• २८ फागुन २०८२, बिहिबार

रेमिट्यान्स ३९.८ प्रतिशतले वृद्धि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २८ गते । रेमिट्यान्स आप्रवाहमा यस पटक पनि उल्लेखनीय देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार चालु आवको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३९.८ प्रतिशत पुगेको छ । यस्तो वृद्धि आघिल्लो आवको समीक्षा अवधिमा ७.५ प्रतिशत थियो ।

विवरण अनुसार यो आवको माघसम्म १२ खर्ब ६१ अर्ब एक करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । माघमा मात्रै एक खर्ब ९८ अर्ब आठ करोड रुपियाँ भित्रिएको छ । गत वर्ष माघमा एक खर्ब ३७ अर्ब ५० करोड रुपियाँ थियो । 

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख २७ हजार ४२४ रहेको जनाइएको छ । रेमिट्यान्स आप्रवाहको वृद्धिसँगै नेपालको विदेशी मुद्रा सञ्चिति पनि बढेको तथ्याङ्कले देखाउँछ । विवरण अनुसार विदेशी मुद्रा सञ्चिति ३३ खर्ब दुई अर्ब ६६ करोड रुपियाँ बराबर छ । गत असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड थियो । पछिल्लो सञ्चिति एक वर्ष छ महिनाका लागि वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ । 

मुद्रास्फीति सहज अवस्थामा

राष्ट्र बैङ्कको तथ्याङ्कले मूल्य वृद्धिको अवस्था (मुद्रास्फीति) सहज अवस्थामा रहेको देखाउँछ । गत आवको पहिलो सात महिनामा मुद्रास्फीति ४.८६ रहेकामा यस वर्ष सोही अवधिमा १.९२ प्रतिशत रहेको छ । गत वर्ष माघमा ४.१६ प्रतिशत रहेको यस्तो स्फीति यो माघमा ३.२५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, घिउ तथा तेलको ७.६१ प्रतिशत र फलफूलको ७.४१ प्रतिशतले बढेको छ । 

दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१९ प्रतिशत, खाद्य तथा खाद्य पदार्थको २.९७ प्रतिशत र मरमसलाको २.६१ प्रतिशतले 

घटेको छ । समीक्षा महिनामा ग्रामीणक्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५२ प्रतिशतले र सहरीक्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.५१ प्रतिशतले बढेको छ ।  

समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत, तराईको ३.६६ प्रतिशत, पहाडको २.६८ प्रतिशत र हिमालको २.५८ प्रतिशत रहेको छ । २०८२ माघमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहँदा सन् २०२६ जनवरीमा भारतमा यस्तो मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ ।