गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३ गते । काठमाडौँ महानगरपालिका–२२ ले सांस्कृतिक, धार्मिक एवं परम्परागत खाना, बाजा, हस्तकला, चित्रकलाको प्रदर्शनीको आयोजना गरेको छ । महानगर–२२ द्वारा शनिबार राजधानीमा आयोजित महोत्सवमा स्थानीय उत्पादन, धार्मिक नृत्य, बाजाको प्रदर्शनीसँगै वडा नं. २२ का सम्पदाको चित्रकला, वडा नं. २२ मा जन्मिएर विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वको परिचयसँगै फोटोसमेत प्रदर्शनीमा राखिएको थियो । नयाँ सडकको ऐतिहासिक पिपलबोटपरिसरमा नेवार समुदायको धार्मिक एवं परम्परागत अनुष्ठानमा प्रयोग हुने वाद्यवादनसहित विभिन्न सामग्रीको प्रदर्शनी गरिएको थियो । त्यसै गरी इतिहासविद् महेशराज पन्त, नयराज पन्त, दिनेशराज पन्त, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, ऋद्धिबहादुर मल्ल, शिक्षाविद् सत्यनारायणबहादुर श्रेष्ठ, महेश साहित्यकार हरि श्रेष्ठ, विजय मल्ल, सङ्गीतकार द्वारिकालाल जोशीलगायतको समष्टिगत परिचयसहितको फोटो प्रदर्शनीमा राखिएको थियो ।
वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार महोत्सवको आयोजनाले अमूर्त सम्पदाको प्रचार, संरक्षण हुनुका साथै स्थानीय उत्पादनको प्रवर्धनमा समेत सहयोग पुगेको छ । स्थानीयलाई आफ्ना उत्पादनका साथमा एकै स्थानमा भेला भएर व्यावसायिक लाभ लिने अवसर मिलेको छ । महोत्सवकै अवसर पारेर नेपाल भाषा संरक्षणका अभियन्ता दिवगङ्त सर्जक सुरेशकिरणको स्मृतिमा नेपाल भाषामा कविता वाचन कार्यक्रमको आयोजना गरिएको छ । शनिवारीय चित्रकला अभियन्ता एवं कलाकार दिवेश प्रधानले महोत्सवमा वडा नं. २२ का सम्पदाको चित्रकलाको समेत प्रदर्शनी गर्ने अवसर पाएको बताउनुभयो । उहाँले वडा नं. २२ र शनिवारीय चित्रकला अभियानको सहकार्यमा यसअगाडि सञ्चालित सम्पदा चित्रकला कार्यशालामा विभिन्न कलाकारले सिर्जना गर्नुभएको चित्रकला प्रदर्शनीमा राखिएको बताउनुभयो ।
महोत्सवका मुख्य आकर्षणमा नेवार परम्परागत तथा नयाँ पुस्ताले मन पराउने खालका खानाका स्टल, सांस्कृतिक झाँकी (¥याली), साङ्गीतिक कार्यक्रम, क्यान्सरसम्बन्धी जनचेतनासहितको वाकाथन तथा जुम्बा, हस्तकला तथा घरेलु उत्पादन प्रदर्शनीमा राखिएको थियो । त्यसै गरी जीवन बचाउने अभियानका लागि रक्तदानको पनि आयोजना गरिएको छ । बालबालिकाका लागि धर्मपथमा मनोरञ्जन उद्यान (फनपार्क) को व्यवस्था गरिएको थियो । महोत्सवको व्यवस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने माल्टा इन्टरनेसनलका अनुसार नयाँ सडक, टेबहाल, सङ्कटा, सुन्धारा, खिचापोखरीलगायतका क्षेत्रमा करिब ८० भन्दा बढी स्टल राखिएका थिए ।
‘प्राचीन इतिहासदेखि आधुनिक विकाससम्मका आयामलाई जोड्ने’ मूल नाराका साथ आयोजना गरिएको यस महोत्सवमा प्रतियोगितात्मक र प्रदर्शनीसहित १२ विधाका विविध कार्यक्रम समावेश गरिएको वडा कार्यालयले जनाएको छ । महोत्सवमा स्थानीयले निकै चासोका साथ स्टल राखेर आफ्ना उत्पादनलाई उपभोक्तासमक्ष राख्ने अवसरको सदुपयोग गरेको वडाले जनाएको छ ।