• ४ असार २०८२, बुधबार

पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

blog

अहमदाबाद (भारत), असार ४ गते । भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण सोमबारदेखि कम्तीमा १८ जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् । अधिक भारी मनसुनी वर्षाका लागि तयारी गरिरहेका राज्यका दक्षिणका बासिन्दाहरूलाई सहयोग गर्न विपद् प्रतिक्रिया टोलीहरू तैनाथ गरिएको छ ।

“वर्षासँग सम्बन्धित घटनामा १८ जनाको ज्यान गएको छ, विपद् प्रतिक्रिया टोलीहरूले तल्लो क्षेत्रमा दर्जनौँलाई उद्धार गरेका छन्”, राज्य सरकारले मङ्गलबार राति भनेको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा पालिताना र जेसर सहरहरू समावेश छन् । यी सहरमा मङ्गलबार पछिल्लो २४ घण्टामा आठ सय ६७ मिलिमिटर (३४ इन्च) वर्षा भएको छ ।

राज्य राहत आयुक्त आलोककुमार पाण्डेले खराब मौसमका कारण आँधीबेहरी, चट्याङ र संरचनात्मक पतनका कारण १८ जनाको मृत्यु भएको बताउनुभयो । “स्थितिलाई सम्हाल्न राज्य पूर्णरूपमा तयार छ र द्रुत राहत तथा उद्धार कार्य सुनिश्चित गर्न अन्तर-विभागीय समन्वयलाई तीव्र बनाइएको छ”, पाण्डेले भन्नुभयो । उद्धार गरिएकामध्ये गढडा क्षेत्रका आँपको बगैँचामा फसेका १८ जना खेत मजदुर र सुरेन्द्रनगर जिल्लाका २२ जना थिए । 

त्यहाँ बगिरहेको नदीको पानी उनीहरूको घरमा प्रवेश गरेको थियो । भारतको जुनदेखि सेप्टेम्बरसम्मको वार्षिक मनसुनी मौसमले तीव्र गर्मीबाट राहत दिन्छ र पानीको आपूर्ति पुनःपूर्तिका लागि महत्त्वपूर्ण छ । तर एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतभरि आकस्मिक बाढी र भूस्खलनका कारण हरेक वर्ष वर्षाको मौसममा धेरै मानिसको मृत्यु हुन्छ । रासस/एएफपी