खलङ्गा समाचारदाता
जाजरकोट, असार १८ गते । जिल्लाका ग्रामीण बस्तीका घर घरमा खानेपानी पुगेको छ । यहाँको नलगाड नगरपालिका–४ स्थित सार्कीवाडा, भात्चिउरा, फुलचाउली गाउँका करिब ४५ घरपरिवारको घर घरमा स्वच्छ खानेपानीको धारा पुगेको हो । भूकम्पले मुहान भासिएपछि खानेपानीको हाहाकार भएका गाउँबस्तीमा स्थानीय सरकार, आइएनएफ नेपालको साझेदारीमा घर घरमा धारा निर्माण गरेको हो । नलगाड नगरपालिका–४ स्थित भात्चिउराका १०, फुलचाउलीका चार, सार्कीवाडाका १५, प्यारगाराका १५ घरपरिवारको घरआँगनमा खानेपानी पुगेको छ । भूकम्पले आवाससहित खानेपानीमा क्षति गरेपछि समस्यामा परेका गरिब, दलित, विपन्न आर्थिक अवस्था कमजोर भएका जनताको घरआँगनमा खानेपानी धारा निर्माण गरेपछि डोकामा पानी बोकेर ल्याउनुपर्ने समस्याको अन्त्य भएको छ ।
छिपछिपे भात्चिउरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपा रावलका अनुसार भूकम्पले पानीको मुहान भासिएपछि खानेपानीको हाहाकार भएको गाउँमा घरमै खानेपानी आएपछि सहज भएको छ । धारा आउनुअघि उक्त गाउँमा दुई घण्टा पैदल हिँडेर ढाराखोलामा पालो पर्खिएर पानी ल्याउनुपर्ने बाध्यता थियो । अब त्यो समस्या हटेको उहाँको भनाइ छ । करिब एक हजार दुई सय मिटरको दुरीमा रहेको छिपछिपे मुहानबाट गाउँमा पानी ल्याइएको छ । स्थानीय सरकार, साझेदार संस्थाको सहयोगमा निर्माण गरेको खानेपानीलाई व्यवस्थित गरी दिगो रूपमा सञ्चालन गर्ने उहाँको भनाइ छ ।
फुलचाउलीका चार घरपरिवारले एक हजार पाँच सय मिटर टाढा रहेको मुलपानीबाट ल्याएर खाने गरेका थिए । गाउँदेखि दुई घण्टा टाढा डिमुरापानी गएर गाग्रीमा बोकेर ल्याउनुपर्ने बाध्यता थियो । चैत, वैशाख, जेठ र असारको आधा महिना मुहान सुकेपछि गाउँमाथिको तलाउमा जम्मा भएको पानी खाने गरेका थिए ।