• २९ वैशाख २०८२, सोमबार

सालिक (कथा)

blog

पार्टी जिल्ला कमिटीको बैठक झन्डै दिनभर जसो नै बस्यो । बैठकमा अघिल्लो चुनावको समीक्षा, अबको रणनीति जस्ता विषयमा छलफल भए । जिल्ला कमिटीमा कुन कुन नेताका मान्छे राख्ने, कसलाई भाग दिने, नदिने जस्ता विषयमा चर्कै बहस भयो । पार्टी निर्णयको अन्तिम बुँदामा जिल्ला सचिव रणवीरले लेखे, ‘देश र जनताको मुक्तिका लागि आन्दोलनमा होमिएर ज्यानको आहुति दिने कमरेड विजयको सम्झनामा सालिक स्थापना गर्ने निर्णय सर्वसम्मतिले पारित गरिन्छ ।’

निर्णयमा जिल्ला अध्यक्ष विनोदले हस्ताक्षर गरे । निर्णयको बोधार्थ केन्द्रीय अध्यक्षलाई पठाइयो । निर्णयसँगै विनोदले मन्तव्यमा भनेका थिए, ‘यो शैल्यपुर गाउँप्रति पार्टी अध्यक्षको विशेष लगाव छ, किनभने उहाँ यहाँ सहिद विजयकै घरमा केही समय भूमिगत बस्नुभएको थियो । त्यसैले सालिक अनावरण गर्न आदरणीय अध्यक्ष नै आउनुहुने छ भन्नेमा हामी विश्वस्त छौँ ।’

यति भनिसकेर विनोदले पार्टी अध्यक्षसँग कुरा गर्न काठमाडौँ जाने निर्णय सुनाए । खास गरी सालिक बनाउने खर्च कसरी जुटाउने भन्नेमा उनी चिन्तित थिए । त्यसका लागि मन्त्री र आफ्ना क्षेत्रका सांसदलाई भेट्न पनि काठमाडौँ जानु जरुरी थियो । 

सालिक शैल्यपुरमै राखिने भएकाले कलाकार खोज्ने जिम्मा गाउँ कमिटी अध्यक्ष विश्वासलाई दिइयो । जिल्ला कमिटी बसेको एक सातापछि अध्यक्ष कमलको घरमा पुगेका थिए । कमल राम्रा कलाकार थिए । अनि पार्टीप्रति प्रतिबद्ध कार्यकर्ता पनि । द्वन्द्वकालमा भूमिगत भएका बेला सुरक्षाकर्मीको गोली लागेर घाइते भएका थिए । त्यसैले हिँड्दा अलि खोच्याउँथे । 

शान्ति प्रव्रिmयापछि खै किन हो, पार्टीतिर मन गएन । पुनः गाउँमै फर्किए र पुरानै पेसा सम्हाल्न आरनको जोहो गरे । गाउँ कमिटी अध्यक्ष पुग्दा कमल चिया खाइओरी आरन जाने तयारीमा थिए । अध्यक्ष आएको देखेर उनले मुट्ठी उठाएर अभिवादन गरे । पार्टीप्रति सम्मानभाव अझै बाँकी थियो । कमिटीले उनलाई सल्लाहकारको भूमिका दिएको थियो । भित्रबाट मनमायाले चिया ल्याइन् । अध्यक्ष बाहिर आँगनमा म्ुडामाथि बसे । कमल नजिकै पिँढीमा गुन्द्री ओछ्याएर बसेका थिए । 

‘किन आउनुभा’थ्यो होला अध्यक्षज्यू ?’ कमलले कुरा सुरु गरे । ‘कमलजी,’ अध्यक्षले जिल्ला कमिटी बैठकको निर्णय बेलिबिस्तार लगाउँदै भने, ‘आज कमिटी बसेको थियो, सहिद विजयको सालिक बनाउने निर्णय भयो । सालिक बनाउने जिम्मा तपाईंलाई दिइएको छ । उता सदरमुकामतिर पनि कलाकार छन् तर तपाईंलाई दिँदाको अपनत्व अर्कै हुने नि ।’ 

अध्यक्ष अलि हतारमा जस्तै देखिन्थे । उनले निर्णय सुनाए । कमलको व्यस्तता, फुर्सद बेफुर्सद केकसो छ, सक्ने हो कि होइन, केही सोधेनन् । 

‘को विजयको सालिक, सचिवको छोरा ?’ कमल अलि स्पष्ट हुन चाहन्थे । र, सायद सालिक बनाउने विषयमा थप कुरा गर्न चाहन्थे, जस्तो कि– लाग्ने खर्च, समय, बजेट आदि, आदि । अध्यक्षले मुडाबाट उठ्दै भने, ल कमलजी, सालिक बनाउने जिम्मा तपाईंकै भो, पार्टी कमिटीलाई म यही खबर दिन्छु । बाँकी कुरा गर्न जिल्लाकै मानिस आउनुहोला । 

यति भनेर अध्यक्ष फटाफट बाटो लागे । कमलको कुनै प्रतिव्रिmया पर्खिएनन् । कमलले बाटोमा निस्किएर अध्यक्ष गएको हेरिरहे । अध्यक्ष ओझेल परेपछि लामो सास फेरेर घरभित्र पसे । 

भित्र मनमाया तरकारी पकाउने तर्खरमा थिइन् । 

उनी श्रीमतीको छेवैमा बसे । चिसा दाउरा बल्न गाह्रो मानिरहेका थिए । धुवाँले उनको आँखा पिरो भयो । 

कमलले झ्यालतिर हेरे– धुवाँ झ्यालबाट निस्कँदै गर्दा अनेक आकृतिको रूप लिइरहेका थिए । 

तरकारी ओइरिँदै मनमायाले सोधिन्, ‘अध्यक्ष के कामले आका रछन् त ?’ 

‘सचिवको छोरा विजयको सालिक बनाउने निर्णय गरेछ पार्टीले, मलाई बनाइदेऊ भन्न आएका ।’

एकैछिनको मौनतापछि मनमाया बोलिन्, ‘अनि पैसा कति दिने कुरा छ रे ? केही कुरा गरे ? ’

कमलले ‘छैन’ भन्ने भावमा मुन्टो हल्लाए । 

‘त्यस्तो काम छाडिदिनुस्, बरू गाउँलेका सामान बनाएर छाक त टर्छ ?’

कमल जुरुक्क उठे । बाहिरिँदै गर्दा भने, ‘जे कुरा पनि गलत सोच्ने बानी छाडिदेऊ, अरू कुरामा नभए नि, पार्टीले मेरो सङ्घर्ष त सम्झेको र’छ नि, यसैमा गर्व गर्नु पर्छ । पैसासैसा जति भए नि म सालिक बनाउँछु ।’ 

बाहिर निस्कँदा घाम पोल्ने भइसकेको थियो । बारीको छेउमा हुर्किएको पारिजातको रुखमुनि गएर शीतल ठाउँमा बसे । आकाशतिर हेरे– एउटा काग उड्दै गएर माथि चौताराको पिपलको हाँगामा बस्यो । 

त्यो पिपलको रुख त्यही थियो, जहाँ उनले भूमिगत हुनुअघि पहिलो पटक भाषण गरेका थिए– हाम्रो पार्टी पुरानो राज्यसत्ता जस्तो होइन, जो जनताको रगतपसिना चुसेर मोटाएको छ, राज्यको ढुकुटीको दोहन गरेको छ । यस्तो व्यवस्था हामी जसरी पनि परिवर्तन गर्ने छौँ । अनि तपाईं हामी जस्ता दलित, अल्पसङ्ख्यक र पिछडिएकाहरूले थिचोमिचोमा बस्नुपर्ने छैन ।’

त्यतिखेरै गस्तीमा आएको प्रहरीको अचानक घेराबाट मुस्किलले उम्कन सफल भएका थिए उनी । त्यसपछि केही समय पार्टीको सांस्कृतिक समूहमा बसेर काम गरे । उनको कलाको केन्द्रीय नेताहरूले समेत प्रशंसा गर्दा छाती ढक्क फुल्थ्यो । एक पटक सदरमुकाम कब्जा गर्ने कारबाहीमा खटिएका बेला उनको खुट्टामा गोली लाग्यो । 

शान्ति प्रव्रिmयासँगै उनका सहकर्मीहरू कोही क्यान्टोनमेन्टमा बसे, कोही नेपाली सेनामा समायोजन भए । यी सब प्रव्रिmयामा उनी छुटे किनकि उनको खुट्टामा गोली लागेको थियो, अर्थात् उनी घाइते थिए । घाइते खुट्टा लिएरै पार्टीबाट बिदा भए । 

घर फर्किएर पुरानै पेसा सम्हालिरहेका बेला पार्टीले सम्झेकोमा उनी गर्व गरिरहेका थिए । 

उनले छोरा विनयलाई सम्झे, जो सचिवका छोरा विजयसँगै भूमिगत भएका थिए । छोरा सकेसम्म राजनीतिमा नलागोस्, सरासर राम्ररी पढेर स्थायी जागिर खाओस् भन्ने उनको सपना थियो । तर एक दिन स्कुलबाट फर्कनेबित्तिकै विनयले बाबुलाई सुनाएको थियो, ‘बा म पनि पार्टीमा लाग्छु, मलाई लिन कमरेडहरू आउनुभएको छ ।’ 

कमलले प्रतिवाद गर्न खोज्दा विनयले भनेथ्यो, ‘म जस्ता हजारौँ युवा देशका लािग हिँडेका छन् बा, हामी जस्ता पछाडि पारिएका समुदायको मुक्तिका लागि यो व्यवस्था ठिक छैन ।’

कमललाई पनि विनयको कुरा चित्त बुझेको थियो । उनले मौन स्वीकृति दिए । जाने बेला आमा मनमायाले आँसु झारेर हेरिरहिन् । विजय गएको दुई महिनामै कमल पनि पार्टीमा लागे तर शान्ति प्रव्रिmयापछि पनि विनय फर्केन, न उसको केही खबर नै आयो । न बेपत्ताको सूचीमा पर्‍यो, न सहिदको सूचीमा । उनले पार्टीसमक्ष यो कुरा राखेका थिए तर जिम्मेवार तहका नेताहरूले पनि चित्तबुझ्दो जबाफ दिन सकेका थिएनन् । उनलाई लाग्यो, कम्तीमा सहिद नै भएको भए पनि देश र जनताको मुक्तिका लागि सहिद भयो भनेर गर्व गर्न पाउँथेँ होला । सचिवको छोराको जस्तै सालिक बन्थ्यो होला । अनि त्यो सालिकमुन्तिर उभिएर छोरासँगै बसेको अनुभूति गर्न पाउँथे होला ।  छोरासँगै पार्टीमा हिँडेको मानिसको सालिक बनाउने कुराले उनलाई पनि छोराको निकै याद आउन थालेको थियो । पार्टीका तर्फबाट एक दिन खबर आयो, अध्यक्ष तोकिएको समयमै सालिक अनावरण गर्न आउने हुनुभयो, चाँडो बनाउनुप¥यो । कमल दिनरात सालिक बनाउन खटिए । रातदिन आरनबाट छिनो चलेको टङ टङ आवाज आइरह्यो । कति रात त छर्लङ्ग बितेको पनि पत्तो पाउँदैनथे । काम गर्दागर्दै झुपुक्क निदाउँथे । सपनामा छोरा विनय हाँस्दै आरनमा खेलिरहेको हुन्थ्यो । तीन जनाको सानो संसार र माया ममताले उनी निथु्रक्क हु्न्थे ।

जब बिउँझन्थे, आरनको आगो मर्नै लागेर धिपधिप भइरहेको हुन्थ्यो, उनको आशा र सपना जस्तै । मनमनै भन्थे, यतिका वर्षसम्म नआएको विनय अब कसरी आउँछ होला र ? विनय संसारमा नरहेपछि एक्लो र उराँठलाग्दो दिनको कल्पनाले उनको सास रोकिए जस्तो हु्न्थ्यो । 

झटपट उठेर खलाती समात्थे । खलातीमा भरिएको हावा आगोको कोइलामा पर्दा उठेको झिल्काले एकछिन आरन राताम्ये हुन्थ्यो, अनि एकैछिनमा सल्किएको आगोको उज्यालो घरमाथिको पारिजातको बोटसम्म पुग्थ्यो । त्यतिखेर उनलाई लाग्थ्यो, त्यो विनय यतिखेर टुप्लु्क्क आइदिए घर यसै गरी कति उज्यालो हुन्थ्यो होला । आशाका साना बीज उनीभित्र बिस्तारै अङ्कुरण भइरहेका हु्न्थे ।  पार्टीले दिएको समयभित्रै सालिक तयार भयो । 

एक दिन मनमायालाई आरनमा बोलाएर सोध्यो, सालिक कस्तो लाग्यो ? 

मनमायाले एकटकले हेरिरहिन् । उनी केही बोलिनन् । श्रीमती केही नबोलेपछि कमलले मनमायाको अनुहारमा हेरे । गालाबाट आँसु बगिरहेको थियो । 

‘किन रोएकी ?’ कमलले सोधे । 

मनमायाले आँगनतिर हेर्दै भनिन्, एक पटक सालिकलाई राम्ररी हेर्नु त । 

कमलले हेरे । आश्चर्य, दुरुस्तै उही आँखा, उस्तै नाक, उस्तै गाला, ठ्याक्कै विनय जस्तै । 

त्यो त्यही दिन थियो, जुन दिन सालिक अनावरण गर्न पार्टी अध्यक्ष गाउँ आउँदै थिए । सालिक राख्ने ठाउँ घरमाथिको चौतारामा मानिसको कल्याङमल्याङ सुनिन थालिसकेको थियो । 

मनमाया र कमल गफ गरिरहँदा पार्टीका गाउँ अध्यक्ष विश्वास उनकै घरतिर झरिरहेका देखिए । 

कमलले दौडेर गएर सालिकलाई अँगालो हालेर रोए, र भने– छोरा म तिमीलाई कतै जान दिन्नँ, तिमी अबदेखि घरमै बस्छौ । आमा मनमाया पारि डाँडातिर हेरेर आँसु खसाल्दै नङ टोकिरहेकी थिइन् । कमलको रुवाइले माथि चौताराको कल्याङमल्याङ व्रmमशः मधुरो बनिरहेको थियो । 

साँझ पर्नैलाग्दा पार्टी अध्यक्षले सालिक अनावरण गरे । उनले सालिकलाई हेर्दै सहिद र बेपत्ताका परिवारलाई पार्टीले हेर्ने बताए । सालिकको रूपमा ठडिएका सहिद विजयको व्यक्तित्वको प्रशंसा गरे । भीडमा अरू जसरी कमलले पनि मन लागी नलागी ताली बजाए । कार्यव्रmमपछि सहिदका परिवारसँग अध्यक्षको भेटघाटको कार्यव्रmम राखियो । सहिद परिवारले आफ्ना सदस्यसँग बिछोडिनुको पीडा पालैपालो भने । अध्यक्षको अनुहार पनि एकछिन गम्भीर देखियो । कमल पनि छोरा अहिलेसम्म बेपत्ता भएकाबारे बताउन बिस्तारै अघि बढिरहेका थिए । त्यस्तैमा गाउँ कमिटी अध्यक्षले चिनाइदिए, सहिदको सालिक उहाँले नै बनाएको हो । अध्यक्ष उनीतिर हेरेर मुस्कुराए मात्र । केही बोलेनन् । 

साँझ गहिरिँदै गर्दा चौतारो सुनसान भइसकेको थियो । त्यहाँ थिए त दुई आकृति, एक श्वास फेरे पनि आफूलाई निर्जीव जस्तै ठानिरहेको कमल सुनार । अर्को साँच्चिकै निर्जीव सालिक । उनी सालिक नजिकै पुगे । भर्खरै चढाइएका खादालाई मन्द हावाले फिरफिर उडाइरहेका थिए । अबिर र सयपत्री फूलका मालाले टाउको छोपिएर नचिनिने अवस्था थियो । उनले अबिर र सयपत्री फूललाई हटाए, पुछपाछ पारे, र सालिकको आकृति स्पष्ट देखिने बनाए । अँध्यारैमा फेरि नियाले– छोरा विनयसँग आँखा जुधे जस्तो लाग्यो । 

रात छिप्पिँदै थियो । 

एकै छिनमा पाखुरा कसैले ताने जस्तो लाग्यो उनलाई । हेरे– मनमाया थिइन् । उनले सुस्तरी भनिन्– अब खुरुक्क हिँड्नूस् भात खान । आफूलाई दुःख नदिनूस् अब ।’ आज्ञाकारी बालक झैँ उनी श्रीमतीको पछि पछि लागे । राति हावाहुरीसहितको पानी पर्‍यो । कमल झल्याँस्स बिउँझिए । उनी जुरुक्क उठे, आग्लो खोले र पिँढीमा राखेको घुम लिएर अध्याँरोमै निस्किए । 

मस्त निद्रामा रहेकी मनमायाले कमल आधा रातमा कहाँ गए, थाहै पाइनन् । 

एक्कासि बाहिर खद्रयाङ्ग आवाज आएपछि मनमाया पनि ब्युँझिइन् । हेरिन्– कमल रुझेको अवस्थामा थिए । 

‘कहाँ गएर आउनुभएको ? किन रुझेको यसरी ?’ मनमायाले सोधिन् । 

रुझेको लुगा फुकाल्दै कमलले भने, ‘बुझ्यौ मनमाया, मैले आज विनयलाई लगेर घुम ओढाइदिए नि, अब त्यो रुझ्दा पनि रुझ्दैन र तेल्लाई घामले पनि पोल्दैन... ।’

मनमाया वाल्ल परेर सुनिरहेकी थिइन् । 

गोरखा