• १९ असार २०८२, बिहिबार

विश्वविद्यालय बलियो बनाउन सबैको जिम्मेवारी

blog

लुम्बिनी प्राविधिक विश्वविद्यालयको तेस्रो वार्षिकोत्सवमा सम्बोधन गर्नुहुँदै सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असार १८ गते । लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई बलियो बनाउनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिनुभएको छ । उक्त विश्वविद्यालयको तेस्रो वार्षिकोत्सवको अवसरमा बुधबार नेपालगन्जमा आयोजना गरिएको औपचारिक कार्यक्रमका सहभागीले विश्वविद्यालयलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं लुम्बिनी प्राविधिक विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सिनाले लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालमै पहिलो प्राविधिक धारको विश्वविद्यालय भएकाले यसलाई सबै मिलेर बलियो बनाउनुपर्ने बताउनुभयो ।

“यो विश्वविद्यालय नेपालमै पहिलो प्राविधिक विश्वविद्यालय हो, आज भर्खर तीन वर्ष पुगेको छ, यसलाई बलियो बनाउन र सुधार गर्न सबैको उत्तिकै जिम्मेवारी र दायित्व हो” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “३३ जना विद्यार्थीबाट सुरु भएको विश्वविद्यालयमा हाल दुई सयबढी विद्यार्थी अध्ययनरत छन्, यति छोटो समयमा यत्ति धेरै प्रगति हुनु खुसीको कुरा हो, यसलाई निरन्तर अगाडि बढाउन सबैको हातेमालोको आवश्यक छ ।”

उहाँले कायक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य आउने तय भए पनि आज प्रदेशमा बजेट पास गर्ने कार्यक्रम भएका कारण आउन नपाउनुभएको जानकारी गराउनुभयो । उहाँले मुख्यमन्त्री आचार्यले पठाउनुभएको शुभकामना सन्देश जानकारी गराउनुहुँदै उहाँ विश्वविद्यालयप्रति अत्यन्तै चिन्तित रहेको बताउनुभयो । कार्यक्रमलाई प्रदेश सभा सदस्यहरु रत्न खत्री, चन्द्रकेश गुप्ता, वादशाह कुर्मी लगायतले सम्बोधन गर्नुभएको थियो ।

विश्वविद्यालयका डीन डा. निरज केसीले सूचना प्रविधि, इन्जिनियरिङ, कृषि तथा वन विज्ञान, पर्यटनलगायतको क्षेत्रमा उच्च शिक्षाको प्रवर्धन गर्नुका साथै प्रविधि र नवप्रवर्तनको प्रयोग र विकासमा टेवा दिने उद्देश्यले २०७९ साल असार १८ गते लुम्बिनी प्रदेश सरकारको प्रदेश सभाको ऐनमार्फत विश्वविद्यालय स्थापना भएको जानकारी दिनुभयो ।

उहाँले स्नातक र स्नातकोत्तर तहमा व्यावसायिक ज्ञानसहित व्यावहारिक सीप सम्पन्न दक्ष जनशक्ति उत्पादन गरेर सिद्धान्त र अभ्यासको समायोजनमार्फत वास्तविक जीवनका समस्याहरु समाधान गर्न सक्ने क्षमतायुक्त विद्यार्थी उत्पादन गर्ने विश्वविद्यालयको मिसन भएको उल्लेख गर्नभयो ।

विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट स्नातकोत्तरमा सिभिल इन्जिनियरिङका कन्स्ट्रक्सन म्यानेजमेन्ट र उर्वन प्लानिङ त्यसैगरी स्नातकमा जिओम्याट्रिक इन्जिनियरिङ र बिटेक इन एलएलबीजस्ता कार्यक्रम सञ्चालन गरिने उद्देश्य रहेको बताउनुभयो ।

कुलसचिव रेगबहादुर भण्डारीले लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रुपमा विश्वविद्यालय स्थापना भएको बताउँदै आज तेस्रो वर्ष पूरा गर्नु केवल उत्सवका लागि मात्र नभएर सबैको सामूहिक प्रयास, समर्पण र दूरदृष्टिको उत्सव भएको बताउनुभयो । 

२०८० साल मङ्सिर १३ गते पहिलो अभिमुखीकरण कार्यक्रम गरेर स्नातक तहको पढाइ सञ्चालन गरेको विश्वविद्यालयले हाल स्नातक तहमा चार वटा र स्नातकोत्तर तहमा हालसालै दुई वटा कार्यक्रम सञ्चालन गरेको छ । विश्वविद्यालयमा हाल दुई सय बढी विद्यार्थी अध्ययनरत छन् ।