नवराज नेपाली
बागलुङ (गलकोट), जेठ ३ गते । बडिगाड गाउँपालिका-५ खौलारको पुरानो बजार रङ्गिएको छ । स्थानीय उद्यमीहरु आ-आफ्नो उत्पादनका सामानहरु विक्री वितरणका लागि लिएर ग्राहकको पर्खाइमा बसेका छन् ।
बडिगाड गाउँपालिकाले आयोजना गरेको स्थानीय उत्पादन मेला २०८३ ले उत्पादक र उपभोक्तालाई आमने सामने हुने मौका मिलाएको छ । बडिगाड गाउँपालिका—६ का जितबहादुर थापा आफूले उत्पादनका गरेको मौरीको मह लिएर बस्नुभएको छ । थापा बहुउद्देश्यीय कृषि फर्म मार्फत मह उत्पादनमा लागेका थापालाई आफ्नो उत्पादनको बजारीकरण गर्ने यो सुनौलो मौका भएको छ ।
उहाँ भन्नुहुन्छ, "बडिगाड गाउँपालिकाले ७ दिने स्थानीय उत्पादन मेलाको आयोजना गरिदिएको छ, यही मौकामा हामीले आफ्ना उत्पादनका वस्तुहरु लिएर विक्री गर्न पाएका छौं । यसबाट हाम्रो उत्पादनको प्रचार प्रसार पनि हुने गरेको छ । गाउँमै उत्पादन भएको अर्गानिक महको प्रचारप्रसार गरिरहेको उहाँ बताउनुहुन्छ । "मसँग सेरेना जातको सय घार जति मौरी छन्, वर्षमा साठी सत्तरी घार मौरी सहित गोला विक्री गर्ने गर्छ", उहाँले भन्नुभयो, "वर्षमा सात क्वीन्टल जति मह उत्पादन हुन्छ । त्यसलाई विक्री गर्नका लागि यसले ठूलो सहयोग पुग्नेछ ।"
महको माग राम्रो भएको प्रतिकिलो तेह्रसय रुपियाँको दरले विक्री गर्ने गरेको उहाँले बताउनुभयाे । वर्षमा १५ लाखसम्मको कारोबार गर्ने थापाले वार्षिक आठ लाख रुपियाँ जति मुनाफा गर्ने गरेको बताउनुभयो । बडिगाड—७ मा दुना टपरी उद्योग सञ्चालन गरेकी रबिना थापालाई यो मेला आफ्नो उत्पादनको प्रचार गर्ने राम्रो अवसर भएको छ । गाउँमै वनमा खेरा गइरहेको सालको पातबाट दुना टपरी उत्पादन गरेर विक्री गर्दै आएकी उहाँको व्यापार सोचे जस्तो छैन ।
"त्यस्तो सोचे जस्तो व्यापार छैन, वातावरण प्रदुषणबाट जोगाउन पातको दुना टपरी प्रयोग गर्नुपर्छ भनेर प्रचार प्रसार गर्नका लागि यो राम्रो अवसर भएको छ", उहाँले भन्नुभयाे, "प्लाष्टिकसँग तुलना गरेर महङ्गो भन्नुहुन्छ । २०७८ सालमामा साढे तीन लाख रुपियाँ खर्च गरेर सुरु गरेको उद्योगबाट वर्षमा डेढ दुई लाखसम्मको व्यापार हुन्छ । "दुना टपरी बढि विक्री हुने लगनको बेला पूजापाठ हुने समयमा कर्मचारी राखेर दुना टपरी बनाउनुहुन्छ । गाउँकै रानी वनमा रहेको सालको पात बटुलेर बनाउने हो, अलि धेरै माग हुँदा कर्मचारी राखेर बनाउँछु", उहाँले भन्नुभयो, "अरुले बेला आफैले काम गर्ने हो । विस्तारै राम्रो होला भन्ने अपेक्षा राखेको छु ।"
उक्त मेला स्थलमा भेटिकी माया कुमारी केसीले ढाकाबाट उत्पादन भएका कपडाहरुको विक्री वितरण गरिरहनुभएको छ । बडिगाड ढाका एण्ड बुटिक उद्योगबाट ६ जना महिलाले उत्पादन गरेका वस्तुको व्यापार गर्ने गर्नुभएको छ । यो साझेदारीमा चलेको संस्था हो । "६ जना दिदी बहिनीले ढाकाबाट विभिन्न कपडाहरु उत्पादन गर्नुहुन्छ, उहाँहरुले उत्पादन गरेका सामानको मूल्यको ५० प्रतिशत उहाँहरुले पारिश्रमिकको रुपमा पाउनुहुन्छ", केसीले भन्नुभयो, "दैनिक खाजा खर्च ७५ रुपियाँ प्रतिदिन दिने गरेका छौं ।"
उक्त उद्योगमा रेशको साडीदेखि कुर्था, कोट, सल, व्याग, टोपी लगायतका वस्तुको उत्पादन हुने गरेको छ । अहिलेसम्म स्थानीय रुपमा नै बजारको व्यवस्थापन गर्दै आएको पछिल्लो समय अनलाईनबाट अर्डर आउन थालेको उहाँ बताउनुहुन्छ । अनलाईनबाट अर्डर आउने गरेको छ । हामीले अर्डर अनुसार उत्पादन गरेर पठाउने गरेका छौं, अब विस्तारै राम्रो हुन्छ होला भन्ने आशा गरेका छौं । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणका लागि बडिगाड स्थानीय उत्पादन मेला २०८३ आयोजना गरेको हो ।
बडिगाड गाउँपालिकाको मुख्य आयोजना हेफर प्रोजेक्ट नेपाल, नेपाल गाजा डेभलपमेन्ट फाण्डेसन, जीप र दायित्व संस्थाको सहकार्यमा साता दिने स्थानीय उत्पादन मेला सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । "महिला बडिगाड उद्यमी आईकन छनोट गर्नका लागि विभिन्न चरणमा कार्यक्रमहरु सञ्चालन गरेका छौं", उहाँले भन्नुभयो, "अहिले उत्कृष्ट १० को चरणमा प्रवेश गरेका छौं । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणमा सघाउने गरी हामीले यो कार्यक्रम अगाडि बढाएका हौं ।"
गाउँपालिकाले स्थानीयको सटर भाडामा लिएर उद्यमीलाई आफ्नो उत्पादनको प्रवर्धन र विक्री गर्नका लागि स्टल उपलब्ध गराएको छ । गाउँका उद्यमीहरुलाई बजारसँग जोड्न मेला महत्वपूर्ण हुने बताइएको छ ।
अहिले पोषण सप्ताह पनि चलेका कारण स्थानीय कृषकले उत्पादन गरेका वस्तुहरु र स्थानीय अन्नबाट बनेको खानाहरुलाई पनि प्राथमिकताका साथ मेलामा राखिएको छ । मेला जेठ ७ गतेसम्म सञ्चालन हुनेछ ।