गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २८ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ दुई हजार ८९० उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेकामध्ये कुल ५१६ जना उम्मेदवारले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ भाग लिएका कुल तीन हजार ४०६ उम्मेदवारमध्ये दुई हजार ८९० उम्मेदवारको जमानत जफत भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जमानत जफत भएकामध्ये ३५० उम्मेदवारको मतपरिणाम शून्य आएको छ ।”
उहाँका अनुसार खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने र जमानत जफत भएका उम्मेदवारले उम्मेदवारी दर्ताको समय राख्नुभएको धरौटीबापतको रकम फिर्ता नहुने कानुनी व्यवस्था छ । प्रत्यक्षतर्फका उम्मेदवारले १० हजार रुपियाँ धरौटीबापत राख्नुपर्ने हुन्छ । जमानत जफत भएका उम्मेदवारको धरौटीबापतको १० हजार रुपियाँ फिर्ता हुँदैन । त्यो रकम राज्यको ढुकुटीमा जम्मा हुन्छ । जमानत जोगाउन सफल भएका उम्मेदवारले धरौटी रकम फिर्ताका लागि निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ९० दिनभित्र निवेदन दिनुपर्ने हुन्छ ।