• १९ साउन २०८१, शनिबार

‘वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक’

blog

काठमाडौँ, साउन १८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन लागिएको बताउनुभएको छ । बहुपक्षीय सङ्गठनका पूर्वअन्तर्राष्ट्रिय पेसेवर (एफआईपिएमओ) संस्थाले ललितपुरमा आयोजना गरेको ‘नेपाली आप्रवासी कामदारहरूको सुरक्षा र अधिकार विषयक’ अन्तर्क्रिया कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेलाई रोक्न तत्काल नसक्ने अवस्था रहेकाले यसलाई व्यवस्थित गर्न लागिएको जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नीतिगत रूपमा सुधार गर्न लागिएको जानकारी दिँदै उहाँले मन्त्रालयलाई पुनर्संरचना गरी आन्तरिकस्तरमै रोजगारी सिर्जना गर्न मन्त्रालयमा रोजगारी महाशाखा बनाउन लागिएको जानकारी दिनुभयो । 

“आन्तरिक बजारमा रोजगारी सिर्जना गर्न ७५३ वटा पालिकामा रोजगारी सेवा केन्द्र स्थापना गरिएको, यसले श्रम बजार र रोजगारीको अवस्थाबारे अध्ययन गरिरहेको छ,” मन्त्री भण्डारीले भन्नुभयो, “यसले अन्तर्राष्ट्रिय बजारदेखि गाउँसम्म जोड्न सहयोग पु¥याउँछ ।” पछिल्लो समय आन्तरिक र बाह्य आप्रवासन बढ्दै गएकाले यसलाई व्यवस्थित र सुरक्षित राख्न राष्ट्रिय आप्रवासन नीति तयार गरी अन्तिम चरणमा पु¥याएको मन्त्री भण्डारीले जानकारी दिनुभयो । 

“सशस्त्र द्वन्द्व, विभिन्न किसिमका आन्दोलन, रोजगारीको खोजीलगायतका कारण आप्रवासन भएकाले यसबाट अवसर इज्जत प्रतिष्ठा पनि जोडिएको छ,” मन्त्री भण्डारीले भन्नुभयो, “नबुझेर मानिस बाहिर जाँदा दुःख पाइरहेकाले पनि यसलाई व्यवस्थित गर्न आवश्यक छ ।”

जबसम्म मुलुकमा रोजगारी सिर्जना हुँदैन तबसम्म वैदेशिक रोजगारीमा जानबाट रोक्न नसक्ने हुँदा यसलाई व्यवस्थित गरी वैदेशिक रोजागरीबाट सिकेको सिप र पुँजीलाई उत्पादनसँग जोड आवश्यक रहेको मन्त्री भण्डारीको भनाइ छ ।

जुन जुन मुलुकमा नेपाली रोजगारीमा गएका छन्, त्यस देशमा सरकारको उपस्थिति रहेर उनीहरूले भोगेका समस्यालाई समाधान गर्नेतर्फ श्रम मन्त्रालय लाग्नुपर्ने उहाँको भनाइ छ । एकद्वार प्रणालीमार्फत वैदेशिक रोजगारीसम्बन्धी सेवा प्रदान गरी फेसलेस र पेपरलेस सेवा सञ्चालन गर्न लागिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो । 

सो अवसरमा बहुपक्षीय सङ्गठनका पूर्वअन्तर्राष्ट्रिय पेसेवर संस्थाकी संरक्षक चाँदनी जोशीले आप्रवासनमा जाने महिला, बालबालिकाका लागि कसरी सुरक्षित गर्ने विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । बहुपक्षीय सङ्गठनका पूर्वअन्तर्राष्ट्रिय पेसेवर संस्थाका अध्यक्ष भाइराज पाण्डेले विदेशमा छोराछोरी बेचेर उनीहरूले पठाएको रेमिट्यान्सले रमाइरहेकाले यसलाई सुरक्षित गर्न आवश्यक रहेको बताउनुभयो । मुलुकभित्र र मुलुकबाहिर हुने आप्रवासनलाई व्यवस्थित र संरक्षण गर्न जरुरी रहको उहाँको भनाइ छ । सो अवसरमा सरोकारवालाले विभिन्न कारणले नेपालबाट महिला र बालबालिका विभिन्न गन्तव्यमा रोजगारीका लागि जाने गरेकाले नीति नियम बनाएर कार्यान्वयन गर्ने जोड दिनुभएको थियो । 

आर्थिक अवस्था कमजोर, राजनीतिक अस्थिरता, सुरक्षित भविष्य, वातावरणीयलगायतका कारणले पछिल्लो समय आन्तरिक र बाह्य मुलुकमा आप्रवासन बढी हुने गरेको बताएको छ । आप्रवासनमा जाने ७४.४ प्रतिशत अदक्ष र ३८.३ प्रतिशत मात्र दक्ष कामदार हुने गरको तथ्याङ्कले देखाएको छ । बढ्दो आप्रवासनलाई व्यवस्थित र मर्यादित गर्न सरोकारवालाले जोड दिएका छन् ।