• १७ असार २०८१, सोमबार

जन्मदर्ता नहुँदा पढ्नबाट वञ्चित

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ८ गते । बाबुआमाको नागरिकता नभएका कारण छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका गुना राई र उहाँकी श्रीमती उर्मिला राईको नागरिकता नभएपछि छोराछोरी पढ्नबाट वञ्चित भएका हुन् । नागरिकता नहुँदा कोही पनि छोराछोरीको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । एसइईको परीक्षा फाराम भर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य छ ।

लिङ्खिमको सिँवामा बसोबास गर्दै आउनुभएका राई दम्पतीको नागरिकता नभएकै कारण उहाँहरूका एक छोरा र तीन छोरीसमेत चार जना छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको हो । पढ्न नपाएपछि राई दम्पतीका छोराछोरीले पढाइ छाडेर कोही मजदुरी गर्न र कसैले अर्काको घरमा घरायसी सहयोगी बनेर काम गर्दै आएका छन् । 

राई दम्पतीका एक मात्र छोरा भने हाल भारतको सिक्किमतिर सामान्य मजदुरी गर्दै आउनुभएको बताइएको छ । यस्तै जेठी छोरीले भारतकै केरलामा विवाह गरी घरजम गर्नुभएको छ । माइली छोरी २१ वर्षीया प्रेमिला राई भने अहिले फुङ्लिङ नगरपालिकाका एक परिवारमा बसेर घरायसी सहयोगीका रूपमा काम गर्दै आउनुभएको छ । आफ्ना बाबुआमाको नागरिकता नहुँदा जन्मदर्ता नै नपाएको र जन्मदर्ता प्रमाणपत्रकै कारण इच्छा हुँदाहुँदै पनि पढ्न नपाएको प्रेमिलाले बताउनुभयो । लिङ्खिमकै सिँवा माध्यमिक विद्यालयमा कक्षा १ देखि पढाइ सुरु गरेर कक्षा १० सम्म पुगेको उहाँले बताउनुभयो । आफ्नो पढाइलाई कक्षा १० सम्म पु¥याए पनि जन्मदर्ता नभएका कारण एसइई दिन नपाएको उहाँले बताउनुभयो । इच्छा हुँदाहुँदै पनि पढ्न नपाएपछि कमजोर पारिवारिक अवस्थाले गर्दा अर्काको घरमा घरायसी सहयोगीका रूपमा बस्न बाध्य भएको उहाँले सुनाउनुभयो ।

दाहिने आँखाको दृष्टिसमेत गुमाउनुभएकी प्रेमिलाले बाबुआमाको नागरिकता बनेमा र आफूले जन्मदर्ता पाएमा अझै पनि पढ्ने रहर भएको बताउनुभयो । उहाँले अहिले कक्षा ८ पढ्दै गर्नुभएकी आफ्नी कान्छी बहिनीले पनि जन्मदर्ताकै कारण पछि एसईई लेख्न नपाउने भन्दै दुःखेसो पोख्नुभयो । सामान्य र सोझो अवस्थाका आफ्नो बाबुआमाको नागरिकताका लागि सहयोग गरिदिन पनि उहाँले सबैसँग अनुरोध गर्नुभएको छ ।

सिँवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमले पढाइमा निकै अब्बल भए पनि जन्मदर्ता नहुँदा प्रेमिलाले एसइई परीक्षामा सामेल हुन नपाएको बताउनुभयो । हाल सिँवा माविमै अध्ययनरत प्रेमिलाकी बहिनीको पनि पढाइ राम्रो रहेको तर जन्मदर्ता नभएकाले समस्या भइरहेको प्रधानाध्यापक गौतमको भनाइ छ । यसअघि उर्मिलाका दाजु र दिदीले पनि जन्मदर्ता नभएकै कारण पढाइबाट वञ्चित हुनुपरेको थियो ।

यता राई दम्पतीलाई नागरिकता दिलाउन सुरुदेखि नै गाउँका अगुवा तथा जनप्रतिनिधिले पहल गरे पनि कुनै आधार नभएकाले सम्भव भएको छैन ।  नागरिकता प्राप्तिका लागि आवश्यक कागजात वा कुनै पनि आधार नभएकाले नागरिकता सिफारिस गर्न नसकिएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । राई परिवारलाई नागरिकता दिलाउने पहलस्वरूप जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सम्भावना खोजी भने गरिरहेको अध्यक्ष लिम्बूको भनाइ छ । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले पनि राई दम्पतीको नागरिकता नहुँदा उहाँको परिवारले खेप्दै आएको समस्याबारे अवगत भएको बताउनुभयो । नागरिकतासम्बन्धी व्यवस्था अनुसार उहाँहरूलाई नागरिकता उपलब्ध गराउने कुनै आधार नभएको पाइएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो । राई परिवारका लागि नागरिकता प्राप्त गर्नलाई भएको समस्यालाई नागरिकता विभागसम्म जानकारी गराउनुभन्दा अन्य विकल्प नहुने उहाँले बताउनुभयो ।

नागरिकताविहीन राई दम्पतीको पुख्र्यौली थलो पाँचथर जिल्ला बताइए पनि कुन ठाउँ वा स्थानीय तह रहेको भन्ने नखुलेको बताइएको छ । बाजेकै पालादेखि गुना राईको अघिल्लो पुस्ता सिक्किम पलायन भएको तर उहाँको परिवार भने ताप्लेजुङका साथीसँग सिक्किमै भेट भएर यहाँ आउनुभएको बताइएको छ । राईको परिवार लिङ्खिम आएर सुरुदेखि नै सिग्देल थरका एक स्थानीयलाई काम सघाउँदै बस्न थाल्नुभएको हो । उहाँको परिवार हालसम्म त्यहीँ बसेर खेती किसानी गर्दै गुजारा चलाउँदै आउनुभएको छ ।