• ५ मंसिर २०८१, बुधबार

स्तम्भ जोगाउन दियो सेड सारियो

blog

रुपन्देही समाचारदाता

रुपन्देही, फागुन ८ गते । लुम्बिनीमा अशोकस्तम्भलगायत पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्ती (दियो सेड) परिसरलाई बाहिर सारिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोकस्तम्भ रहेको छ ।

इसापूर्व २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोकस्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणको तथ्य हो । युनेस्को, पुरातत्त्वविद्ले दिएको सुझाव अनुसार लुम्बिनी विकास कोषले अशोकस्तम्भ नजिकै बालिँदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले जनाकारी दिनुभयो ।

“लुम्बिनी चिनाउने भनेकै अशोकस्तम्भले हो, त्यसैले स्तम्भनजिकै बालिँदै आएको दियोलाई अलि टाढा लैजाने विज्ञको सुझाव आयो, त्यही सुझाव अनुसार नयाँ दियो सेड स्थापना गरिएको हो,” उहाँले भन्नुभयो । उपाध्यक्ष लामाकै पहलमा अशोकस्तम्भनजिकै रहेको दियो सेड हटाएर मायादेवी मन्दिर परिसरको पश्चिमपट्टि एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ । 

युनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै लुम्बिनी वरिपरि निर्माण भएका उद्योगको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भनजिकै बालिएको बत्तीको धुवाँले अशोकस्तम्भको पुरातात्त्विक संरचनालाई नकारात्मक असर परेको देखाएको थियो । 

बत्ती बाल्दा त्यसबाट निस्कने कार्बनले अशोकस्तम्भमा टाँसिएर संरचनामा नकारात्मक असर गरिरहेकाले त्यहाँबाट बत्ती बाल्ने स्थल हटाउन सुझाव दिएको कोषका पुरातत्त्व महाशाखा प्रमुख एवं वरिष्ठ पुरातत्त्वविद् हिमालकुमार उप्रेतीले बताउनुभयो । उहाँले लुम्बिनी वरिपरिका सिमेन्ट उद्योगबाट निस्केको धुलो टाँसिएको, अशोकस्तम्भभित्र चढाउने विभिन्न सिक्का, दुध, फलफूलले समेत असर पारेको देखिएकाले सचेत हुनुपर्ने बताउनुभयो । 

सन् २०११ देखि २०१३ सम्म पवित्र बगैँचा क्षेत्रमा युनेस्को जापानिज फन्ड एन्ड ट्रस्टको परियोजना अन्तर्गत काम गर्दा दियो सेड स्थानान्तरण गर्न सुझाव दिइएको उप्रेतीले उल्लेख गर्नुभयो । उहाँका अनुसार सोही परियोजना अन्तर्गत अशोकस्तम्भको पुरातात्त्विक संरचना संरक्षणका लागि वाटरप्रुफ गरिएको छ । अशोकस्तम्भको सुरक्षा र लुम्बिनीमा पुग्ने तीर्थालुका लागि मायादेवी मन्दिर प्रवेशद्वारको पश्चिमपट्टि दियो स्थल निर्माण गरेको छ ।

सो स्थानमा एकै पटकमा आठ हजार बत्ती बाल्न सकिन्छ । कोषले दैनिक रूपमा एक लाख दियो बाल्न मिल्ने गरी दीर्घकालीन योजना बनाएको छ । गत माघ १२ गते उपाध्यक्ष डा. लामासहित खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र चिनियाँ चर्चित हलिउडका कलाकार जेटलीले दियो सेडको उद्घाटन गर्नुभएको हो । महायानी बुद्धिस्टले आफ्नो परिवारको स्मृतिमा दियो बाल्ने प्रचलन रहेको छ । बुद्धिस्टबाहेक अन्य तीर्थालुले समेत लुम्बिनी पुगेपछि दियो बाल्ने प्रचलन बढ्दै गएको छ ।