शिवशङ्कर मिश्र
बारा, वैशाख २९ गते । बकैया, दुधौरा, बालगङ्गा नदीमा मापदण्डभन्दा चार गुणा बढी मात्रामा बालुवा–गिट्टी उत्खनन भई रहे पनि सम्बन्धित निकाय मौन बसेका छन् । नदी दोहनको व्यापक जनगुनासो सबैतिर बढे पनि यसरी सम्बन्धित निकाय मौन बस्दा यसमा रकमी चलखेल भएको स्थानीयहरूले आरोप लगाएका छन् ।
बारा जिल्लामा यसरी स्थानीय सरकारले नदी दोहन रोक्नु पर्नेमा उल्टै ठेकेदारसँग मिलेर नदी जन्य पदार्थ उत्खनन तर्फ लागेकाले तराईका दक्षिणी भेगमा पानीका मुहानहरू सुक्न थालेका र पानीको हाहाकार भएको छ । समयमै पानी नपर्दा अवस्था अझैँ विकराल हुँदै गएको छ । यसरी नदी उत्खनन भई रहँदा चुरे दोहनको प्रत्यक्ष असर भने, तराई मधेसको दक्षिणी भेगमा परेको हो ।
नदी दोहनले पानीका मुहानहरू सुक्न थालेपछि चापाकलमा पानी आउन बन्द भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताउनुभयो । उहाँले भन्नुभयो, अप्राकृतिक रूपले चुरेबाट निस्केका पानीका स्रोत बन्द भएको छ, नदीहरू यसरी दोहन हुँदा पूर्व–पश्चिम लोक मार्गमा रहेका दर्जनौँ पुरानो पुलको पिलर भासिने अवस्थामा आएको बताउनुभयो ।
पुलको दुवै तर्फ उत्तर–दक्षिणतिर करिब १ किलोमिटरको दूरीमा निजगढ र कोल्हवी नगरपालिकाले गिट्टी–बालुवा उत्खनन गर्ने ठेक्का लगाएपछि ती पुलहरूमा जोखिमको चुनौती बढेको छ, उहाँले भन्नुभयो ।
खोला र पुल आसपासका प्रारम्भिक वातावरणीय परीक्षणमा उल्लेख भएको भन्दा बढी मात्रामा खोला उत्खनन भएको छ । यसरी ठेक्का लिएको भन्दा बढी नदीजन्य पदार्थ उत्खनन हुँदा वातावरणमा प्रभाव परेसँगै जिल्लाको तल्लो भागमा बर्सेनि पानीको समस्या हुँदै आएको छ । अनियन्त्रित नदी उत्खननले बाढी पहिरोको समस्या समेत खेप्नु परेको विद्वानहरूको पालिका र राज्य प्रति गुनासो छ ।
निजगढ नगरपालिकाले चालु–आर्थिक वर्ष २०८१÷८२ को जेठ मसान्तसम्म श्रीगणेश सप्लायर्सलाई एक करोड ३ लाख घनफिट बकेया खोला उत्खनन गर्न टेन्डर दिएको छ । तर, अनुगमनको क्रममा ठेक्काको म्याद सकिन अझैँ एक महिनाभन्दा बढी समय बाँकी रहँदा ३ गुणा बढी नदी उत्खनन भएको हो ।
यसै गरी कोल्हवी नगरपालिकाले सोही खोलालाई ८० लाख घनफिट उत्खनन गर्न महागौरी सप्लायर्सलाई टेन्डर दिएको छ । ठेक्का बमोजिम १ महिना अगाडी ७५ प्रतिशत खोला उत्खनन भई सकेको प्रतिवेदन जिल्ला समन्वय समिति बारामा आएको छ । मापदण्ड अनुसार दैनिक तीन सय घन मिटर उत्खनन गर्नुपर्नेमा त्यसको कैयौँ गुणा बढी उत्खनन भएको समितिले अनुमान गरेको छ । अहिले पनि व्यापक रूपमा खोला उत्खननको कार्य जारी नै रहेको छ ।
यता नदी दोहनको गुनासो सर्वत्र आउन थालेपछि गरिएको अनुगमनमा मापदण्ड भन्दा बढी खोला उत्खनन भएको जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह स्वीकार गर्नुहुन्छ ।
उहाँको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा निजगढ र कोल्हवी नगरपालिकाले लगाएको ठेक्का अनुसार भन्दा अत्यधिक बढी मात्रामा खोला उत्खनन भएको भेटिए पछि उत्खननको नापजोख गर्न निर्देशन दिएको बताउनुभयो । तर उत्खननको कार्य रोक्नु भएन । हाम्रो प्राविधिक टोलीले नाप जाँच गर्नेछ, मापदण्ड विपरीत भएको पाइएमा त्यसपछि खोला उत्खनन रोक्ने उहाँले भन्नुभयो ।
यता तत्कालै खोलाको ‘देप्थ र लेन्थ’को प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको र प्रतिवेदन आएपछि थप कदम चालिने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनुभयो ।