रामकृष्ण बोहरा
बागलुङ, जेठ ३ गते । कला संस्कृतिको धनी मानिन्छ बागलुङको गलकोट क्षेत्र । ‘सती घाटु’ नाच त यहाँको सांस्कृतिक पहिचान नै बनेको छ । गलकोट नगरपालिका वडा १० पाण्डवखानी र वडा ११ रिघामा अझै पनि ‘सती घाटु’ नाच प्रचलनमा छ ।
माघ शुक्ल पुर्णिमाबाट गुरुस्थापना गरी प्रारम्भ भएको ‘सती घाटु’ नाच बैशाख पूर्णिमामा सती ढाल्ने र जेठ २० मा सेलाउने प्रचलन भएपनि यसवर्ष मलमास परेका कारण जेठ १ गते नै विधिवत् रुपमा विसर्जन गरिएको हो ।
‘‘घाटुको औपचारिक फुक्ने कार्य माघ महिनामै गरिए पनि वास्तविक नाच भने वैशाख कृष्ण औँसीदेखि सुरु हुन्छ । जेठ महिनाको अन्तिम सातासम्म सञ्चालन हुने यो परम्परा माघसम्म स्थगित रहने प्रचलन छ । यसवर्ष मलमास परेका कारण जेठ २ गते शनिबारनै ‘सती घाटु’ विसर्जन गरियो’’ पाण्डवखानीका घाटु नाच संयोजक गिरी प्रसाद थापाले भन्नुभयो ।
पाण्डवखानीको ‘सती घाटु’ नाचलाई कठिन, गुरुमुखी तथा तान्त्रिक मानिने नृत्य अनुष्ठानका रूपमा लिने गरिन्छ । बैशाखे पूर्णिमाको अवसरमा विशेष रूपमा प्रस्तुत गरिने ‘सती घाटु’ नाच हेर्न आन्तरिक तथा बाह्य पर्यटक पाण्डखानी पुग्ने गर्छन् । ‘सती घाटु’ ले पाण्डवखानीलाई जीवित सङ्ग्राहलयको पहिचान दिएको थापा बताउनुहुन्छ ।
लिखित दस्तावेज नभएपनि अन्यत्रबाट बडिगाडमा रहेको ‘सिसाखानी’ र गलकोट पाण्डवखानीकोे ‘तामाखानी’मा काम गर्न आएका कामदारले बडिगाड र गलकोट क्षेत्रमा ‘सती घाटु’ नाच प्रचलन ल्याएको अनुमान गरिन्छ । घाटु संयोजक थापाका अनुसार, पाण्डवखानीमा ‘सती घाटु’ नाचको सुरुआत वि.सं. १८५० सालदेखि शुरु भएको हो ।
‘सती घाटु’ नाच तत्कालीन पर्वते राजा परशुराम र रानीको जीवनकथामा आधारित गीतिनाटक शैलीमा प्रस्तुत गरिन्छ । युद्धमा राजाको वीरगति भएपछि रानीहरूले गर्ने विलाप, कारुणिक गीत र नृत्यमार्फत व्यक्त गरिन्छ । नृत्यका क्रममा गीतकै लयमा घाटुनीहरू लठ्ठिएर नाच्ने, आँखा बन्द गर्ने र ढल्ने गर्छन् । जसलाई पुनः गीतबाटै उठाइन्छ । ‘‘बिहानदेखि सुरु हुने यो नृत्य मध्यरातपछि मात्र समापन हुन्छ’’ थापाले भन्नुभयो ।
पाण्डवखानीका वडाध्यक्ष भक्तबहादुर काउचा घाटु संरक्षणमा प्राथमिकता दिँदै निरन्तरताका लागि पहल भइरहेको बताउनुहुन्छ । "पश्चिमा संस्कृतिको प्रभावबीच हामीले आफ्नो मौलिक संस्कृति जगेर्ना गर्नु समुदायको बलियो सांस्कृतिक चेत र सामूहिक एकता हो," काउचाले भन्नुभयो । नयाँ पुस्तालाई संरक्षणमा प्रेरित गर्ने काम भएको उहाँको भनाइ छ ।

यस वर्ष मलमासका कारण तिथि र समय तालिकामा केही परिवर्तन भएपनि ‘सती घाटु’ नाचको मर्म, श्रद्धा र सांस्कृतिक आत्मा भने अक्षुण्ण रहेको वडाध्यक्ष थापाले बताउनुभयो ।
"ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको यहाँको सती घाटु’बारे देशीविदेशीले थुप्रै वृत्तचित्र समेत बनाएका छन्," थापाले भन्नुभयो । ‘सती घाटु’को दस्तावेजीकरण गर्ने काम भएको छ भने गण्डकी प्रज्ञा प्रतिष्ठानले तीन वर्षअघि अडियो रेकर्ड समेत गरेको छ ।
यस्तै, बडिगाड–४ जलजलाको झुलेडाँडा हुँदै सिसाखानीमा नाच्न थालिएको ‘सती घाटु’ अहिले जलजलाको झुलेडाँडामा भने लोप भैसकेको छ । झुलेडाँडाका घाटुगुरु सिसाखानी बसाई सरेपछि सिसाखानीमा भने ‘सती घाटु’ले निरन्तरता पाएको हो ।