रेमिट्यान्स आप्रवाहमा यस पटक पनि उल्लेखनीय देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार चालु आवको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३९.८ प्रतिशत पुगेको छ । यस्तो वृद्धि आघिल्लो आवको समीक्षा अवधिमा ७.५ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ९७ पैसा र बिक्रीदर १४७ रुपियाँ ५७ पैसा निर्धारण गरिएको छ ।
कुवेत सरकारले घर बिदामा गएका र युद्धका कारण समयमा फर्कन नपाउने नेपालीसहित आप्रवासी श्रमिकका लागि ‘सिभिल आइडी’ को म्याद थपेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार खाडीमा पछिल्लो समयमा विकसित परिस्थितिले तोकेको समय अवधिभित्र कुवेत फर्कन नसकेका आप्रवासी श्रमिकको हकमा ‘सिभिल आइडी’ को म्याद थप गर्ने निर्णय कुवेत सरकारले गरेको हो ।
इलाममा यस वर्षको चियाको पहिलो टिपाइ सुरु भएको छ । चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ लाई उच्च गुणस्तरको चियाका रूपमा लिइने गरिएको छ । फागुन र चैतमा उत्पादन भएको पहिलो टिपाइको चिया उद्योगी र किसानका लागि बर्सैभरको आम्दानीको स्रोत जस्तै बन्ने गरेको छ ।
‘वुमन सर्जनस् अफ नेपाल’ को अध्यक्षमा प्राडा पलेस्वाँ जोशी लाखे निर्वाचित हुनुभएको छ । उक्त संस्थाको वार्षिक साधारण सभाबाट जोशी अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसै गरी साधारण सभाले महासचिवमा प्राडा क्षतेन योन्जन तामाङ र कोषाध्यक्ष डा. सुजिता हिराचनलाई निर्वाचित गरेको छ । यस्तै सदस्यमा डा. माया भट्टचन र डा. नम्रता खड्का निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट निर्वाचित सदस्यले आमनिर्वाचनको जनादेशलाई आत्मसात् गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँहरूले जनता र देशको हितमा आउने विधेयकमा नेपाली कांग्रेसले आगामी सरकारलाई साथ र सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो ।
नेपालमा स्वास्थ्य उपचार महँगो हुने भएकाले बर्सेनि पाँच लाख मानिस गरिबीको रेखामुनि पुग्ने गरेको बताइएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक पाँच लाख नेपाली गरिबीको रेखामुनि पुग्ने गरेको बताउनुभयो । नेपालमा अन्य देशमा भन्दा उपचार सस्तो भए पनि नेपालीको आयस्रोतभन्दा महँगो उपचार र औषधीमा उच्च लागतका कारण नागरिक गरिबीको रेखामुनि गएको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ दुई हजार ८९० उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेकामध्ये कुल ५१६ जना उम्मेदवारले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन् ।
अमेरिकाले हर्मुज जलमार्गमा बारुदी सुरुङ बिछ्याउने १६ वटा इरानी पानीजहाज नष्ट गरिदिएको छ । अमेरिकी हवाई आक्रमणका क्रममा क्षेप्यास्त्र प्रहार गरी ती पानीजहाज नष्ट पारिदिएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
सरकारले विदेशमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि दीर्घकालीन रणनीतिसहित अघि बढ्ने पहल थालेको छ । वैदेशिक रोजगारका सिलसिलामा पश्चिम एसिया, मध्यएसियालगायत विभिन्न मुलुकमा पुगेका नेपाली नागरिक युद्ध, अनलाइन ठगी, भिजिट भिसामा समस्या परेर अलपत्र पर्ने जस्ता विविध कारणले बर्सेनि उद्धार गर्नुपर्ने अवस्था आएपछि दीर्घकालीन रणनीतिका साथ सरकार अघि बढ्ने भएको हो ।
प्रतिनिधि सभा निर्वाचनमा पराजयपछि विघटित प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीभित्र नीति र नेतृत्वका सन्दर्भमा बहस तीव्र भएको छ । विशेष महाधिवेशनबाट आएको कांग्रेस नेतृत्व, नियमित महाधिवेशनबाट आएको एमाले नेतृत्व र महाधिवेशन आयोजक समिति बनाएर निर्वाचनमा गएको नेपाली कम्युनिस्ट पार्टीभित्र नेतृत्व र नीतिका सन्दर्भमा बहस चुलिएको हो ।
सल्यानबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रमेश मल्लले निर्वाचनमा प्रतिस्पर्धा गरेका कुनै पनि उम्मेदवार पराजित नभई सम्मानजनक मत प्राप्त गरेको बताउनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध चाँडै अन्त्य हुने बताउनुभएको छ।
सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिकाले उपत्यकामा वायु प्रदूषण बढिरहेकाले सचेत रहन आग्रह गरेको छ । कामपा वातावरण विभागले वायु गुणस्तर निगरानीका लागि जडान गरिएको यन्त्रले वायुको गुणस्तर १५० भन्दा बढी देखाएकाले सचेत रहन आग्रह गरेको हो ।