• २८ पुस २०८१, आइतबार

देश विकासमा संस्कृतिकर्मीको भूमिका महत्त्वपूर्ण

blog

काठमाडौँ, जेठ ११ गते । नेपाल सांस्कृतिक महासङ्घले आफ्नो स्थापना दिवसका अवसरमा बुधबार ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला–२०८०’ आयोजना गरेको छ । 

भेला समापन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले महासङ्घलाई पार्टीले चिन्न र बुझ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी चुनावको समयमा मात्र महासङ्घलाई खोज्छौँ । यसको उपयोगिताबारे हामीले केही गर्न सकेका छैनौँ । कलाकारलाई चिन्ने र बुझ्ने गिरिजाबाबु हुनुहुन्थ्यो ।”

वरिष्ठ नेता कोइरालाले समयानुकूल परिमार्जन गर्दै महासङ्घलाई अगाडि बढाउनु जरुरी रहेको बताउँदै भन्नुभयो, “कांग्रेस नभए पनि लोकतान्त्रिक विचार राख्ने कलाकर्मीलाई समेट्न अझै मेहनत गर्नुस् ।”

यसअघि भेला उद्घाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले देशको विकासमा संस्कृतिकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै नेपालको राजनीति विकृत र विसङ्गत तरिकाले अगाडि बढिरहेकाले शुद्धीकरण गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले हिजो कलम लिएर संविधान लेखेँ । आज मेरो हातमा कुचो छ । भ्रष्ट फोहोर जहाँ भए पनि बाँकी राख्दिनँ । बढार्ने काम सुरु भइसकेको छ ।” उहाँले नातावाद, कृपावाद, को पर्छ वा पर्दैन भन्ने र मुद्दा हाल्ने कि नहाल्ने विषयमा कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो, “यो प्रव्रिmयागत रूपमा अगाडि बढ्छ । आफू र आफ्नो मन्त्रालयबाट भ्रष्ट व्यक्तिले ओत पाइन्छ भन्ने आस नगरे हुन्छ ।”

भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, प्रमोदहरि गुरागाईं, महासङ्घका अध्यक्ष तीर्थ थापालगायतले प्रशिक्षण दिनुभएको थियो । भेलामा देशभरबाट संस्कृतिकर्मीको उपस्थिति रहेको महामन्त्री शिवशङ्कर रिजालले जानकारी दिनुभयो । “सातै प्रदेशबाट प्रतिनिधि आउनुभएको छ । यस भेलाले महासङ्घलाई बढ्न मार्गदर्शनसमेत दिएको छ,” महामन्त्री रिजालले भन्नुभयो । उहाँले ६ महिनामा महाधिवेशन गर्ने तयारी भइरहेकोसमेत जानकारी दिनुभयो ।