सुरसाधक गुरुदेव कामतको मिर्गौला रोगका कारण बिहीबार बिहान निधन भएको छ । ६९ वर्षीय सुरसाधक कामतले “काठमाडौँमा बसेर इलाज गराउन सक्दिनँ । उतै लहानमा डायलासिस गराउँछु,” भन्दै सामाजिक सञ्जालमा असार २८ गते ‘स्टाटस’ राखेर सिराहा फर्कनुभएको थियो ।
चलचित्र ‘मोदीबेनी’ को बिग मुभिजमा बुधबार प्रिमियर गरिएको छ । प्रतिनिधि सभा सदस्य सोविता गौतमले चलचित्रको प्राविधिक र रचनात्मक काम मन परेको बताउनुभयो । चलचित्रमा वर्षा शिवाकोटी, अमरप्रताप श्रेष्ठ, रेजिना उप्रेती, प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराईलगायतको अभिनय रहेको छ । चलचित्रका निर्देशक शङ्कर कोइरालाका अनुसार मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथामा चलचित्र निर्माण भएको छ ।
काङमाङ नरेश राईको कृति ‘पानीपतिया’ का सन्दर्भमा राजधानीमा बिहीबार अन्तर्क्रिया गरिएको छ । पानीपतियाः गोर्खा भर्तीको सांस्कृतिक असर विषयक अन्तर्क्रियाका वक्ताले गोर्खा भर्ती र त्यसले नेपाली समाजमा विविधखाले सांस्कृतिक तथा सामाजिक प्रभाव पारेको चर्चा गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सो अवसरमा ‘खुवालुङ’ पत्रिका सार्वजनिक गर्नुभयो । राई जातिमा बोलिने भाषाको साझा पत्रिकाका रूपमा ‘खुवालुङ’ प्रकाशन गरिएको जनाइएको छ । राई जातिमा बोलिने २४/२५ भाषामध्ये लेख्य परम्परा रहेका राई भाषाका सामग्री खुवालुङमा प्रकाशन गरिने छ ।
बन्दाकोभी बिक्रीका लागि बजार पठाउने तयारी गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित सोती बहुउद्देश्यीय कृषक समूहका पदाधिकारी । उनीहरुले गत वर्षदेखि सामूहिकरुपमा जग्गा भाडामा लिएर फलफूल तथा तरकारी खेती गर्दै आएका छन् ।
तातोपानी नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । आठ अर्ब ४२ करोड लक्ष्य राखिएकोमा पाँच अर्ब बढी रकम राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले जानकारी दिनुभयो । लक्ष्यभन्दा १५८ प्रतिशतले राजस्व बढी सङ्कलन भएको छ । चीनबाट आयात बढेसँगै राजस्व सङ्कलनमा वृद्धि आएको हो । महिनैपिच्छे लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको थियो । विद्युतीय गाडी, मेसिनरी सामान आयातमा वृद्धिसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन लागिएको बताउनुभएको छ । बहुपक्षीय सङ्गठनका पूर्वअन्तर्राष्ट्रिय पेसेवर (एफआईपिएमओ) संस्थाले ललितपुरमा आयोजना गरेको ‘नेपाली आप्रवासी कामदारहरूको सुरक्षा र अधिकार विषयक’ अन्तर्क्रिया कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेलाई रोक्न तत्काल नसक्ने अवस्था रहेकाले यसलाई व्यवस्थित गर्न लागिएको जानकारी दिनुभयो ।
सन् २०२४ को सात महिनामा छ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सोही समयमा पाँच लाख ३४ हजार २०६ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा नेपाल भित्रिएका पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा २१.२२ प्रतिशतले बढी हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागिरहेको अप्पर अरुण जलविद्युत् आयोजनाको निर्माणमा भारत सरकारले लगानी गर्ने कुनै मनसाय प्रकट नगरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताउनुभएको छ । विश्व बैङ्कको सहुलियतपूर्ण कर्जा लगानीमा बनाउन खोजिएको एक हजार ६४ मेगावाट क्षमताको सो आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता भने हुन सकेको छैन ।
बजेट वक्तव्यमा असारमा रकमान्तर नगरिने उल्लेख गरे पनि सरकारले असारमा मात्रै ११ अर्ब ३७ करोड रुपियाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको अन्तिम महिनामा पुँजीगततर्फ एक करोडभन्दा बढीको एक बजेटबाट शीर्षकबाट अर्को बजेट शीर्षकमा सो बराबरको रकमान्तर भएको हो । मन्त्रालयले असारमा मात्रै १५६ वटा उपशीर्षकबाट अर्को बजेट शीर्षकमा रकमान्तर भएको जनाएको छ ।
सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला सुनाउने भएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नौ सदस्यीय बृहत् पूर्ण इजलासले बहस नोट पेस गर्ने समय दिएर निर्णय सुनाउने मिति तोकेको हो । अदालतले १५ दिनभित्र बहस नोट पेस गर्ने समय दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
बैङ्कक मुख्यालय भएको थाई एयर एसियाले बैङ्कक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियालाई बिहीबार भैरहवामा उडान अनुमति दिएको हो । थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान अनुमति मागेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले सातामा काठमाडौँमा तीन र भैरहवामा चार वटा उडान अनुमति दिएको हो । ५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल ट्राभल रहेको छ ।
नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पु¥याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ ।
रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुराइएकाे छ । हरेक वर्ष रातो मच्छिन्द्रको रथलाई जावलाखेलको ललितमण्डपमा पु¥याएको चार दिनपछि भोटो देखाइन्छ ।
सुनसरीको दुहवी नगरपालिकाबाट मामा घरको आँगनमा खेली रहेकी ६ वर्षीया नाबालिकालाई अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।