गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २८ गते । राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट निर्वाचित सदस्यले आमनिर्वाचनको जनादेशलाई आत्मसात् गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँहरूले जनता र देशको हितमा आउने विधेयकमा नेपाली कांग्रेसले आगामी सरकारलाई साथ र सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभामा नेपाली कांग्रेसका नवनिर्वाचित र पुराना सदस्यबिचको परिचयात्मक कार्यक्रममा सो दलको संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभामा उपस्थिति कमजोर हुँदा राष्ट्रिय सभामा कांग्रेसमाथि ठुलो जिम्मेवारी आएको बताउनुभयो । सभाका सदस्य पदमबहादुर परियारका अनुसार नेता सिटौलाले निर्वाचनअघिको विषय बिर्सिन आग्रह गर्दै कांग्रेसले राष्ट्रिय सभामा सशक्त भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
सिंहदरबारमा बुधबार भएको छलफलमा सभाका सदस्य कमलादेवी पन्तले गठन भएलगत्तै सरकार आक्रामक रूपमा आउन सक्ने र त्यसका लागि संयमित भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गठन भएलगत्तै सरकारले राष्ट्रपति/उपराष्ट्रपति फेर्ने, प्रदेशका संरचनाबारे पुनर्विचार गर्नेलगायत संविधान संशोधनका मुद्दामा प्रवेश गर्न सक्ने सञ्चार माध्यममा चर्चा भएका छन् । यो चिन्ताको विषय हो ।”
जनताबाट झन्डै दुई तिहाइ मत लिएर आएको दलले सरकार सञ्चालनको सुरुमै जनतालाई रिझाउन र सकारात्मक सन्देश प्रवाह गर्न आक्रामक देखिन सक्ने राष्ट्रिय सभामा कांग्रेसका सदस्यको बुझाइ छ । छलफलपछि सभाका सदस्य परियारले भन्नुभयो, “प्रदेश संरचना, संविधान संशोधनका विषयमा तत्काल प्रवेश गर्नु सही समय नहुन सक्छ । सरकार आक्रामक रूपमा ल्याउने विषय दिगो नहुन सक्छ । तसर्थ सुझबुझ अपनाएर मात्रै यस्ता विषयमा प्रवेश गर्नुपर्ने सदस्यको राय छ ।”
अपरिपक्व रूपमा आउने निर्णयले राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्बन्ध, राज्य संयन्त्रको काम गर्ने शैलीलगायतका विषय खलबलिन सक्ने भएकाले कांग्रेसले यस्ता विषयमा सरकारलाई सचेत गराउने भूमिका निर्वाह गर्नुपर्नेमा सबै सदस्यको एकमत रहेको परियारले जानकारी दिनुभयो ।
सभाका सदस्य रञ्जित कर्णले सरकार चलाउने दलसँग अनुभव नरहेकाले अव्यस्थित र अपरिपक्व रूपले प्रस्तुत हुन सक्ने भएकाले कांग्रेस जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले देश र जनताको हित हुने कानुन निर्माणको विषयमा कांग्रेस सधैँ सरकारसँगै उभिने बताउनुभयो ।
छलफलमा कांग्रेस संसदीय दलको बैठक नियमित गर्नेमा सभाका सदस्य सहमत भएका हुन् । सो कार्यक्रममा नवनिर्वाचित सदस्यलाई विधायन प्रक्रिया, संसद्मा दलको भूमिका, राष्ट्रिय राजनीतिमा भूमिकालगायतका विषयमा छलफल भएको थियो ।