• २९ वैशाख २०८२, सोमबार

डेढ करोड लगानीमा दुई सय १० घरमा खानेपानी

blog

तिलक घर्तीमगर 

रोल्पा, वैशाख २९ गते । रोल्पाको सुनछहरी गाउँपालिका–४ स्युरीमा खानेपानी पुगेपछि यहाँका स्थानीयहरू खुसी भएका छन् । पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरू घरघरमा खानेपानीको धारो निर्माण भएपछि खुसीले दङ्ग बनेका हुन् । घरमै धारो निर्माण भएपछि एउटै धारोमा पालो पर्खनुपर्ने र घण्टौँ लाएर पोखरीमा जानुपर्ने समस्या हटेको स्थानीय नवीन बुढामगरले भन्नुभयो ।  “उहाँले भन्नुभयो यहाँका स्थानीय महिलाहरू बृद्धअवस्थाका नागरिक तथा बालबालिकाहरूले पुस्तौँदेखि पोखरी वा धारोमा घण्टौँ पालो पर्खेर पानी ल्याउँथे । अहिले एक घरमा एक धारा निर्माण भएपछि यहाँका स्थानीय महिला, बृद्धअवस्थाका नागरिक तथा बालबालिकाहरू त्यो समस्याबाट मुक्त भएका छन् ।” 

नवीन मात्र नभई यतिबेला सुनछहरी गाउँपालिका –४ स्युरीका २ सय १० घरपरिवार समेत घरघरमा खानेपानी आएपछि हर्षित भएका छन् ।  पानी नहुँदा घर आसपासमा रहेका जमिन समेत  बाँझो थियो । अहिले घरघरमा खानेपानीको धारा निर्माण भएपछि त्यो जमिनमा पनि तरकारी लगाउन सहज भएको स्थानीय चुरामण रोका मगरले बताउनुभयो ।

२०८१ असोजबाट सुरु भएको खानेपानी आयोजना २०८२ वैशाख महिलामा सम्पन्न भएको सुनछहरी गाउँपालिका–४ स्युरीका वडा अध्यक्ष हर्कराम बुढामगरले बताउनुभयो । उहाँका अनुसार स्युरीका विभिन्न बस्तीहरूमा पुस्तौँदेखिको खानेपानीको समस्या समाधान गर्न कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालसँग साझेदारी गरी स्युरी खानेपानी आयोजना सम्पन्न भएको हो । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालको १ करोड ३५ लाख ६८ हजार ४ सय ७ रुपैयाँ र स्थानीयको १६ लाख १० हजार बराबरको जनश्रमदान गरी कुल १ करोड ५१ लाख ७८ हजार ४ सय ७ रुपियाँ लगानीमा आयोजना सम्पन्न भएको कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालका प्रोजेक्ट म्यानेजर बालचन राणामगरले भन्नुभयो ।  

स्युरी खानेपानी योजना कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजका डाइरेक्टर कर्नेल एन्ड मिल्स र सुनछहरी गाँउपालिका अध्यक्ष धन बहादुर पुनमगरले २०८२ वैशाख २७ गते संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । स्युरी खानेपानी आयोजनाबाट १ हजार ९४ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।