• ३ जेठ २०८३, आइतबार

चीनको लिन्जीले दियो पोखरालाई अत्याधुनिक एम्बुलेन्स

blog

चीनको लिन्जी सहरले पोखरा महानगरलाई उपहारमा दिएको अत्याधुनिक एम्बुलेन्स शनिबार पोखरा महानगरमा । तस्बिरः गोरखापत्र

लेखनाथ, जेठ ३ गते । भूगोलका हिसाबले देशकै ठूलो महानगर पोखराको देश, विदेशका स्थानीय सरकारहरुसँग बलियो सम्बन्ध छ । पोखरा महानगरको १८ विदेशी र चार स्वदेशी गरी २२ सहरसँग भगिनी सम्बन्ध छ । 

यही मितेरी साइनो रहेको चीनको जिजाङ प्रान्तस्थित लिन्जी सहरले पोखरालाई उपहार दिएको अन्त्याधुनिक एम्बुलेन्ससहितका सामग्रीहरु शनिबार पोखरा आइपुगेका छन् । 

साढे तीन वर्षअघि लिन्जी सहरले पोखरालाई दिएका अत्याधुनिक उपकरणजडित एम्बुलेन्स, केही भेन्टिलेटर, अक्सिजन सिलिन्डर, अक्सिजन इन्सिनेटर लगायत सामग्री ढिलो गरी पोखरा आइपुगेका हुन् । ती सामानको मूल्य नेपाली बजारमा साढे तीन करोड हाराहारी पर्ने महानगरले जनाएको छ । 

पोखरा महानगरका प्रमुख धनराज आचार्यले ती समग्रीहरु केवल सामग्री नभई मित्रता र दुई पक्षीय सम्बन्धका कडी भएको बताउनुभयो । 

“यी सामग्री पोखरा महानगरपालिका परिसरमा आइपुग्दा यो केवल उपकरणहरूको आगमनमात्र रहेन, मित्रताको सम्मान, निरन्तर प्रयासको परिणाम र नागरिकप्रतिको दायित्व पूरा भएको अनुभूति पनि बनेको छ,” उहाँले भन्नुभयो । 

प्रमुख आचार्य लिन्जी गएका बेला दिइएका यी सामग्री हप्ता दिनमै रसुवाको केरुङ नाका आइपुगे पनि भन्सारको प्रावधानका कारण त्यही रोकिएका थिए । पछि भन्सार छुटको सीमा हटाइएपछि ती सामग्री साढे तीन वर्ष केरुङमा थन्किएर पोखरा ल्याइएका हुन् ।