• १५ मंसिर २०८१, शनिबार

महेन्द्रपुलमा बन्यो झन्डा पार्क

blog

लेखनाथ समाचारदाता

लेखनाथ, फागुन ८ गते । पोखरा महानगरको करिब मध्यभागमा पर्ने महेन्द्रपुलमा झन्डा पार्क निर्माण भएको छ । पोखरा–९ को महेन्द्रपुलमा पहिलेको सार्वजनिक पुस्तकालयको स्थानमा पार्क बनाइएको हो । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई, जे, के, एल र एमको सहयोगमा करिब ७० लाख रुपियाँ लागतमा पार्क निर्माण भएको हो । सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा पार्क उद्घाटन गर्नुभयो । 

उद्घाटनसँगै पार्कको स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले महानगर प्रमुख आचार्यलाई झन्डा पार्कको साँचो हस्तान्तरण गर्नुभएको हो । महानगर प्रमुख आचार्यले पोखराको विकासका लागि सहकार्य गर्न सबै सङ्घ, संस्थालाई आह्वान गर्नुभयो । महानगर एक्लैको प्रयासले विकास सम्भव नभएको भन्दै उहाँले पोखरामा पर्यटकीय एवं अन्य पूर्वाधार र विकासमा हातेमालो गर्न चाहेको उल्लेख गर्नुभयो । 

झन्डा पार्कसँगै व्यवस्थित पार्क, शौचालय, फल्चा, मट्का चिया पसल, पत्रपत्रिका एवं डिजिटल डिस्प्लेलगायतका संरचना बनाइएका छन् । उहाँले भन्नुभयो, “पार्कले विश्वभरबाट आउने पर्यटक र आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने अपेक्षा गरेका छौँ, पत्रपत्रिका, इन्टरनेट पहुँचसमेत दिएर यसलाई सिकाइ केन्द्रका रूपमा विकास गर्ने छौँ ।” लायन्सका अन्तर्राष्ट्रिय निर्देशक बुर्लाकोटीले पार्कले सुन्दर पोखरामा अर्काे गन्तव्य थपिएको उल्लेख गर्नुभयो । पार्कमा संयुक्त राष्ट्रसङ्घमा आबद्ध १९५ देशका झन्डासँगै पोखरा महानगरपालिका, लायन्स क्लब र एनआरएनएको गरी १९८ झन्डा राखिएको छ । पार्कको अग्रभागमा नेपालको ठुलो झन्डा राखिएको छ ।