• २८ मङ्सिर २०८२, आइतबार

अख्तियारमा साढे चार सय उजुरी, १५० उजुरीमाथि विस्तृत अनुसन्धान

blog

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, मङ्सिर २८ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक आवको मङ्सिर दोस्रो सातासम्म चार सय ४४ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०८२–०८३ मा दर्ता भएका चार सय ४४ वटा र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका चार सय ६२ गरि ९०६ वटा उजुरीको दर्ता भएको आयोगको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी चेतराज भट्टका अनुसार, अख्तियारमा परेका उजुरीमध्ये अत्यधिक शैक्षिक क्षेत्रमा हुने भ्रष्टाचार सम्बन्धित छन् । चालु आवको मङ्सिर दोस्रो सातासम्म शिक्षासम्बन्धी १७४ उजुरी अख्तियारमा दर्ता छन् । विद्यालयको दिवा खाजामा गरिएको भ्रष्टाचार, विद्यालय शिक्षकको सरुवा, भवन निर्माण, सामग्री खरिद, पुस्तकालयमा भएको भ्रष्टाचार अनियमिततासम्बन्धी मुद्दाका अख्तियारमा दर्ता छन् ।  

कार्यालयका अनुसार, स्थानीय तहसम्बन्धी एक सय तीन उजुरी दर्ता भएका छन् । यसैगरी, वन वातावरणसम्बन्धी १०६ उजुरी, भौतिक पूर्वाधारसम्बन्धी ११४, स्वास्थ्य क्षेत्रका ५३ उजुरी दर्ता भएको सूचना अधिकारी भट्टले बताउनुभयो ।

उहाँका अनुसार, ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन् । स्थानीय तहमा हुने नीतिगत भ्रष्टाचार तथा पूर्वाधार सामग्री खरिदलगायत निर्माणका नाममा अत्यधिक भ्रष्टाचारका उजुरीहरू दर्ता भएको उहाँले बताउनुभयो ।  

यसैगरी, सुदूरपश्चिमको कैलाली जिल्लाबाट अत्यधिक उजुरी दर्ता भएका छन् । कार्यायका अनुसार, चालु आर्थिक वर्षको हालसम्म कैलालीबाट दुई सय २० उजुरी यस आयोगको कार्यालयमा दर्ता भएकोमा ६६ उजुरी फर्छ्यौट गरिएका छन् भने, १५४ उजुरीमाथि छानबिन भइरहेको छ ।

यसैगरी, कञ्चनपुरबाट एक सय ६६ भ्रष्टाचारका उजुरी कार्यालयमा दर्ता छन् । जसमध्ये ६७ उजुरी फर्छ्यौट गरिएका छन् भने ९९ उजुरी फर्छ्यौट हुन बाँकी छन् ।  

अछाम जिल्लाबाट ९० भ्रष्टाचारका उजुरी दर्ता भएकोमा १९ उजुरी फर्छ्यौट गरिएका छन्, भने ७१ उजुरीमाथि अनुसन्धान अगाडि बढाइएको छ । यसैगरी, बैतडी जिल्लाका ८० उजुरी अख्तियारमा दर्ता छन् । जसमध्ये, १५ उजुरी चालु आवमा फर्छ्यौट गरिएका छन् भने ६५ उजुरी फर्छ्यौट हुन बाँकी रहेको कार्यालयका सूचना अधिकारी भट्टले बताउनुभयो ।

यसैगरी, दार्चुला जिल्लाका ७४ उजुरी अख्तियारमा दर्ता छन्, जसमध्ये १५ उजुरी फर्छ्यौट गरिएका छन् भने ५९ उजुरी फर्छ्यौट गर्न बाँकी छन् ।  

यसैगरी, बझाङबाट ६७ उजुरी दर्ता भएको सूचना अधिकारी भट्टले बताउनुभयो । उहाँका अनुसार, बझाङका पनि १५ उजुरी फर्छ्यौट गरिएका छन् भने ५२ उजुरीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

यसैगरी, डोटीका ६४ उजुरी दर्ता भएकोमा १३ उजुरी फर्छ्यौट गरिएका छन् भने ५१ उजुरी फर्छ्यौट हुन बाँकी रहेको कार्यालयले बताएको छ । चालु आर्थिक वर्षको हालसम्म सुदूरपश्चिमको डडेल्धुरा जिल्लाका न्यून उजुरी अख्तियारमा दर्ता भएको कार्यालयका सूचना अधिकारी भट्टले बताउनुभयो । उहाँका अनुसार, डडेल्धुरा जिल्लाबाट ५५ उजुरी दर्ता भएकोमा २१ उजुरी फर्छ्यौट गरिएका छन् भने ३४ उजुरी फर्छ्यौट हुन बाँकी छन् ।  

कार्यालयका अनुसार, चालु आवको हालसम्म नयाँ दर्ता भएका चार सय ४४ र जिम्मेवारी सरी आएका गरी अख्तियारमा जम्मा ९०६ उजुरी दर्ता छन् ।

जसमध्ये ६५८ उजुरी फर्छ्यौट हुन सकेको छैन भने २५४ उजुरी फर्छ्यौट गरिएको सूचना अधिकारी भट्टले बताउनुभयो ।

‘‘दर्ता भएका नौ सय ६ मध्ये, दुई सय ५४ फर्छ्यौट भएका छन्,’’ सूचना अधिकारी भट्टले भन्नुभयो, ‘‘६ सय ५८ मुद्दा प्रक्रियाका क्रममा रहेका छन् ।’’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख वेदप्रकाश भण्डारीले एक सय ५० उजुरीमाथि विस्तृत रूपमा अनुसन्धान कार्य अगाडि बढाइएको बताउनुभयो ।

सुदूरपश्चिमका नौ वटै जिल्ला तथा ८८ वटै पालिकामा भएका भ्रष्टाचार, अनियमितता सम्बन्धीका मुद्दा उक्त कार्यालयमा दर्ता हुँदै आएका छन् । आयोगको कार्यालय कञ्चनपुरमा जनशक्ति अभाव रहेको बताइएको छ । हाल कार्यालयमा १५ अनुसन्धान अधिकृत र सहायक अनुसन्धान अधिकृत गरी ६३ जना कर्मचारी कार्यरत छन् । आवश्यक जनशक्ति नहुँदा कार्यसम्पादनमा समस्या भएको कार्यालय प्रमुख भण्डारी बताउँछन् ।