भक्तपुरको हनुमन्तेस्थित हनुमान घाटमा माधवनारायणका व्रतालु हिँड्दै गएर बुधबार तिलनारायणको दर्शन गरेका छन्। दर्शनपछि तिलनारायणदेखि हनुमान घाटसम्म करिब दुई किलोमिटर पुरुष व्रतालु ‘सिनमं तुलेगु’ (गुल्टिँदै), ‘दुंदायगु’ (शरीरले बाटो नाप्दै), शङ्ख फुक्दै फर्केका थिए।
माघेसङ्क्रान्ति मेला हुम्लावासीले कर्णाली र दोजाम कर्णाली नदीको दोभानमा रातभरि जाग्राम बसेर मनाएका छन्। उनीहरूले रातभरि जाग्राम बसे राम्रो फल प्राप्त हुने धार्मिक मान्यतालाई निरन्तरता दिँदै यस वर्ष पनि राति नदीबाट आउने चिसो सिरेटोको परवाह नगरी माघेसङ्क्रान्ति मनाएका हुन्।
मानिसको अहोरात्र मेहनत, लगनशीलता तथा कामप्रतिको प्रतिबद्धता नै सफलताका कारक हुन सक्छ । फलको आस नगरी कर्म गरिरहँदा एक दिन वा एक समय सो कर्मको निश्चित रूपमा सर्वत्र प्रशंसा हुन्छ, हुने रहेछ । यसैको अब्बल उदाहरणका रूपमा प्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई लिन सकिन्छ । ताप्लेजुङजस्तो विकट पूर्वी पहाडी जिल्लाको ओलाङचुङ्गोलामा ६८ वर्षअघि सामान्य परिवारमा जन्मिनुभएका डा. रुइत आफ्नो मेहनत, लगनशीलता तथा समाजप्रतिको सेवाका कारण आज नेपाल मात्र नभई विश्वप्रसिद्ध आँखारोग विशेषज्ञमा चम्किनुभएको छ । यो उहाँको व्यक्तिगत उपलब्धि मात्र नभई नेपाल र नेपालीका लागि समेत गौरव र हर्षको विषय बनेको छ । उहाँले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउनुभएको छ ।
योग विषय अध्ययनका लागि विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा समावेश गर्न थालिएको छ। पछिल्लो समयमा योगप्रति आकर्षण बढ्न थालेपछि विश्वविद्यालयले पाठ्यक्रममा समावेश गर्न लागिएको हो। दर्शनका पाँचवटा शास्त्र अध्यापन गराउँदै आएको नेपाल संस्कृत विश्वविद्यालयले आचार्य (स्नातकोत्तर) तहमा योगलाई समेत पाठ्यक्रममा समावेश गरेको हो।
लुम्बिनी प्रदेशमा विश्वासको मत प्राप्त गरेपछि मात्रै सरकार विस्तार गरिने भएको छ। प्रदेश मुख्यमन्त्री लीला गिरीले बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएको छ। त्यसपछि मात्रै सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा छलफल गरिने जनाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विश्वासको मत लिनेबारे प्रदेश सभा सचिवालयलाई जानकारी गराइसकेको छ। विश्वासको मत प्राप्त गर्नासाथ सत्ता गठबन्धनमा आबद्ध अन्य दलसँग मन्त्रालयका विषयमा छलफल गरिने मुख्यमन्त्री गिरीले जानकारी दिनुभयो। सातवटा राजनीतिक पार्टी र दुई स्वतन्त्रसहित ५६ जना प्रदेश सदस्यको समर्थनमा पुस २८ गते गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी तवरले जनस्तरमा पुग्न सकेको छैन । नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमाको पहुँच हिमाली जिल्ला म्याग्दीमा एक तिहाइ जनसङ्ख्यामा पनि पुग्न नसकेको तथ्याङ्क छ ।
बुटवलमा दुई ठूला केबलकार परियोजनाको तीव्र रूपमा निर्माण भइरहेको छ। लुम्बिनी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुर पुग्न केबलकार निर्माण भइरहेको हो। तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार निर्माणाधीन छन्। बुटवलमा रहेको अस्थायी राजधानी दाङमा स्थानान्तरणपछि बजार सुस्ताउने अनुमान गरिएको छ। सो विकल्पका रूपमा यी दुई केबलकार निर्माण सम्पन्न भएको अवस्थामा बुटवल क्षेत्र आर्थिक तथा पर्यटकीय ‘हब’ बन्ने अपेक्षा गरिएको छ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडककै कारण सर्वसाधारण जनताले दुःख पाउने र ज्यान गुमाउने समस्याको अन्त्यमा आफू लागिपर्ने बताउनुभएको छ। बुटवल–नारायणगढ सडक आयोजनाको स्थलगत निरीक्षण गर्न नवलपुर आइपुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले सडककै कारण जनताले सास्ती खेप्नु दुःखद विषय भएको भन्दै निर्माणाधीन सडकको अवस्था बुझी समयमा नै समन्वयात्मक रूपमा कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट प्रत्यक्षतर्फ चुनाव जितेर सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुभएकी एक मात्र महिला रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उहाँ मन्त्रीमध्ये पहिलो वरीयतामा हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्री दाहालले सरकारको प्रवक्तासमेत बनाउनुभएको छ । रेखा शर्मा नेपाली इतिहासमा दोस्रो महिला सञ्चारमन्त्री हुनुहुन्छ । जनयुद्धमा र शान्ति प्रक्रियापछिको राजनीतिमा उत्तिकै सशक्त भूमिका निर्वाह गर्ने महिला नेत्रीमध्ये शर्माको नाम अग्रस्थानमा आउँछ । उहाँले २०७२ सालमा सामान्य प्रशासनमन्त्री बनेर क्षमता प्रमाणित गरिसक्नुभएको छ भने संसदीय समितिमा पनि अब्बल भूमिका खेलेर प्रशंसा कमाउनुभएको छ । प्रस्तुत छ; शर्माको प्राथमिकता, सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोण र आगामी कार्य प्राथमिकताबारे महेन्द्र सुवेदी/रासससँग गर्नुुभएको कुराकानीको सम्पादित अंश :
अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि संरचनात्मक सुधारमै केन्द्रित हुनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । नेपाल चेम्बर अफ कमर्सले राजधानीमा बुधबार आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक छलफल कार्यक्रममा उनीहरूले लामो समयदेखि अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न संरचनात्मक परिवर्तन नै जरुरी रहेको बताएका हुन् । खर्चको समुचित प्रयोग बढाउने र अनावश्यक खर्च कटौती गर्ने तथा राजस्व वृद्धिका लागि उत्पादन बढाउने र भन्सार प्रणालीलाई चुस्त बनाउने गरी सुधारको दीर्घकालीन योजना अबको आवश्यकता रहेको उनीहरूको भनाइ थियो ।
झन्डै तीन वर्षदेखि रोकिएको काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । सन् २०२० को मार्चपछि बन्द रहेको उक्त गन्तव्यमा मङ्गलबारदेखि हिमालय एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाडौँ –बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एयरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको एक दिन उडान गर्ने जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ । मन्त्री भण्डारीले बुधबार नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँग रोजगारीको अभावमा पलायन भइरहेका जनशक्ति रोक्नुपर्ने आवश्यकतामा जोड दिँदै औद्योगिक विकासबाट मात्रै स्वदेशमा रोजगारीका अवसर सिर्जना सम्भव भएकाले परिसङ्घसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो । परिसङ्घको टोलीले मन्त्री भण्डारीसँग उद्योगी व्यवसायीका समस्या समाधान गर्न आग्रह गरेको थियो ।
नेपाल–भारतको पश्चिमी सिमानाको महाकाली नदी दुवै देशको फोहोर विसर्जन गर्ने स्थल बन्दै छ। नदीमा दुई देशका निकटवर्ती सहरको फोहोर थुप्रिँदा नदी प्रदूषित बन्दै गएको छ। नेपालतर्फ बैतडीको दशरथचन्द नगरपालिका–१०, झुलाघाटका शौचालयको ढल सिधै महाकालीमा मिसिन्छ भने दार्चुलाको महाकाली नगरपालिकाको डम्पिङ साइट महाकाली नदीछेउमै छ। उता भारततर्फको झुलाघाट बजार र धार्चुला बजारको फोहोर पनि महाकाली नदीमै मिसिएको छ। दशरथचन्द नगरपालिकाले स्वच्छ सफा नगरको नारा अघि सारेर सडक किनारमा फूल रोपेर बजार क्षेत्र चिटिक्क बनाए पनि ढल निकास तथा कुहिने र प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न नसक्दा नदी प्रदूषित बनेको हो। भारतमा प्लास्टिकका झोला प्रयोग गर्न नपाइने हुँदा उताको प्लास्टिकजन्य फोहोर नदीमा आउँदैन तर शौचालयका ढल भने महाकालीमै मिसिने गरेको भारतका सञ्चारकर्मी सुरेन्द्र आर्यले बताउनुभयो। नदी किनारमा फोहोर थुप्रिन थालेको गुनासो बढेपछि भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिना जोशीले अनुगमन गरेसँगै नदी किनारको फोहोर उठ्न थालेको उहाँले बताउनुभयो। महाकाली नदी दुवै देशको धार्मिक र सांस्कृतिक विरासत जोड्ने पवित्र नदी भएकोले नदीको स्वच्छताका विषयमा दुवै देशका सरकार र नागरिक जिम्मेवार बन्नुपर्ने भारतको मजिरकाँडा ग्राम पञ्चायत सदस्य दिवाकर भट्टले बताउनुभयो। नेपालतर्फ बैतडी सदरमुकाम, गढी, गोठालापानी, शाहीलेक र दार्चुला सदरमुकामको महाकाली नगरपालिका क्षेत्रमा प्लास्टिकका झोलाको अत्यधिक प्रयोग हुने गरेको छ। त्यसमाथि मदिराका खाली सिसी बोतल पनि फोहोरमै मिसिने गरेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सरकारको प्रवक्तामा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री शर्मालाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो। उहाँ मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त हुनुभएको हो। यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो। सञ्चारमन्त्री नै सरकारको प्रवक्ता रहने परम्परा छ।
लहान नगरपालिका–१३ स्थित शिव चोकमा सोमबार र बिहीबार साप्ताहिक कृषि हाटबजार लाग्न थालेको छ। हाटबजार लगाउने श्रेय कुनै विशेष दल र जनप्रतिनिधिलाई जाँदैन, चिया पसले गोपाल कार्कीलाई जान्छ। कार्कीले लहान नगरपालिकाको मुख्य चोकदेखि १० किलोमिटर पश्चिम–उत्तरमा चिया पसल राख्नुभएको थियो। उहाँले दुई वर्षसम्म चिया पसलमा आउने समाजका अगुवालाई हाटबजारका चलाउनका लागि आग्रह गरिरहनुभयो।