अर्जुन काफ्ले
स्याङ्जा, असार ४ गते। अर्जुनचौपारी गाउँपालिकाले फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको छ। गाउँपालिका गाउँसभाको १७ औँ अधिवेशनमा बुधबार गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा फजुल खर्च नियन्त्रण, बचतको स्रोत शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी गर्ने उल्लेख छ।
गाउँपालिकावासीले अनुमोदन गरेको कार्यकालको तेस्रो वर्ष सफलतापूर्वक पूरा गरी गरेको बताउदै तिवारीले तीन वर्षको अवधिमा वितरणमुखी कार्यक्रम, अनावश्यक संरचना निर्माण र फजुल खर्चमा नियन्त्रण गरी बचत भएको स्रोतलाई शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता दीर्घकालीन महत्त्वका क्षेत्रबाट सकारात्मक परिणाम सबैका सामु स्पष्ट र प्रेरणादायी रूपमा देखिएको तिवारीले नीति तथा कार्यक्रममा भन्नुभएको छ।
गाउँपालिकाका हरेक निर्णय पालिकाको समुन्नत भविष्य हेरेर गरिने नीति लिएको बताउदै तिवारीले क्षणिक लोकप्रियता र लाभको पछि नलागी गाउँपालिकाको सुरक्षित तथा गर्विलो भविष्य निर्माण गर्न, वर्तमानमा सुधार गर्दै, भविष्यलाई दिशा निर्देश गर्नुभएको छ।
बढ्दो वित्तीय अनुशासन एवं सुशासनका कारण अर्जुनचौपारी गाउँपालिकाको आन्तरिक राजस्व यस वर्ष १६ प्रतिशतले बढेको छ भने बेरुजुको आकार वार्षिक रूपले घट्दो छ।
कामकै आधारमा गत वर्ष झैँ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन सर्वोत्कृष्ट पालिका बनेको छ।
व्यक्ति विशेषको भर पर्ने प्रणाली होइन, संस्था बलियो हुने प्रणाली निर्माण गर्ने दिशामा अघि बढिरहेको बताउदै संस्थागत सुदृढीकरणमार्फत् मात्र पारदर्शिता, जवाफदेहिता, सुशासन र नागरिक भरोसा कायम गर्न सकिन्छ भन्नेमा स्पष्ट रहेको बताइएको छ।
१७ प्रतिशत विद्यार्थी पालिका स्तरीय परीक्षामा उत्तीर्ण भएको यहाँ गत वर्ष ९७ प्रतिशत सफलता हासिल हुनु अर्जुनचौपारीको शिक्षा सुधारको स्वर्णिम सङकेत हो। बदलिँदो विश्व परिवेशमा केवल नतिजाको अङ्कमा मात्र सन्तुष्ट हुने अवस्था नरहेको र नतिजामा मात्र केन्द्रित नभएर विद्यार्थीको सर्वाङ्गिण विकासमा केन्द्रित रहने बताइएको छ।
घर घरमा स्वास्थ्य सेवा
नागरिकलाई टेवा, घर घरमा स्वास्थ्य सेवा भन्ने कार्यक्रमको पहुँच, गुणस्तर र दायरा अझ फराकिलो बनाइ प्रतिकारात्मक एवम् प्रवद्र्धनात्मक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लक्ष्य पालिकाले लिएको छ।
गाउँपालिका बाहिर स्वास्थ्य उपचार प्राप्त गर्दा कुनै अन्योलता भएमा वा परामर्श आवश्यक भएमा स्वास्थ्य सेवा सहजीकरण सम्पर्क व्यक्तिमार्फत् पालिकासँगै रहेको आभास पालिकाले दिने छ।
गड्यौलीखोलामा निर्माणाधीन म्याथम्याटिकल र बोटानिकल पार्कलाई विद्यार्थीको शैक्षिक गन्तव्यका साथसाथै पिकनिक स्पटको रूपमा व्यवस्थित गर्ने, नेपालकै पहिलो नवग्रह मन्दिर, साउन्ड हिलिङ सेन्टर र थाप्ले खेल मैदानलाई पूर्वाधार विस्तार, सशक्त प्रवद्र्धन, स्तरीय सेवा र स्थानीय संलग्नता मार्फत पालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने नीति तथा कार्यक्रममा पालिकाले समेटेको छ।
यहाँ प्रथम वर्षमा विद्यार्थी र आन्तरिक तथा बाह्य गरी कम्तिमा तीन लाख पर्यटक भित्राउने गरी प्रचारात्मक र प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने र जलवराह धार्मिक वन क्षेत्रलाई नेपालकै उत्कृष्ट धार्मिक पर्यटनको गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य पालिकाका रहेको छ।
आगामी वर्ष अर्जुनचौपारी गाउँपालिकामा प्रथम पटक खनिजको उपलब्धताका सम्बन्धमा अनुसन्धान, खनिज पदार्थको पहिचान र उत्खनन कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गरी खनिज सम्पदाको दिगो, पारदर्शी र उत्तरदायी व्यवस्थापन मार्फत् गाउँपालिकाको आर्थिक समृद्धि र जनजीविकामा गुणात्मक परिवर्तन ल्याउने गरी अध्ययनको थालनी गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ।
बसाइसराई गरेर अन्यत्र जाने प्रवृत्ति रोक्न पालिकाभित्र रहेका बाँझो जग्गा र खाली भएका घर, आवश्यक व्यक्तिलाई अस्थायीरूपमा प्रयोग गर्न दिने व्यवस्थालाई अभियानका रूपमा सञ्चालन गर्ने कार्यक्रम समेतिएको छ।
असार १० गतेसम्म नीति तथा कार्यक्रम ल्यानुपर्ने नीति अनुरूप यो पालिकाले असार २ गतेबाट अधिवेशन सुरु गरेको थियो। अर्जुनचौपारी गण्डकीमै पहिला नीति तथा कार्यक्रम ल्याउने पालिका समेत हो।