• १५ साउन २०८१, मङ्गलबार

स्रष्टासँगको भेटघाटमा प्रधानमन्त्री ओली

blog

कार्यक्रममा पुस्तक विमोचन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, साउन १५ गते। कृषिप्रधान नेपाली संस्कृतिअनुरूप साउन १५ को खिर खाने दिनका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेढ घण्टा स्रष्टा-कलाकारलाई समय दिनुभएको छ। 

नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना भूमिगतकालीन एक साथीको कृति लोकार्पण पनि गर्नुभयो। 

प्रधानमन्त्री ओलीले साहित्यिक र प्राज्ञिक व्यक्तित्व तथा कलाकारसँग खिर खाने कार्यक्रसहित हरेक साउन १५ गतेको भेटघाटको विगतको क्रमलाई निरन्तरता दिइएकोमा खुसी व्यक्त गर्नुभयो।  

कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरू ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरूमा’ (संस्मरण) को लोकार्पण गर्नुभएको थियो। कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उहाँका रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउन सक्ने बताउनुभयो। 

आफूले भूमिगत कालीचरण नामबाट फुटकर रूपमा कविता लेखेको तर जहाँ लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्ने भएका कारण ती कविताहरू हाल सङ्कलनमा नरहेको सुनाउनुभयो। “पञ्चायतकालमा हामी अनेक खालको सङ्घर्षमय जीवनमा थियौँ। सचेत मानव भएर बाँच्न गाह्रो हुने अर्थात् भेडोँभन्दा माथिको चेतना हुन नपाइने खालको अवस्था थियो।” 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “कवि नरेश शाक्य झापाली विचार समूहमा हामी निकट थियौँ। शाक्यले विकराल अवस्थाबाट गुज्रँदै सङ्घर्षमय जीवनमा होमिनुभयो। त्रासदीपूर्ण वातावरणको बिचमा हामीले जनतालाई जगाउनुपरेको थियो। आज मुलुकका नयाँ परिस्थितिको विकास भएको छ। अब विगतका दुःख बिर्सनुस्, तपाईँका थुप्रै साथी दायाँबायाँ छन्। एक्लो महसुस गर्नु पर्दैन। हामी साथमा छौँ।”

एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “शाक्यजी साहसिकरुपमा अघि बढेर साहित्य रचना गर्नुस्। तपाईँको स्वास्थ्यको बारेमा पनि हामी जिम्मा लिन्छौँ। लेखिएका कृति प्रकाशनको जिम्मेवारी मेरो भयो। मेरा समकालीन साथीहरू भुमरीमा परेको म देख्न सक्दिनँ। त्यसैले आत्मविश्वासका साथ काम गर्नुस्।”

समाजमा उन्नत चेतनाको विकास, परिवर्तनको आकाङ्क्षा निर्माणका लागि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, रामेश, रायन, मञ्जुल, श्याम तमोट, जेबी टुहुरेआदिका रचना र गायनहरू सार्थक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शाक्यका संस्मरणले परिवर्तनका लागि भएका सङ्घर्षको अभिलेखीकरण गरेको बताउनुभयो। सो विभागका प्रमुख रघुजी पन्तले कवि नरेश शाक्यका कवितामा भावको उच्चरुप पाइने बताउनुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्घर्षपूर्ण जीवन भोगेर कवि शाक्यले साहित्य र सामाजिक क्षेत्रमा योगदान दिएको बताउनुभयो।