• १८ साउन २०८१, शुक्रबार

चीनबाट आयात बढेसँगै राजस्व वृद्धि

blog

तातोपानी भन्सार कार्यालयमा मालवाहक कन्टेनर ।

चित्र मिजार

सिन्धुपाल्चोक, साउन १८ गते । तातोपानी नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । आठ अर्ब ४२ करोड लक्ष्य राखिएकोमा पाँच अर्ब बढी रकम राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले जानकारी दिनुभयो ।

लक्ष्यभन्दा १५८ प्रतिशतले राजस्व बढी सङ्कलन भएको छ । चीनबाट आयात बढेसँगै राजस्व सङ्कलनमा वृद्धि आएको हो । महिनैपिच्छे लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको थियो । विद्युतीय गाडी, मेसिनरी सामान आयातमा वृद्धिसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

चीनको खासा हुँदै तातोपानी नाकामा रेडिमेड सामान, जुत्ता, कपडा, स्याउ, सुन्तला, किवी, ड्र्यागन फ्रुट, विद्युतीय सवारीसाधान, इलेक्ट्रोनिक वस्तु भित्रिने गर्दछ । अहिले खासा हुँदै चिनियाँ क्षेत्रबाट दैनिक २० देखि ३० वटा कन्टेनरले सामान भित्र्याउन थालेका छन् । उक्त सङ्ख्यामा दैनिक वृद्धि हुँदै आएको छ । दैनिक दुई दर्जनभन्दा बढी कन्टेनर तातोपानी भन्सार कार्यालयमा जाँचपास भई राजधानी पुग्ने गरेका छन् । 

चालु आव २०८१/८२ मा तातोपानी भन्सार कार्यालयबाट २१ अर्ब ७३ करोड राजस्व सङ्कलन हुने सरकारले लक्ष्य राखेको छ । गत आवमा चीनबाट सबैभन्दा बढी विद्युतीय कार बढी नेपाल भित्रिएको थियो । सो विद्युतीय करबाट राजस्व सङ्कलन ह्वात्तै बढेको थियो । 

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानले चीनले तातोपानी नाकालाई प्राथमिकता दिएपछि उक्त नाकामा दुई देशीय आर्थिक कारोबार बढेको बताउनुभयो । उहाँका अनुसार अहिले तातोपानी नाकाबाट आयातनिर्यात सहज भइरहेको छ ।