बहुदलीय जनवादका व्याख्याता एवं नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा मृत्यु भएको आज ३३ वर्ष पूरा भएको छ । एउटै जिपमा सवार सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको मृत अवस्थामै गाडीमै त्रिशूली नदीमै र भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो । यो घटनाका बारेमा छानबिन गर्न आयोग बने पनि तिनले अझै वास्तविकता बाहिर ल्याउन सकेका छैनन् । यसै रहस्यमय दुर्घटनामा आधारित भएर चलचित्र निर्देशक मनोज पण्डितले ‘दासढुङ्गा’ नामक चलचित्रसमेत निर्देशन गर्नुभएको छ ।
जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सक्रिय रहेका भण्डारीले नेकपा (माक्र्सवादी–लेनिनवादी) र मनमोहन अधिकारीद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्वपूर्ण योगदान दिएका थिए । उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) को नीति पछ्याउँदै नेकपा (एमाले) बहुलवादी राजनीतिमा अगाडि बढी आमनिर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षका रूपमा स्थापित भएको थियो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरिएको थियो ।
शैक्षिक र राजनीतिक जीवन
पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा ब्राह्मण परिवारमा जन्मिएका भण्डारीको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरु भएको थियो । विसं २०१५ सालमा गाउँमै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो) बाट औपचारिक शिक्षातर्फ प्रवेश गरेका भण्डारी अप्ठ्यारा पाठ भए पनि दुई पटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्न सक्ने बौद्धिक क्षमताका थिए । उनले बाल्यकालमै चण्डी कण्ठस्त गरेकाले जिल्लाभर चर्चित थिए । यद्यपि उनले अक्षर भने चिनिसकेका थिएनन् । उनका बुवा गाउँका थराना गर्ने (गाउँलेले दिएको सुब्बाको मान) पाएकाले मदनले पनि सबैको माया पाएकाले दुःख भोग्नु परेन । हिलो, धुलोमा पढ्न पनि परेन । उनी विसं २०२३ मा गाउँमा उपलब्ध पढाइ सकेपछि २०२४ सालमा परिवारसँगै ताप्लेजुङबाट मोरङको इटहरामा सरेका थिए । उनले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका थिए ।
२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन् । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण ग¥यो । त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रित र भण्डारी केन्द्रीय सदस्य थिए । २०३० सालमा उनी पार्टीको पूर्णकालीन कार्यकर्ता भए । अन्याय सहन नसक्ने उनको आफ्नै खालको विद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जनामार्फत नवीन चिन्तनको विकासले उनलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीसँग नजिकिने वातावरण बनायो ।
२०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण भयो । त्यसको निर्माणमा सक्रिय रहेका नेता पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले) को स्थापना हुनुभन्दा पूर्वको ‘को–अर्डिनेसन केन्द्र’ मा आबद्ध भई ‘मुक्ति मोर्चा समूह’ लाई नै त्यसमा विलय गराइयो । २०३५ सालमा नेकपा (माले) स्थापना भयो र मदन यसको केन्द्रीय सदस्य बने । २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनमा महासचिव बने । ०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले–माक्र्सवादी एकीकरणबाट उनी नेकपा एमालेको महासचिव बने । उनी २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
मदनको विवाह २०३९ सालमा विद्या पाण्डेसँग भयो । उनीहरूबाट दुई छोरी उषाकिरण र निशाकुसुमको जन्म भयो । विद्यादेवी भण्डारी दुई कार्यकाल यो देशको राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेर हाल नेकपा (एमाले) पार्टीमा सक्रिय हुन खोज्दै हुनुहुन्छ । उहाँ देशको राष्ट्रपति जस्तो उच्च पदमा पुग्दा पनि आफ्नो पतिको रहस्यमय मृत्युको छानबिन गरी दोषीलाई कारबाही गर्न सक्नुभएन ।
पहिलो भाषणमै देशव्यापी चर्चा
निरन्तर भूमिगत राजनीति गरेका मदन भण्डारी बहुदलीय व्यवस्था स्थापनापछि तत्कालीन नेकपा (माले) को प्रवक्ताका रूपमा २०४७ कात्तिक महिनामा काठमाडौँको सहिदमञ्चबाट सार्वजनिक भए । भण्डारीको पहिलो भाषण नै देशव्यापी चर्चा र प्रशंसाको विषय बन्यो । घर घरमा भाषणका क्यासेट बज्न थालेसँगै उनको व्यक्तित्व र पार्टी दुवै लोकप्रिय हुन थाले । जनआन्दोलनले तय गरेको थान्कोमा नबसेर राजाले राजनीति गर्न थालेपछि भण्डारीले राजनीति गर्ने हो भने श्रीपेच फुकालेर चुनावी प्रतिस्पर्धामा आउन दिएको चुनौती चानचुने थिएन । ०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर चुनाव जितेपछि उनको लोकप्रियता असीमित रूपमै बढ्न पुगेको थियो ।
बहुदलीय व्यवस्थाको स्थापनापछि पार्टी खुला भइसकेपछि तत्कालीन नेकपा (माले) का महासचिवको हैसियतमा भण्डारीले कम्युनिस्ट आन्दोलनको एकीकरणलाई महŒवसाथ अगाडि बढाए । फलस्वरूप भण्डारीको नेतृत्वमा रहेको नेकपा (माले) र मनमोहन अधिकारी र सहाना प्रधानको नेतृत्वमा रहेको नेकपा (माक्र्सवादी) बिच एकीकरण भई नेकपा (एमाले) गठन भयो । त्यसयता नेकपा (एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा लोकप्रिय रहँदै आएको छ ।
भण्डारी टनकपुर सन्धिका विरुद्ध राष्ट्रियताको लडाइँमा अग्रमोर्चामा उभिनुएकाले सबैको साझा नेताका रूपमा स्थापित भए । अमेरिकाबाट प्रकाशित ‘न्युजविक’ जस्तो कम्युनिस्टविरोधी पत्रिकाले समेत ‘इन नेपाल, कार्ल माक्र्स लिभ्स्’ भनेर मदन भण्डारीको अन्तर्वार्ता प्रकाशित गर्नु चानचुने कुरा थिएन । जननेता भण्डारीको प्रभाव र लोकप्रियताका विविध कारण रहे पनि प्रमुख र महत्वपूर्ण कारण चाहिँ विचार नै हो । राजनीतिमा विचारलाई स्थापित गर्ने वा विचार अनुसार राजनीतिलाई डोहो¥याउने वैचारिक क्षमताकै कारण उनी नेपाली राजनीतिमा एक अद्वितीय नेताका रूपमा रहे । सैद्धान्तिक क्षमता र राजनीतिक नेतृत्वका दृष्टिले भण्डारी प्रतिस्पर्धाविहीन व्यक्तित्वका रूपमा स्वीकार्य भएको उनका जीवनका घटनाक्रमले स्पष्ट पार्छन् । संयुक्त वाममोर्चाको निर्माण, ऐतिहासिक जनआन्दोलनका लागि वातावरणको निर्माण, जनआन्दोलनको तयारी, जनआन्दोलनको सञ्चालन, अन्तरिम सरकारको गठन, नेपाल अधिराज्यको संविधान–२०४७ को निर्माण, भूमिगत पार्टीलाई खुला गर्ने, नेपालको छिन्नभिन्न कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने, प्रगतिशील सरकार बनाउने उद्देश्यले निर्वाचनमा जाने, संसद्मार्फत पार्टीका नीति तथा विचार प्रवाहित गर्ने, स्थानीय स्वायत्त शासन र विकेन्द्रीकरण जस्ता विषयमा भण्डारीको छोटो नेतृत्व सफल रहेको थियो । हरेक विषयमा आफ्ना विचारलाई स्थापित गर्ने र लागु गर्ने कुरामा दृढतापूर्वक लागेकै कारण उनको राजनीतिक सोच सफलतामा परिणत हुन पुगेका थिए ।
नेपाल अधिराज्यको संविधान–२०४७ जारी भएपछि भण्डारीले तत्कालीन नेकपा (माले) का तर्फबाट संविधानको आलोचनात्मक समर्थन गर्दै आलोचनाका २७ वटा बुँदा प्रस्तुत गर्दा कतिपयले आलोचना गरेका थिए । समयव्रmममा तिनै बुँदा सान्दर्भिक हुन पुगे । २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्ले तिनै बुँदामा टेकेर राजालाई एक प्रकारले निलम्बन गर्ने काम ग¥यो र अन्तरिम संविधान जारी भयो । संविधान सभाबाट २०७२ सालमा जारी संविधानमा ती बुँदा महसुस गर्न सकिन्छ । भण्डारीको दूरदर्शिता हाम्रो संविधानमा पनि झल्किएको छ ।