साउन १५ गते खिर खाने दिन देशभर करिब ९० लाख लिटर दुध खपत भएको छ । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन नेपालका अनुसार अरू दिन दैनिक ३० लाख लिटर दुध खपत हुन्छ तर खिर खाने दिन तीन गुणा बढी अर्थात् ९० लाख लिटर दुख खपत भएको हो । ९० लाख लिटर दुध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको जनाइएको छ ।
प्रतिनिधि सभाको कार्यकाल डेढ वर्ष पूरा भएपछि सङ्घीय संसद्को एक संयुक्त समितिले पूर्णता पाएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मङ्गलबार औपचारिक रूपमा पूर्णता पाएको हो । संयुक्त समितिमा माथिल्लो सदनले यसअघि नै सदस्य तोके पनि प्रतिनिधि सभाले सदस्य मनोनयन गरेको थिएन । सदस्य नतोकिँदा समिति गठनसमेत हुन सकेको थिएन । १५ सदस्यीय संयुक्त समितिमा प्रतिनिधि सभाबाट १२ र राष्ट्रिय सभाबाट तीन सदस्य रहने व्यवस्था छ । सङ्घीय संसद् र प्रतिनिधि सभाका अन्य समिति २०८० वैशाखमै गठन भएका थिए । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली–२०८० को नियम २८ (२) बमोजिम मङ्गलबार प्रतिनिधि सभाले समिति सदस्यको नाम तोकेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन क्षेत्रमा देखिएका समस्या हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले हरेक साउन १५ मा गर्ने देशव्यापी वृक्षरोपण कार्यक्रमको भक्तपुरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १० हजार मेगावाट निर्यात गर्न लिएको लक्ष्य समयअगावै पूरा गर्ने गरी लाग्न आवश्यक रहेको बताउँदै उहाँले त्यो परिमाण निर्यातका लागि १० वर्ष कुर्नु नपर्ने गरी काम गर्न सम्बद्ध अधिकारीलाई आग्रह गर्नुभयो । “जलविद्युत् निर्माणमा हाल बेहोरिरहेका बाधा अवरोध हटाउन कानुन संशोधनलगायतका काम गर्न हामी क्रियाशील हुन्छौँ,” उहाँले भन्नुभयो, “१० वर्षभन्दा पहिले नै १० हजार मेगावाट निर्यात गर्ने गरी काम गर्नु पर्छ ।”
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद् भवन निर्माणप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । निर्माणाधीन भवन अनुगमनका लागि जानुभएका उहाँले थपिएको समयभित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद पौडेलले गएको आर्थिक वर्षमा मात्र एक लाख १२ हजार ४९३ अब्बल (ए वान) विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विश्वका विभिन्न विश्वविद्यालयमा गएको बताउनु भएको छ ।
पाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस–एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताउनुभएको छ ।
महिलाबादी दृष्टीकोणबाट परिवर्तनका लागि भएका आन्दोलनमा सहभागी महिलाको जीवन भोगाइ, संघर्ष र योगदानका कथाहरुको सङ्गालो ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक लोकार्पित भएको छ ।
दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको छ । पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ।
जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् ।
सर्वोच्च अदालतले स्थानीय अदालत र वैकल्पिक उपचारको मध्यस्थता सम्बन्धी व्यवस्था गर्न तीनै तहका सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
कृषिप्रधान नेपाली संस्कृतिअनुरूप साउन १५ को खिर खाने दिनका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेढ घण्टा स्रष्टा-कलाकारलाई समय दिनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति-कम्पनी) लाई कारबाही गरेको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।