गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल चलचित्र विकास बोर्ड स्वायत्त निकायका रूपमा विकसित हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले सरकार परिवर्तनसँगै बोर्डका पदाधिकारीले राजीनामा दिनुपर्ने र राजनीतिक आस्थाका आधारमा नयाँ पदाधिकारी नियुक्त हुने परम्पराले सम्पूर्ण चलचित्र क्षेत्रको विकास र प्रवर्धनमा असर पर्दै आएको जिकिर गर्नुभयो ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयकमाथिको छलफलमा सरकारको धारणा राख्दै सञ्चारमन्त्री खरेलले सरकार परिवर्तन हुँदैमा बोर्डका पदाधिकारीले राजीनामा गरेर राजनीतिक आस्थाका आधारमा अर्को पदाधिकारी नियुक्त हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “विकास बोर्डलाई स्वायत्त बनाउने सरकारको स्पष्ट दृष्टिकोण हो । सरकार परिवर्तन हुँदैमा पदाधिकारीले राजीनामा गर्नु उपयुक्त होइन ।”
बोर्डका अध्यक्षको नियुक्ति नेपाल सरकारले गर्ने विधेयकमा उल्लेख छ । नेपाल सरकारले कार्यक्षमताको अभाव भएमा, खराब आचरण भएमा, कार्यसम्पादन सम्झौताबमोजिमको लक्ष्य हासिल नगरेमा, शारीरिक वा मानसिक अवस्थाका कारण कामकारबाही गर्न असमर्थ भएमा, पदीय हैसियत दुरुपयोग गरी लाभ हासिल गरेमा अध्यक्षलाई जुनसुकै बखत पदबाट हटाउन सक्ने प्रस्ताव गरिएको छ । सो व्यवस्थाले चारबर्से कार्यकाल पूरा नहुँदै सरकारले अध्यक्षलाई हटाउन सक्ने अवस्था रहन्छ ।
छलफलमा समितिका सदस्यहरूले खुला प्रतियोगिताबाट अध्यक्ष नियुक्त गर्ने व्यवस्था उपयुक्त हुने धारणा राख्नुभयो । नियुक्ति नेपाल सरकारले नै गर्ने भए पनि खुला प्रतियोगिता आह्वान गरेर उपयुक्त व्यक्ति चयन हुनुपर्ने समितिका सदस्यहरूको जोड थियो ।
विधेयकमा चलचित्र विकास बोर्ड स्वशासित र सङ्गठित संस्था हुने तथा यसले कानुनी व्यक्तित्व प्राप्त गर्ने प्रस्ताव गरिएको छ । सङ्घीय संसद् सचिवालयका उपसचिव नुमराज शर्मा खनालले विधेयकको प्रस्तावना पुनर्लेखन गर्न समितिमा सहमति भएको बताउनुभयो । उहाँका अनुसार बोर्डका सदस्य समावेशी सिद्धान्तका आधारमा विभिन्न जातजातिबाट आउने गरी नियुक्तिको व्यवस्था गर्न समितिका सदस्यहरू एकमत भएका छन् । कुल ५३ वटा दफा रहेको विधेयकमा बिहीबारको छलफलले चार वटा दफामाथिको छलफल सम्पन्न गरेको छ ।
किताब जात्रा सुरु
यसैबिच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल निर्माणका लागि शिक्षामा सबैको पहुँच अभिवृद्धि गरिनुपर्ने बताउनुभयो । किताब जात्राको सातौँ संस्करणको बिहीबार उद्घाटन गर्दै उहाँले पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्वपूर्ण भूमिका रहने पनि बताउनुभयो ।
सञ्चारमन्त्री खरेलले सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि सरोकारवाला गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा नै अँध्यारो हटाउने ज्योति हो । शिक्षाबाट वञ्चित जति पनि बालबालिका छन्, विद्यालय गएर शिक्षा हासिल गर्न सकून् ।”
मन्त्री खरेलले पुस्तक, सिर्जना र विचारको उत्सवले समाजलाई समृद्ध र संवेदनशील बनाउने बताउनुभयो । किताब जात्राका निर्देशक ऋषिराज अधिकारीले पठन संस्कृतिको विकाससँगै नागरिकलाई शिक्षाप्रति जागरण फैलाउने उद्देश्यले किताब जात्रा गरिँदै आएको बताउनुभयो । जात्रामा पुस्तक प्रदर्शनीका साथै विभिन्न प्राज्ञिक सत्र सञ्चालन भएका छन् । कार्यक्रममा कलाकारको विभिन्न कला र संस्कृति झल्किने प्रस्तुति पनि समेटिएको छ ।
कविताका साथमा गुन्जिए रङ्गकर्मी नाजिर

रङ्गकर्मी नाजिर हुसेनमा अभिनयका साथै मिठो वाचन कला पनि छ । किताब यात्रा फाउन्डेसनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रा कार्यक्रममा बिहीबार नाजिरले मिठो कविता वाचन गर्दै सबैलाई मन्त्रमुग्ध तुल्याउनुभयो ।
उहाँले कवितामार्फत आमा र बुवाको सपनाको सँगालो प्रस्तुत गर्नुभएको थियो । उहाँको मिठो कविता वाचन शैली र पाश्र्वमा गुन्जिरहेको बाँसुरी तथा मादलको सुरिलो धुनले दर्शकको मन छोएको थियो । उहाँले आफ्नो सानो हत्केलामा बाआमाका औँला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गर्नुभएन । उहाँले आमाको न्यानो काख र कोखको चर्चा पनि गर्नुभयो ।