• ३ जेठ २०८३, आइतबार

विकासको ग्रामीण मोडेल

blog

नेपालको विकास बहस एउटा विरोधाभासमा अल्झिएको छ– सहर जस्तो गाउँ बनाउने कि गाउँलाई गाउँकै रूपमा समृद्ध बनाउने । गाउँलाई सहर बनाउनु नै विकासको यात्रा ठान्ने र ठुलठुला बाटो अनि अग्ला अग्ला घरलाई विकासको सूचक मान्ने मानसिकताले हामीलाई गाँज्दै लगेको छ । हाम्रो एउटा पुस्ता विदेश गएर फर्कियो अनि सुनायो, “विदेशमा निकै विकास भएको छ ।” अर्को पुस्ताले सोध्यो, “के भएको छ र त्यहाँ त्यस्तो ?” फर्कनेहरूले एकै स्वरमा भने, “ठुला अनि चिल्ला बाटा छन्, अग्ला अग्ला घर छन् ।” दुई पुस्ताको यो संवाद निकै समय चल्यो । अहिले तेस्रो पुस्ता त विदेश जान खुट्टा उचालेर बसेको छ । विदेश पुग्नासाथ भन्छ, “हो रहेछ, बाबुबाजे पुस्ताले भने झैँ बाटो पनि ठुला अनि घर पनि अग्ला । यो पो विकास त ।”

विदेश, जहाँको विकासको चर्चा गरियो, त्यहाँ ठुला बाटो र अग्ला घर बन्नुभन्दा पहिले के कस्तो गरियो, उनीहरूको विकासको प्राथमिकतामा के थियो, उनीहरूको आन्तरिक स्रोत के कति र कसरी निर्माण हुँदै आएको हो भन्ने प्रश्नको उत्तर अपेक्षा गरिएन । परिणामस्वरूप हाम्रो विकासको आफ्नै परिभाषा बन्न पाएन । पढेलेखेको वर्गले पनि सोचेन । राजनीतिक नेतृत्वले त झनै सिङ्गापुर जस्तो बनाउने भनेर विदेशको नक्कल गर्नु नै विकास गर्नु हो भन्ने भाष्य खडा गरिदिए । जसको आफ्नो विकासको परिभाषा नै छैन, उसले के आधारमा विकासका योजना बनाउने ? 

हामीले दशकौँदेखि विकासलाई केवल ‘कङ्क्रिटको जङ्गल’ र ‘ठुला मेसिन’ को चस्माबाट हे¥यौँ । आज गाउँ रित्तिएका छन्, खेतबारी बाँझिएका छन् र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिने युवाको लाम देखेपछि मात्रै हामी आत्तिन थालेका छौँ । उनीहरूलाई कसरी रोक्ने भन्ने प्रश्नलाई आवश्यकताभन्दा बढी महत्व दिएर त्यसरी बाहिर जानुलाई समस्याका रूपमा मात्र स्थापित गर्दै छौँ । बसाइँसराइको केही सामान्य नियम अनि नयाँ पुस्ताको चाहनाले मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा जान प्रेरित गरिरहेको हुन्छ पनि । 

विदेश पलायनको समस्याको वैज्ञानिक विश्लेषण गर्न सक्नु पर्छ । त्यसरी गरिएको विश्लेषणले हामीलाई आत्तिने र अलमलिनेभन्दा पनि यो अवस्थालाई दीर्घकालीन नीति निर्माणको अवसर ठानेर कसरी सदुपयोग गर्ने भन्नेबारेमा सोच्न प्रेरित गर्ने छ । विदेश पलायन हाम्रो विकासको तौरतरिका नमिल्दा र नागरिकलाई सत्ताले अवसर दिन नसक्दा जन्मेको समस्या हो । अब यो समस्यामा अल्झिरहने होइन, समस्याको कारण बुझेर सम्बोधनको बाटोमा लाग्ने योजना बनाउनु पर्छ । यो सोचाइले हामीलाई बिपी कोइरालाको ‘हलो जोत्ने किसानलाई हेरेर योजना बनाउने’ र इएफ सुमाकरको ‘स्मल इज ब्युटिफुल’ (साना एकाइ सुन्दर हुन्छन्) को दर्शनमा टेकेर काम गर्न प्रेरित गर्ने छ ।

नेपालको सन्दर्भमा ग्रामीण सभ्यता केवल भूगोल होइन, यो एक जीवनपद्धति र राजनीतिक अर्थशास्त्र हो । हाम्रो ग्रामीण सभ्यताले मानवीय संवेदनासहितको विकास खोजेको हो । भाइचाराको सम्बन्ध नबिग्रने गरी अवसर र रोजगारी खोजेको थियो । आजभन्दा २०–२५ वर्षअगाडि गाउँमा घर बनाउँदा ‘पाहुना आउँदा सुत्ने कोठा’ को समेत नक्सा बन्थ्यो । पाहुना आउँदा हुने संवादले नयाँ पुस्तालाई व्यावहारिक शिक्षा प्रदान गथ्र्यो । मानिसको सम्बन्ध कसरी जोडिन्छ भन्ने विषय संवादको केन्द्र हुन्थ्यो । समस्या अभिव्यक्त गर्ने र समाधान वा सहकार्यका उपाय खोजी हुन्थ्यो । त्यो चरित्रको नेपाली ग्रामीण सभ्यताको दार्शनिक पक्षलाई न नीतिनिर्माताले सम्बोधन गर्न सके न त राजनीतिज्ञले त्यसको महत्वलाई जीवन्त राख्न सके । विकासको आफ्नै मौलिक दृष्टिकोण बन्न नसक्दा हाम्रा थुप्रै प्रयत्न र बजेट टालटुलमै सकिएका छन् । हामी ग्रामीण सभ्यताको विकास मोडलमा जाने कि सहरी सभ्यताको ? 

जननायक बिपी कोइरालाले भनेका थिए, “नेपालको योजना कोर्दा एक गरिब किसानले हलो जोतिरहेको तस्बिरलाई अगाडि राखेर बनाउनु ।” यसको अर्थ विकासको लाभ सबैभन्दा तलको मानिससम्म पुग्नु पर्छ भन्ने हो । महात्मा गान्धीको ‘ग्राम स्वराज’ को अवधारणाले पनि गाउँलाई आत्मनिर्भर एकाइ बनाउनुपर्नेमा जोड दिन्छ । यी दुई चिन्तकको सार एउटै थियो– जबसम्म गाउँ आर्थिक रूपमा सबल हुँदैन, तबसम्म राष्ट्रको जग बलियो हुँदैन । दुवै दर्शनको प्रस्ट मार्गदर्शन छ– गाउँलाई आत्मनिर्भर एकाइ बनाउने योजनासाथ विकास बजेट विनियोजन गरौँ । त्यहीँका नागरिकलाई विकासको स्रोत बनाऔँ । निर्णय र निर्माण प्रक्रियामा उनीहरूलाई जोडौँ अनि विकासको साध्य मानिसलाई नै ठानौँ । प्रक्रियामा जोड्दै गर्दा नागरिकलाई साधन मात्र ठान्ने भुल नगरौँ, विकासको असली साध्य नागरिक नै हुन् र हुनु पर्छ ।

नेपालले विश्वव्यापी औद्योगिक दौडमा चीन र भारत जस्ता विशाल अर्थतन्त्र भएका छिमेकीसँग प्रतिस्पर्धा गर्न सक्दैन । ठुला उद्योगका लागि आवश्यक पर्ने विशाल पुँजी, सस्तो श्रम र बजारमा उनीहरूको आधिपत्य छ । छिमेकी देशका ठुला मेसिन र प्रविधिसँग प्रतिस्पर्धा गर्न खोज्दा हाम्रो पुँजी पलायन हुने र स्वदेशी लगानी डुब्ने जोखिम उच्च रहन्छ । नेपालको औद्योगिक यात्रा स्थानीय कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगमा केन्द्रित हुनु पर्छ । यो काममा पनि हामी आफ्नो मात्र लगानी गरेर सफलता पाउन सक्दैनौँ । हाम्रा दाजुभाइले रोजगारी पाउने र हाम्रै कच्चा पदार्थको अधिकतम सदुपयोग गर्ने ढङ्गको औद्योगिक मार्गमा हिँड्नु पर्छ । बाहिरबाट लगानी ल्याउन सकिने अवस्थाको सुनिश्चितता पनि खोज्नु पर्छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भनेका थिए, “भारतीय व्यवसायीको पनि लगानी लगाएर ‘ज्वाइन्ट भेन्चर’ मा उद्योग चलाउनुस्, तब भारत पनि तपाईंको उत्पादनको बजार बन्न सक्छ ।” 

हामीलाई हाम्रो आवश्यकता, सम्भावना, रोजगारी अवसरको सिर्जना र कच्चा पदार्थको सदुपयोगको दृष्टिबाट औद्योगिक नीति बनाउन प्रेरित गर्छ । हाम्रो देशमा अहिले पनि कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढी मानिस कृषिमा आश्रित छन् । कुल गार्हस्थ उत्पादन (जिडिपी) मा यसको योगदान खुम्चिएर २४ प्रतिशतको हाराहारीमा पुगेको छ । यसले कृषिको उत्पादकत्व बढ्न नसकेको देखाउँछ । कृषि उपजलाई हामीले उद्योगको कच्चा पदार्थ बनाउने गरी खेती प्रणालीको विकास गर्नेतर्फ सोच्नुपर्ने भएको छ । कृषिमा काम गर्नेको जनसङ्ख्या खुम्चिनु समस्या वा चिन्ताको विषय होइन । बरु हाम्रो सामथ्र्यले भ्याउने उपकरणको विकास र उपलब्धतालाई सुनिश्चित गरी थोरै सङ्ख्याबाट धेरै उत्पादनको बाटोमा जान सकिने विकल्पमा काम गर्न सकिन्छ । 

सबै कृषिमा मात्रै होमिँदा निर्वाहमुखी कृषिको मानसिकता रहने र उत्पादनका अन्य क्षेत्रतर्फ नसोच्ने अवस्थाको निर्माण हुन सक्छ । कृषिमा अतिनिर्भरताको नीतिले मात्रै पनि हामीलाई सन्तुलित विकासको यात्रामा हिँड्न सिकाउने छैन । भन्सार विभागको तथ्याङ्क अनुसार वार्षिक करिब तीन खर्ब रुपियाँभन्दा बढीको कृषिजन्य वस्तु आयात भइरहेको छ । ग्रामीण अर्थतन्त्र बलियो हुन्थ्यो र गाउँहरू आत्मनिर्भर केन्द्रका रूपमा विकास हुन्थे भने यो रकम गाउँमै रोकिने थियो । दैनिक करिब तीन हजार युवा रोजगारीका लागि बिदेसिन्छन् भन्ने अनुमान गरिन्छ । यसको मुख्य कारण गाउँमा आर्थिक आकर्षणको अभाव हुनु हो । ठुला मेसिनले मानिसको ठाउँ लिँदा नेपाल जस्तो श्रम प्रचुर देशमा बेरोजगारी झन् बढ्छ । ग्रामीण अर्थतन्त्रको अवधारणासहितको विकास यात्राले मात्र हाम्रो रोजगारीको अवसरलाई बढाउन सक्छ ।

इएफ सुमाकरले ‘मध्यम प्रविधि’ को वकालत गरेका छन् । नेपालको भूगोल जटिल छ । यहाँ अर्बौं खर्चेर ल्याइने विदेशी मेसिनभन्दा स्थानीयले सञ्चालन र मर्मत गर्न सक्ने साना सिँचाइ पम्प, लघुजलविद्युत् र कृषि प्रशोधन केन्द्र बढी प्रभावकारी हुन्छन् । यसले रोजगारी सिर्जना गर्छ । साना उद्योगले मेसिनभन्दा मानिसलाई बढी काम दिन्छन्, जसले युवा पलायन रोक्ने छ । यसबाट राष्ट्रिय पुँजी निर्माणमा पनि योगदान पुग्ने छ । स्थानीय स्रोत र श्रमको प्रयोग हुँदा पैसा बिदेसिन पाउँदैन, जसले आन्तरिक चव्रmीय अर्थतन्त्रलाई बलियो बनाउँछ ।

ग्रामीण अर्थतन्त्रको प्रमुख चुनौती ‘बिचौलिया’ तन्त्र हो । यो अहिलेको सबैभन्दा चिन्ताको विषय बनेको छ । किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबिचको ठुलो खाडलले ग्रामीण अर्थतन्त्रलाई सोसेको छ । यहाँ राज्यले हस्तक्षेपकारी भूमिका खेल्नु पर्छ । स्थानीय सरकारले किसानको उत्पादन न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने र बजारसम्म पु¥याउने अभ्यास थाल्ने हो भने त्यसले बिचौलियाको प्रभावलाई न्यून गर्दै जान्छ । वस्तुको ब्रान्डिङ र बजारीकरणका लागि राज्यले भरपर्दो संरचना निर्माण गर्नु पर्छ ताकि गाउँको उत्पादनबारे सहर र विश्व बजारले पनि जानकारी पाओस् । राज्यको अर्को महत्वपूर्ण दायित्व भनेको अहिलेको सूचना प्रविधिको अप्रत्यासित विकास र त्यससम्मको पहुँचलाई ग्रामीण सभ्यताको विकास मोडेल कार्यान्वयनमा कसरी सहयोगी र अवसर बनाउन सकिन्छ भन्ने धारणा बनाएर त्यस अनुसारको सिकाइ प्रदान गर्न आवश्यक छ । कृषिसँगै विकासका सबै हिस्सासँग आधुनिक प्रविधिलाई जोड्ने र इन्टरनेटलाई नयाँ युगको नयाँ अवसरका रूपमा अभ्यासमा लैजाने मोडेललाई पनि उत्तिकै प्राथमिकता दिन जरुरी छ । 

नेपालका लागि अबको बाटो ‘सहरी सभ्यताको अन्ध अनुकरण’ होइन, बरु ‘ग्रामीण सभ्यतामा आधारित आधुनिक अर्थतन्त्र’ हो । यसलाई हामीले नेपालको मौलिक मोडेल पनि भन्न सक्छौँ । ठुला मेसिनतर्फको आकर्षणभन्दा गहिरोसँग माटो पल्टाउन सक्ने उन्नत हलो निर्माण गर्न सकौँ, हाम्रै सिपले प्रयोग गर्न सकिने र पुँजी पलायन पनि नहुने प्रविधिको उत्पादनमा राज्यका एकाइले काम गरून् । यहाँ हलो एउटा उदाहरण हो, हामीले प्रयोग गर्न मात्र होइन, निर्माण गर्न सक्ने परम्परागत साधनको सूची लामै बन्न सक्छ । बिपी कोइरालाले भने झैँ विकासको समग्र प्रक्रियामा सहभागी गराइएका नागरिकलाई साधन ठान्ने होइन कि साध्य ठान्ने मोडेलमा जानुपर्ने छ । एउटा किसानको तस्बिर हेरेर योजना बनाउनु भन्ने बिपीको दर्शन आजका लागि हामी कस्तो विकासको बाटोमा जाने भन्ने विषयको खोजी गर्न प्रेरित गर्ने दर्शन बन्नु पर्छ । 

पुँजीवादी अभ्यास र सहरी रमझममा हराउन थाल्यौँ भने हामी ठुला देशको उपभोक्ता बन्ने र हाम्रो देश उनीहरूको एकलौटी बजार बन्ने निश्चित छ । त्यो अवस्थामा हाम्रो राष्ट्रियता कमजोर हुन्छ नै, दैनिक गुजारा गर्न पनि उपभोग्य वस्तु आयातलाई निरन्तर बनाइराख्न जस्तोसुकै सम्झौता गर्न पनि बाध्य हुनु पर्छ । विकासको आफ्नै परिभाषा बनाउने, त्यहाँसम्म पुग्न मौलिक मोडल तयार गर्ने र सबै नागरिकलाई विकास प्रक्रियामा सहभागी गराउने सन्दर्भमा हामी अलमलिनु हुँदैन । संवेदनासहितको ग्रामीण सभ्यता र अर्थतन्त्र नै हाम्रा लागि स्वाभिमानी अर्थतन्त्र हुने छ । यसले हाम्रो राष्ट्रियता सबल बनाउँदै लैजाने छ । यसो गर्दा हामीले जडता त्यागेर उदार भाव भने बोक्नै पर्छ । हामीले सहरी सभ्यताका असल अभ्यास स्विकार्नै पर्छ । 

सूचना प्रविधि, आधुनिक स्वास्थ्य सेवा र सञ्चार सञ्जाललाई गाउँसम्म पु¥याउने कुरा, पुँजीको परिचालन, बैङ्कको अभ्यास, औचित्यका आधारमा ठुला आयोजना (गाउँलाई विस्थापित गर्न होइन, गाउँको उत्पादनलाई विश्व बजारसँग जोड्ने सर्तमा) लाई अपनाउने कुरा र निजी क्षेत्रको लगानी प्रवर्धनमा सन्तुलित योजना र नियमनसहितको अभ्यास गर्ने बाटो खुला छाड्नु पर्छ । यसो नगर्दा हाम्रो ग्रामीण सभ्यता पछाडि धकेलिन सक्ने र आधुनिक सुविधाको लाभ गाउँले नपाउने खतराप्रति पनि हामीले ध्यान पु¥याउनु पर्छ । संसारसँगै आधुनिक सुविधाको लाभको उपभोग गर्ने तर हाम्रो उत्पादन र अर्थतन्त्रको मूल आधार गाउँकै मौलिकता र आत्मनिर्भरता हो भन्ने विषयबिचको सन्तुलनबाट मात्र हामी सही ठाउँमा पुग्न सक्छौँ भन्नेमा स्पष्ट हुन आवश्यक छ ।