• १६ साउन २०८१, बुधबार

‘मानव बेचबिखनलाई साझा दुस्मनका रूपमा लिनुपर्छ’

blog

गृहमन्त्री रमेश लेखक मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर : नेपाल प्रहरी

पाटन (ललितपुर), साउन १५ गते । गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताउनुभएको छ । 

मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आज ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले प्रहरीको प्रयासले मात्रै यस किसिमको अपराध न्यूनीकरण हुन सक्दैन सबैको सहयोग आवश्यक छ भन्नुभयो । उहाँले स्थानीय तह, विद्यालय तहका विद्यार्थी, शिक्षक समेतले मिलेर सचेतना जगाउने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

“मानव बेचबिखन अन्तर्राष्ट्रिय जघन्य अपराधका रुपमा लिइएको छ, यो अपराधको दुष्प्रभाव एउटा भूगोलमा मात्रै सीमित छैन, यसलाई साझा दुस्मनका रूपमा लिएर निरुपण गर्नुपर्छ, यो विश्वव्यापी दुष्चक्र लागु औषधसरहको अपराधका रूपमा लिएर अनुसन्धानका लागि तीन महिनासम्म राखेर अनुसन्धान गर्ने व्यवस्था हुनुपर्छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “यसलाई अत्यन्त गम्भीर प्रकृतिको अपराधको श्रेणीमा राखेर अपराधको अनुसन्धानमा देशको कुनै सीमाले प्रभावित नपार्नेगरी काम गर्न सहयोग पुग्नेगरी कानुन निर्माण गर्नुपर्छ ।” 

मानव बेचबिखन विरुद्धको अपराधमा काम गर्न मानवीय जनशक्तिको अभावमा मात्रै काम रोकिने अवस्था आउन नदिइने बताउँदै उहाँले स्रोत र साधनको उपयोग गरेर अपराध न्यूनीकरणमा नेपाल प्रहरीले गरिरहेको काम राम्रो भएको भन्दै प्रशंसा गर्नुभयो । गृहमन्त्री लेखकले स्थानीयस्तरमा विद्यार्थी र शिक्षकमार्फत सार्वजनिक बिदाका दिन मानव बेचबिखनविरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।


“विश्वव्यापी तथ्याङ्क हेर्दा महिला बाढीपीडित, त्यसपछि नाबालिका पीडित छन्, गरिबी, अशिक्षा एउटा कारण हो, अर्को महत्त्वपूर्ण कारण चेनता हो, त्यो स्थानीय पालिका र शिक्षक विद्यार्थीले गर्न सक्नुहुन्छ, मिलेर काम गरौँ भने एक दुई वर्षभित्रै न्यूनीकरण हुनसक्छ, सञ्चारमाध्यम पनि चेतनामूलक सामग्री प्रसारण गरेर सहयोग गरिदिनुपर्छ, सबैले मिलेर लाग्दा सफल हुन्छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।

गृहसचिव एकनारायण अर्यालले मानव बेचबिखन विश्वको साझा चासो, चुनौती र सरोकारको विषय भएको बताउँदै खोज, प्रमाण र तथ्यका आधार अपराधीलाई मुद्दा चलाउन सूचना उपलब्ध गराएर अनुसन्धानमा सहयोग पु¥याउन सबैमा आग्रह गर्नुभयो ।

“भिजिट भिसाको बहानामा बेचबिखन हुने समस्या सुनिन्छ, विभिन्न देशमा लगेर बन्धक बनाउने काम पनि भइरहेको छ, यसका विरुद्ध नेपाल प्रहरी र ब्युरो लागिरहेको छ”, उहाँले भन्नुभयो ।

नायक महान्यायाधिवक्ता डाक्टर टेकबहादुर घिमिरेले मानव बेचबिखनविरुद्धको नीति तथा कानुनको व्यवस्था चन्द्रशम्शेरको पालामा नै जारी भएको  जानकारी गराउनुहुँदै विभिन्न समयमा परिमार्जित हुँदै विसं २०६४ मा ऐन जारी गरेर मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कामकारबाही र न्यायनिरुपणको काम हुँदै आएको जानकारी गराउनुभयो ।

“अहिले भएका कानुन अपर्याप्त छ, अनुसन्धान, अभियोजन र निरूपणमा सहयोगी हुनेगरी विश्वव्यापी रुपमा प्रभावकारी हुनेगरी कानुन तर्जुमा गरिनुपर्नेछ, यसका लागि सरकारले ध्यान दिनेछ”, उहाँले भन्नुभयो ।

महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन तथा ओसारपसार अपराध विश्वव्यापी मानवताविरुद्धको अन्तरदेशीय गम्भीर अपराध भएको धारणा राख्नुभयो । उहाँले एउटामात्रै संस्थाको पहलले मात्रै सफल नहुने भन्दै सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

“मानव बेचबिखनले महिला, बालबालिका र थुप्रै पुरुषलाई श्रम, यौनजस्ता गलत कार्यमा जबर्जस्ती संलग्न गराउँछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउनेजस्ता कार्यलाई मात्र नभएर कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्क झिक्ने, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा पार्ने कार्यलाई मानव बेचबिखन तथा ओसारपसार मानिन्छ”, महानिरीक्षक कुँवरले भन्नुभयो ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बेचबिखनविरुद्ध सकरात्मक सोच र भूमिकाको विकास गरिनुपर्ने बताउनुभयो उहाँले सचेतता अभियान प्रत्येक घरघरमा पु¥याइनुपर्ने बताउँदै मानिसको मानसिकता बदल्न, सुधार्न आवश्यक छ भन्नुभयो । 

हरेक वर्षको जुलाई ३० तारिका दिनलाई मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको छ । सोेही अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आज आयोजना गरेको कार्यक्रममा तीन सय जनाभन्दा बढी सरोकारवालाहरु, विद्यार्थीसमेतको सहभागिता रहेको थियो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालसहित विश्वका धेरै देशमा मानव बेचबिखन तथा ओसारपसार निकै गम्भीर समस्या रहेको छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारण बन्दै आइरहेका छन् ।

गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक जागिरको प्रलोभनमा त कतिलाई विवाहबारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करीका घटना बग्रेल्तीमात्रामा भेटिने गरेका छन् । मानव बेचबिखन अन्त्य गर्न नेपाल सरकारले गरिबी हटाउने कामलाई विशेष जोड दिँदै आएको छ ।

ब्युरोका अनुसार नेपालमा आन्तरिक रुपमा मनोरञ्जन क्षेत्रमा हुने बेचबिखन तथा अन्तर्राष्ट्रिय रुपमा भिजिट भिसाको आवरणमा हुने मानव बेचबिखन तथा ओसारपसार समेत एउटा ठूलो चुनौतीको रुपमा देखिएको छ । भारत, चीन, मध्यपूर्वी एशिया, दक्षिणपूर्वी एशियालगायत युरोप तथा अमेरिका समेतमा नेपाली नागरिक रोजगारीको बहानामा मानव तस्करको चङ्गुलमा परी भिजिट भिसा समेतको दुरुपयोगगरी पठाइएको अवस्था छ । यसलाई नियन्त्रण तथा नियमन गरी व्यवस्थित बनाई मानव बेचबिखन तथा ओसारपसार अपराध न्यूनीकरण तथा रोकथाम गर्नु हामी सबैको साझा दायित्व हो । रासस