• २९ वैशाख २०८२, सोमबार

कोदारी–तातोपानी सडक एक साताका लागि बन्द

blog

सडक भासिएर बन्द भएपछि तातोपानी भन्सार यार्डमा रोकिएका मालवाहक कन्टेनर ।

चित्र मिजार

सिन्धुपाल्चोक, वैशाख २९ गते । बाह्रबिसे–कोदारी सडकअन्तर्गत कोप्लाङ खण्ड भासिएपछि मर्मतसम्भार गर्न वैशाख २८ देखि जेठ ३ सम्म बन्द गरिएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, भोटेकोशी गाउँपालिका, तातोपानी भन्सार कार्यालय, नाकामा आबद्ध विभिन्न ट्रान्सपोर्ट कम्पनीको संयुक्त बैठकले उक्त निर्णय गरेर सडक मर्मत थालिएको हो ।

एक साताअघिको सामान्य वर्षाले कोप्लाङ सडक भासिएको थियो । स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन कार्यालयले भासिएको सडकमा माटो हालेर उकास्ने काम गरे पनि पुनः बगेपछि एक साता बन्द गरेर दीर्घकालीन रूपमा सडक मर्मत गर्न थालिएको छ । भोटेकोशी नदीको जगबाटै ढलान उठाएर सडक मर्मत गर्न थालिएको छ । नदीबाट करिब ५० मिटर उचाइमा प्लम्ब ढलान लगाउन थालिएको छ । शिव खिम्ती र टिपिएस जेभीले भासिएको सडक उठाउन ढलानको काम गरिरहेका छन् ।

एक साताअघिबाट कोप्लाङ सडकखण्ड भासिन थालेको थियो । त्यसयता तातोपानी नाकाबाट राजधानी आउन लागेका मालवाहक कन्टेनर तथा यात्रुवाहक साधन पूर्ण रूपमा बन्द छन् । सडक अवरुद्ध भएपछि तातोपानी भन्सार कार्यालयमा जाँचपास भएका र चीनबाट खासा आइपुगेका कन्टेनर उतै रोकिएका छन् । भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार स्याउ, लसुन बोकेका ४० भन्दा बढी मालवाहक कन्टेनर, पाँच सयभन्दा बढी विद्युतीय गाडी भन्सार यार्डमै रोकिएका छन् । एक सयभन्दा बढी कन्टेनर खासामा नै रोकिएका छन् । 

अलपत्र अवस्थामा रहेका विद्युतीय गाडी र मालवाहक कन्टेनर राजधानी पठाउन वैकल्पिक मार्गसमेत छैन । सोही सडकखण्डको माथिल्लो भाग कटान गरेर सडक निर्माण गर्ने अवस्था पनि छैन । सडकमाथिको सबै भाग पहिरो बग्ने क्षेत्रमा पर्दछ । भासिएकै सडकबाट कन्टेनर र अन्य सवारीसाधान ओहोरदोहोर गरेमा मानवीय र भौतिक क्षति हुन सक्ने जोखिमलाई ध्यान दिँदै एक हप्ता बन्द गरेर सडक उठाउने काम थालिएको सडक डिभिजन कार्यालय चरीकोटका सूचना अधिकृत सुरज महर्जनले बताउनुभयो । 

अबको एक साता सडक बन्द गरेर भोटेकोशी नदीको जगैबाट प्लम्ब ढलानमार्फत सडक उठाउने कार्य भइरहे पनि एक हप्तामा उक्त सडक उठाउन सम्भव छैन । त्यसपछि पनि केही हप्ता सडक बन्द गर्नुपर्ने अवस्था देखिएको छ । त्यसले गर्दा भन्सार यार्डमा रोकिएका उपभोग्य वस्तु कुहिएर खेर जाने अवस्था छ । अन्तर्राष्ट्रिय नाका जोड्ने एक मात्रै कोदारी सडकको अवस्था बर्साैंदेखि बिग्रिएकै अवस्थामा छ । मितेरी पुल, लिपिङ सडक, कोदारी खण्ड, तातोपानी, १० किलो खण्ड, डाक्लाङ, झिर्पु, बसेरी, खाग्दल, जम्बु, शिरिसे, खोर्सानीबारी सडकखण्ड जीर्ण र दयनीय अवस्थामा छन् । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उक्त सडकलाई झनै थिलो थिलो बनाएको हो ।