क्षेत्रहरूबाट वर्षेनी सयौं श्रद्धालु जात्रामा सहभागी हुने गरेका छन । उहाँका अनुसार, ‘‘भगवती त्रिपुरासुन्दरीप्रतिको आस्था सीमाभन्दा पर पुगेको छ ।’’

त्रिपुरासुन्दरी : धार्मिक पर्यटकीय गन्तव्य

नेपाल सरकारले घोषणा गरेको ‘एक सय पर्यटकीय गन्तव्य’ मध्ये त्रिपुरासुन्दरी भगवती मन्दिर पनि एक हो । ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिने यो मन्दिरमा वर्षभर श्रद्धालुहरूको ओहोरदोहोर चलिरहन्छ ।

स्थानीय माधवप्रसाद लेखकका अनुसार, ‘‘त्रिपुरासुन्दरी भगवतीको दर्शनले भक्तजनको मनोकामना पूरा हुने जनविश्वास रहेको छ । साथै मन्दिर क्षेत्र पर्यटन प्रवर्धनका दृष्टिले पनि सम्भावनायुक्त गन्तव्य हो ।’’