• १८ साउन २०८१, शुक्रबार

नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने

blog

काठमाडौँ, साउन १८ गते । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्‍याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ । 

नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो । 

 कार्यदलले नर्सिङ पढाइसम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासबारे पनि अध्ययन गरेको थियो । आयोगका सदस्यसचिव काप्रीले भन्नुभयो, “धेरै विदेशी मुलुकमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको अध्ययनबाट देखिएको छ । नेपालमा पनि सोही व्यवस्था लागु गर्नु पर्छ भन्ने कोणबाट आयोगले आवश्यक गृहकार्य गरिरहेको छ ।”

केसी संयोजक रहेको कार्यदलले दिएको प्रतिवेदनलाई आयोगले गत चैत ९ गते पारित गरेको थियो । सोही प्रतिवेदन पारित गरेपछि मापदण्ड निर्माण अघि बढाइएको काप्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषयको पढाइ हुन्छ । नयाँ व्यवस्था अनुसार जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले पनि नर्सिङ पढ्न पाउने छन् । “तर तीनवर्षे नर्सिङ पढेपछि रोजगारीमा कुन हैसियतमा जाने ? यसलाई लोक सेवा आयोगले मान्यता दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ,” काप्रीले भन्नुभयो, “नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्डले यी सबै विषयलाई स्पष्ट पार्ने छ । त्यसपछि आयोगको बैठकले पारित गरेपछि मात्रै कार्यान्वयन चरणमा जान्छ ।” अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नेले नर्सिङ पढ्न पाउने व्यवस्था छ । प्रमाणपत्र तहमा नर्सिङ उत्तीर्ण गर्नेले ब्याचलर अफ नर्सिङ (बिएन) अध्ययन गर्ने बाटो खुल्छ । 

त्यसबाहेक कक्षा १२ मा विज्ञान विषय पढेकाले बिएस्सी नर्सिङ पढ्न पाउँछन् । एसइईपछि दुई वर्षको आधारभूत अध्ययनपछि मात्रै नर्सिङ पढ्ने व्यवस्था गर्दा विद्यार्थीका लागि अध्ययनको जग बसाल्न सहयोग पुग्ने तथा अन्तर्राष्ट्रिय अभ्याससँग पनि एकरूपता हुने विश्वास आयोगले लिएको छ । 

पछिल्लो समय मुलुकमा नर्सिङ पढाइप्रति विद्यार्थीको आकर्षण बढे पनि रोजगारीको अवस्था भने चित्तबुझ्दो छैन । नेपालमा वार्षिक चार हजार नर्स रोजगारी बजारमा जाने गरेका छन् । हाल नेपाल नर्सिङ काउन्सिलमा ८३ हजार नौ सय ६६ जना नर्स दर्ता छन् । तर अधिकांश नर्सको रोजगारीको गन्तव्य भने विदेश हुने गरेको छ । 

सम्बन्धन दिन निर्देशन 

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पूरा भएका नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले यस्तो निर्देशन दिएको हो । 

चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लगायत सरोकारवाला निकायका अधिकारी बैठकमा सहभागी हुनुभएको थियो । 

मापदण्ड पूरा भएका नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन दिने सहमति भए पनि समितिले लिखित निर्देशन भने दिएको छैन । यस विषयमा थप निर्णय गरिने समितिले जनाएको छ । अहिले सम्बन्धन दिन लागिएको नर्सिङ कलेजले यसै शैक्षिक सत्रदेखि नर्सिङ विषयको पढाइ सञ्चालन गर्न पाउने छन् ।