हुलाक टिकटले देशको भूगोल, रहनसहन, संस्कृति, भाषा र कलाको संयोजन गरेको हुन्छ ।
सहकर्मी बालकृष्ण बस्नेत र म मेडिकल काउन्सिलकी तत्कालीन प्रशासन प्रमुख अनिता लामाको कार्यकक्षमा थियौँ ।
सङ्घीय सरकारले बिहीबार आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ ।
केशव राज भट्ट(बासुलिङ्ग) बैतडी, जेठ १७ गते । बैतडीको सुर्नया गाउँपालिका–५ बिष्टपालीमा मिनी ट्रकको ठक्करबाट पैदल हिँडिरहेका एक वृद्धको मृत्यु भएको छ ।शुक्रवार बेलुकी धनगढीबाट बिष्टपालीतर्फ जाँदै गरेको सुपप्र ०१(००१ क १८१३ नम्बरको मिनी टाटा ट्रक सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा ब्याक गर्ने क्रममा सोही स्थानका ८१ वर्षीय महावीर बिस्टलाई ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका बिस्टलाई तत्काल उपचारका लागि धनगढी ल्याउने क्रममा राति करिब पौने १० बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो । दुर्घटनापछि मिनी ट्रक र चालक सूर्नया गाउँपालिका–२ ग्वानी बरभएका ३१ वर्षीय मानसिंह बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिस्टको शव पोस्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
नेकपा (एमाले) कालीकोटले जिल्लाको खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा पहिरो जाँदा तीन महिनादेखि अवरोध भएको सडक खुलाउन जिल्ला प्रशासन कार्यालय कालीकोटलाई ध्यानाकर्षण गराएको छ ।
सङ्घीय सरकारले बिहीबार प्रस्तुत गरेको बजेटले सुदूरपश्चिम प्रदेशका जनता उत्साहित भएका छन् । सामान्यता बजेटमा मुलुकका जल्दाबल्दा समस्या सम्बोधन गर्दै आगामी दिनमा देशलाई उन्नति र प्रगतिको बाटोतर्फ डो¥याउने प्रयास गरिन्छ ।
कविराज घिमिरे हिले, जेठ १७ गते । अविरल वर्षाका कारण कोशीराजमार्गको भेडेटार मुलघाट खण्ड अवरुद्ध भएको छ । कोशी राजमार्गको दुई स्थानमा सडक भत्किएको छ । शनिवार बिहान करिब ५ः३० तिर फेदीस्थित लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेपछि उक्त खण्ड दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटिइसकेको छ र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, सोही खण्डको नमस्ते झरना छेउमा रुख ढलेर र माथिबाट आएको पहिरोका कारण पुनः सडक अवरुद्ध भएको छ । घटनापछि इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा प्रहरी र नेपाली सेनाका १० जनाको टोली खटिइरहेको छ । प्रहरीका अनुसार दुवै स्थानमा सडक खुलाउन तत्काल पहल भइरहेको छ तर निरन्तर वर्षाका कारण चुनौती रहेको बताइएको छ । दुबै स्थानमा सडक भत्किए पछि कोशी पहाडबाट नराई तथा काठमाडौँ जाने तथा तराइवाट कोशी पहाड जाने सबारी साधन बाटैमा रोकिएका छन् । त्यस्तै तमोर कोरिडोर पनि अवरुद्ध भएको छ । धनकुटा चौबिसे गापा ४ निर्माणधिन तमोर कोरिडोर सडक खण्डको छरुवा खोलमा बाढी अउदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको हो । अर्थमन्त्री पौडेलले बिहीबार संसद्मा प्रस्तुत गर्नुभएको नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेटमा यही क्षेत्रमा एक दर्जनभन्दा नयाँ तथा पुराना योजना परेका छन् ।
डा प्रकाश बुढाथोकीकाठमाडौँ, जेठ १७ गते । विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्र्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् । विश्वका विभिन्न देशमध्ये नेपाल धूम्र्रपान सेवन गर्नेमा अग्रस्थानमा छ । नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एक पटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ । अरु त अरु २५ प्रतिशत शहरी क्षेत्रका गर्भवतीले पनि धूम्र्रपान गरेको पाइन्छ । ७७ प्रतिशत भन्दा बढी महिला, ८९ प्रतिशत भन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सेवन गर्ने गरेको अनुमान छ मेरो दुई हजार १३९ विभिन्न कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरमा आएकाको मुख परीक्षण गर्दाको ।अम्मल सुर्तीजन्य पदार्थको सेवन सारा विश्वको लागि टड्कारो समस्या बनिरहेकोमा नेपाल अछुतो रहने कुरा भएन । यसैमा अझ विगत १५ वर्षमा सुर्तीजन्य पदार्थको खपत एकहजार २०० गुणाले बढ्दा उत्पन्न शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक र वातावरणीय असर सम्झँदा नै कहाली लाग्ने भएको छ । यिनै समस्याहरूको समाधानमा सहयोग पु¥याउन सुर्ती सेवनबाट उत्पन्न जटिलताहरू, खतरा, सुर्ती एवं चुरोट उत्पादक कम्पनीहरूको व्यापारिक नीति तथा सुर्ती मन्दविष र कडा लागुपदार्थ हेरोइन, कोकिनको प्रवेशद्वार भएको वारे आमनागरिकलाई जानकारी गराई सुर्ती सेवन निरुत्साहित पारी अहिलेको डरलाग्दो अवस्थालाई कम गर्न वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनद्वारा हरेक वर्ष मे ३१ मा बिश्व धूम्र्रपानरहित दिवस मनाइने गरिन्छ ।धूम्र्रपान भन्नाले के बुझिन्छ ?सुर्तीजन्य वनस्पति प्रमुखतर्या “निकोटीयना रस्टीका र निकोटीयना टोवाकम”को पात सुकाएर सिधै वा विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी वा प्रशोधनपछि अन्य तत्वहरू मिलाएर प्याकेटमा राखी बनाइएका चुरोट, विडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खा इत्यादिमा हुने निकोटिन नामक रसायनिक पदार्थलाई कुनै पनि माध्यम चाहे मुख, म्युकोसा, नाक वा छालाबाट होस शरीरले ग्रहण गर्नु वा अवशोषित गर्नुलाई धूम्र्रपानको सङ्ज्ञा दिइन्छ । यो धुवाँ सेवनमात्र नभएर सुर्ती सेवन हो र एक प्रकारले दुव्र्यसन हो ।सुर्ती सेवन कुन कुन रूपमा गरिन्छ त ?सुर्ती धुवाँको रूपमा वा धुवारहितका विभिन्न रूपहरूमा खाने गर्ने गरिन्छ । धुवाँको रूपमा – नेपालमा ५५ प्रतिशत नागरिकले धुवाँको रूपमा सुर्ती सेवन गर्दछन् । आर्थिक हैसियतअनुसार सिगार, चुरोट, विडी, चिलम, तमाखु, ककड, पाइप त्यसैमा अझ घरानीया र बुढाबुढी छन् भने हुक्का, हुकली, चुट्टा, घुम्टीको रूपमा सुर्ती सेवन गर्दछन् । गाउँका महिलाहरू जो बच्चाका आमा हुन्छन् उनीहरूले चुरोट, बिडी उल्टोमुखी सेवन गरेको पाइन्छ । धुवाँरहित रूपमा–हाम्रो मुलुकका ४५ प्रतिशत नागरिकले सुर्ती धुवाँरहित रूपमा प्रयोग गर्दछन् । आजकलका युवावस्था र केटीहरूमा यस्तो रूपको धूम्र्रपान सेवन बढी नै देखिन्छ । यसमा चपाएर प्रयोग गर्ने सुर्ती – पानसँग, सुपारीसँग वा सुर्ती मात्रै जस्तै जर्दा, मावा मुखमा राखी रस लिने÷चुस्ने सुर्ती – जस्तै खैनी, मैनपुरी सुर्ती, नास, निस्वार, सुर्ती र चुन ।दाँत गिजा वा मुखका अन्यमा भागमा लेप्ने सुर्ती – जस्तै बजार दाँत सफा गर्न ९मंजनको रूपमा० प्रयोग गरिने सुर्ती – जस्तै गुल, गुडाखु, मिश्री, मसेरी र वास÷गन्ध लिने सुर्ती – जस्तै स्नफजस्ता थुप्रै रूप र नामले सुर्तीको सेवन गरेको पाइन्छ नेपालमा ।नकारात्मक असरएक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट हरेक वर्ष १ महिना र ५० वर्षमा चार वर्ष घटाउँछ । त्यसैमा पनि धूम्र्रपानकर्ता जति वर्ष बाँच्छ, उक्त समयभर पनि कष्टरहित र गुणस्तरयुक्त जीवन बाँच्न सक्दैन । वरीपरी बस्ने मानिसलाई पनि खराब असर पु¥याउँदछ । कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूम्र्रपान नै हो । यसले २५ किसिमका विभिन्न रोगहरू प्रत्यक्ष किसिमले र विभिन्न दुई तिहाइजति क्यान्सरहरू बनाउँछ । सुर्ती सेवनले नकारात्मक असर नपार्ने शरीरको कुनै पनि अङ्ग, तन्तु र रोग नभएको जानकारी छ । दाँत, छाला र औँलाहरू निकोटिनले पहेंला त्यसपछि कालो बनाउँछ । रक्तनली एवं भल्भमा निकोटिन जम्दै जाँदा बोसोको मात्रा बढ्दै जाँन्छ । साँघुरिँदै जान्छ । धूम्र्रपानले मायोकार्डीयल इन्फाकेशन, हटफेल र हृदयाघात हुने संभावना तीन गुणा बढाउँछ भने मुटुसम्बन्धी रोगहरू पाँच गुणा बढी हुन्छ । खुट्टामा थोम्ब्रोएण्जाइटिस अवलीटेरन्स हुन्छ । छाती सम्बन्धी रोगहरू दम, खोकी बढ्ने, टिबि ९क्षयरोग० निमोनिया, ब्रोङकाइटिस, जीर्ण फोक्सोगत रोगहरू र चाहिने अक्सिजन लिन नसकी स्याँ स्याँ हुन्छ । घुर्ने समस्या बढाउँछ । शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ । श्रवणशक्ति कमजोर बनाउँछ, दिमागको कोषलाई असर पारी आई।क्यू लेबल पनि घटाउँछ । समयपूर्व नै छालामा चाउरी पर्ने गराउँछ । कम निद्रा लाग्ने, सुत्दा निद्रा नलाग्न, औषधिले काम नगर्ने, औषधि विरुद्ध अवरोध सृजना गराउने गर्दछ । धूम्र्रपान नगर्नेलाई भन्दा गर्नेलाई क्यान्सर हुने अधिक संभावना रहन्छ । हुने गरेका क्यान्सरमा ९० प्रतिशत भन्दा बढी मुखको क्यान्सर, ८५ प्रतिशत फोक्सोको क्यान्सर, स्वरयन्त्र, अन्ननली, मुत्राशय, पित्ताशय, आमाशय, छालाको, पाठेघर, स्तनको क्यान्सर,पेटको, मिर्गौला को फियोको क्यान्सरको कारक धूम्र्रपान नै पाइएको छ । जम्मा क्यान्सरमध्ये ६५ प्रतिशत धूम्र्रपानले नै गराउँछ। पुरुषमा नपुंशकता र महिलामा बाँझोपन, मांशपेशी कमजोर, हाड कमजोर, मोतिया विन्दु, चपाउने सुर्ती प्रयोग गर्नेमा पेट दुख्ने, पटक पटक थुकिरहनुपर्ने, पेट बोकेकी आमामा शारीरिक र मानसिक रूपमा असक्षम कमजोर, रोगी र अंगभंग बच्चा जन्मने, समयपूर्व बच्चा जन्मने, बढी गर्भपतन, जन्मेको बच्चा २८ दिनमै मर्ने, कम तौलको बच्चा, बालमृत्यु दर बढी, असफल गर्भाधानको प्रबल संभावना । खेलाडीमा चाँडै थाक्ने र स्टामिना घटाउँदछ । ३० वर्षको धूम्र्रपानकर्ता र ४२ वर्षको धूम्र्रपान नगर्नेले १६ किलोमिटर बराबर समयमा पुरा गर्दछन् । एक चुरोट प्रतिदिनले, ४० सेकेण्ड दौड्ने क्षमता कम गराउँदै लगेको वैज्ञानिक पुष्टि पनि छ । छोरा हुने संभावना घटाउँछ । क्रोमोजोमलाई निकोटिनले असर पारी पुरुषको प्रजनन् क्षमतामा कम, शुक्राणु नोक्सान र महिलाको पाठेघरमा नरभ्रुण बस्न नदिने अवस्था ल्याउँछ ।। कपाल र लुगा फोहोर हुने, तालु खुइलिने, कपाल झर्ने, छाला पत्रिंदै फुस्रो हुने ९सोरियासीस०, अनुहारको चमक हराएर चाँडै चाउरी पर्ने, ओठ सुख्खा, नीलो वा कालो भई सुन्दरता नष्ट भई कुरूप बनाउँछ । धूम्र्रपानले मष्तिष्कमा रक्तश्राव गराउनसक्छ र पक्षघात भई मृत्यु हुन सक्छ । खानामा रुची कमी, पेटमा अल्सर, पेटमा गडबडले गर्दा कुपोषण हुन्छ । दम, खोकी, स्याँ–स्याँ र कमजोरीका कारण कामबाट वन्चित भै अम्मली गरिबीको दलदलमा फस्दछन् ।। मासिक श्रावमा गडबडी, स्नायु नशा तथा धमनी सुन्निने, मधूमेह बनाउँछ । निकोटिनको दीर्घकालीन असर हातखुट्टामा पनि परी हातखुट्टामा बढी जाडो महसुस गरेको, औंला र जोर्नी दुखेको तथा बर्गर रोग लागेको देखीन्छ । सुर्तीमा के छ र यति धेरै रोग लगाउन सक्ने ?सुर्तीलाई परापूर्वकालमा औषधीको रूपमा, घरानियाको प्रतिकको रूपमा र धार्मिक रूपमा प्रयोग गरिएता पनि प्राचीनकालमा नै यसका बेफाइदा थाहा भइसकेको कुरा प्राचीनकालमा टर्कीमा धूम्र्रपान गर्नेलाई मृत्युदण्ड दिने चलन र रुसका राजा जारहरूद्वारा धूम्र्रपान गर्ने प्रजाहरूलाई कोर्रा लगाउने, नाक काटिदिने र साइबेरिया पठाइदिने प्रथाबाट प्रष्ट हुन्छ तर वैज्ञानिक आधार पत्ता लागेको ५० वर्ष मात्र भएको छ ।अप्रशोधित सुर्ती वा ककडमा २५०० भन्दा बढी रसायनिक तत्व हुन्छन् भने ४३ तत्वहरू कार्सीनोजन हुन्छन् । यही सुर्तीलाई धुवाँको रूपमा सेवन गर्दा ४००० रसायन हुन्छ । जसमा ४०० विषालु पदार्थ ९५ प्रतिशतभन्दा बढी ग्यासहरू र ६० भन्दा बढी क्यान्सर बनाउन सक्ने तत्वहरू हुन्छन् । त्यस्तै अन्य तत्वसँग मिसाउँदा जस्तै चुना प्राणघातक रोग तथा क्यान्सर लाग्ने खतरा धेरै बढाउँछ ।उक्त कार्सीनोजन तत्वहरूमा टोबाको स्पेसिफिक नाइट्रसअमाइन, पोलीन्युक्लीयर एरोमेटीक हाइड्रोकार्वन, टार, खोटो फेनोल, क्रेसोल, क्याटेकोल, न्याप्थुलअमाइन, बेन्जोपाइरिन, हाइड्राजिन, भिनाइल क्लोराइड, निकोटिन, कार्वनमोनोअक्साइड, कार्वनडाइअक्साइड, नाइट्रोजनका अक्साइड, साइनाइड, फर्मलडीहाइड, ट्रेस धातुहरू, निकल, आर्सेनिक, पोलोनियम–२१० इत्यादि पर्दछन् । प्रमुख प्राणघातक रसायनमा निकोटिन, खोटो र कार्वनमोनोअक्साइड पर्दछन् । एसीटोन, एमोनिया, आर्सेनिक, वेन्जीन, फर्मालीन जस्ता तत्वहरूले चुरोटको धुवाँमा रहेको विषाक्ततालाई थप उर्जा दिन्छन् ।धूम्र्रपान विरुद्धमा नेपालमा के गर्नुपर्ला त ?धूम्र्रपानले व्यक्ति, समाज, परिवार र राष्ट्रलाई नै अधोगति गराउने हुनाले यसको विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्दछ । नेपालमा धूम्र्रपान विरुद्धको अभियानमा निजी, सरकारी, गैरसरकारी, सङ्घसंस्था थुप्रै लागेका छन् तर तिनमा सामन्जस्यको कमी छ भने यस अभियानको दायित्वबोध सबै सङ्घसंस्था, संचारमाध्यम र तपाई, म, हामी सबै नागरिक समाजले नगर्दा यो प्रभावकारी रूपमा अगाडि बढ्न सक्दैन । धूम्र्रपान जस्तो समाजको साझा समस्यालाई सामुहिक पहलबाट सामाजिक बहिस्कार गर्ने, धूम्र्रपान विरुद्ध अभियानलाई निरन्तर प्रक्रियाका रूपमा वर्षको ३६५ दिन नै सक्रिय रूपमा अघि बढाउनु पर्छ । विद्युतीय संचार माध्यममा २०५५ फाल्गुण ७ देखि धूम्र्रपानसम्बन्धी विज्ञापनमा रोक भए पनि सबै संचारका माध्यममा सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउनुपर्छ । धूम्र्रपान सम्बन्धी विज्ञापन वोर्डहरू, होर्डिङ्ग वोर्डहरू, सम्पूर्ण छापा, भित्ते पोष्टरमा बन्देज गरिनु पर्दछ । स्कुलको पाठ्यक्रममा धूम्र्रपानबाट हुने हानीबारे पाठ्यसामग्री बढाउनु पर्छ किनभने धूम्र्रपानको लत स्कूले उमेरबाट नै सुरु हुन्छ । विद्यार्थीलाई दिइएको शिक्षाले उसको ५० वर्षको जीवन स्वस्थ र सुरक्षित रहन्छ ।उपचारमा ठूला ठूला अस्पताल तथा भरतपुर र भक्तपुर क्यान्सर अस्पताल प्रमुख भए पनि देशका पाँचै विकास क्षेत्रमा सहायक केन्द्र हुनु पर्ने तथा स्वास्थ्यचौकी, अस्पताल र सार्वजनिक स्थलमा सुर्ती सेवनका बेफाइदाबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनु पर्दछ । । ठूला व्यक्तिहरू, आदर्श व्यक्तिहरूद्वारा सेवन नगरिदिने गर्दा पनी अम्मलमिा न्युनीकरण हुनसक्छ । बच्चाहरूले देखासिकीमा बाबुआमा, दिदी, दाई, नायक, नायिका, खेलाडी, मोडेलबाट सिक्दछन् । सुर्तीजन्य पदार्थमा लाग्ने करमा वृद्धि गरेर वा स—साना प्याकेट र फुटकरमा किनमेल गर्न नपाइने बनाउदा पनि अम्मलीको र बालबालिकाको सङ्ख्या घटाउन सकिन्छ । चुरोटको सेवनलाई घटाउन वा निरुत्साहित गरिदिने एउटा विकल्प त्यसको मूल्यलाई चर्को बनाइदिने पनि हुनसक्छ । विश्व बैंकका अनुसार चुरोटको मूल्यमा हुने १० प्रतिशत बृद्धिले मात्रै पनि उच्च आय दर भएका मुलुकहरूमा ४ प्रतिशत र कम तथा मध्यम आयदर भएका मुलुकहरूमा ८ प्रतिशतले त्यसको खपतमा कमी आउने गर्छ । त्यसरी १० प्रतिशत मात्रै मूल्यवृद्धिले पनि करिब ४ करोड २० लाख मानिसहरूले धूम्र्रपानको लत छोड्ने र त्यसको परिणाम स्वरूप कम्तिमा १ करोड मानिसहरू चुरोट सम्वद्ध रोगका कारण मर्नबाट बच्नेछन् । बालबालिकालाई ओसार पसार, विक्री वितरण र खरिदमा हुने संलग्नतामा निषेध गरिनु पर्दछ । अभियानकै रूपमा सडक बालबालिका, खाते र जोखिम समूहलाई लक्षित गरी कार्यक्रम चलाइनु पर्दछ । सार्वजनिक स्थलमा धूम्र्रपान बिक्री वितरण गर्नेलाई कारवाही, दण्ड र सजायको कार्यान्वयन गरी भागीदार गरिनु पर्दछ । निःशुल्क स्वास्थ्य शिविर, सहकारी, सरकारी र गैह्र सरकारी संस्थाहरूबाट बेला – बेलामा गरिने कार्यक्रमको आयोजना शहरी क्षेत्रमा मात्र नभई गाउँ – गाउँमा र धेरै सङ्ख्यामा गरी धूम्र्रपानलाई निरुत्साहित पार्नु पर्दछ । आवश्यक सरसुविधा पूर्वाधार र दरबन्दीको व्यवस्था गरी डेन्टल र मेडिकल डक्टर गाउँ – गाउँमा जाने वातावरण बनाइनु पर्दछ । जसले एकातिर धामी झा“क्री, झोले डाक्टर र नक्कली डाक्टरको विगविगी घट्ने र उनीबाट ठगिएका जनताले गुणस्तर र सर्वसुलभ उपचार पाउने छन् भने अर्कोतिर रोजगारी नपाएर डक्टर भौतारिनु र विदेशिने अवस्थाको अन्त्य हुने छ । सुर्तीजन्य पदार्थ सेवनबाट बच्न अम्मली स्वयंकै दृढ संकल्प र उच्च मनोबल चाहिन्छ । कुलतबाट छुटकारा पाउन परिवारजनले महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्दछ । आफूलाई सकेसम्म व्यस्त राख्दा यस्ता लतमा ध्यान जादैनन् । सकेसम्म एक्लै वस्नु हुँदैन, परिवार र साथीस“ग बसी छलफल गर्ने गर्नुपर्दछ । साथीलाई समेत कुलतबाट छुटकारा पाउन सल्लाह दिनु पर्छ । कुलतबाट मुक्त हुन कुनै विशेष तिथिमिति जस्तै जन्मदिन, नया“ वर्ष वा प्रेरक व्यक्तित्वको जन्म दिन पारेर प्रतिज्ञा गर्नु पर्छ । उक्त अठोट बारेमा सकेसम्म धेरै साथी वा परिवारजनलाई बताएर मनोवल बढाउन सकिन्छ । सुर्ती सेवनमा निर्भर भइसकेकाहरूको उपचार ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ बाट गर्न सकिन्छ । अन्तमा, धूम्र्रपानले स्वास्थ्यमा प्रतिकुल असर पार्छ नै त्यति मात्र नभई आर्थिक, सामाजिक, पारिवारिक र वातावरणीय दृष्टिकोणले पनि ठूलो नोक्सानी पु¥याउँछ । सुर्ती रोपेदेखि सुर्तीजन्य पदार्थहरू उत्पादन गर्ने क्रममा कैयन कामदारहरू अम्मली बन्दछन् जसबाट अम्मली व्यक्तिको खर्च बढी परिवारको लागि आवश्यक गाँस, बास र कपासको व्यवस्थापनमा असर पार्दछ र कलह निम्त्याउँछ । फलस्वरूप सामाजिक कुसंस्कारमा फस्न सक्दछन् । सुर्तीजन्य पदार्थले कम्पनीलाई मुनाफा, राष्ट्रलाई राजश्व दिन्छ तर अम्मलीलाई केवल कष्टकर प्राणघातक रोगहरू र मृत्यु मात्र दिन्छ । (लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहसचिव एवं प्रवक्ता हुनुहुन्छ)
समाजमा यतिबेला नैराश्यता व्याप्त छ ।
शक्ति भक्तिमा हुन्छ, भक्ति सत्यमा हुन्छ । सत्य निष्ठावान्बाट शान्ति पाइन्छ, शान्तिबाट मनस्थितिमा ऊर्जा आउँछ ।
सुर्खेत, जेठ १७ गते । ‘सुर्खेत बुलबुले ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भर्नुभएको रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सर्खेतको पहिचान बन्यो । यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो । मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत सुर्खेत बुलबुले तालको नाम जनजनका मनमनमा पुगेको थियो ।अहिले जस्तो यातायातको सुविधा र देशभित्रै भ्रमणको संस्कारको विकास नभइसकेको अवस्थामा सुर्खेत आएर बुलबुले तालबारे जानकारी दिने अवस्था पनि थिएन । तर रेडियो नेपालमा बारम्बार गुञ्जिरहने हुँदा गीतको भाका र शब्द अधिकांशको जिब्रोमा झुण्डिएको थियो । एउटा गीतमा कोरिएको सामान्य शब्द र त्यसमा मिसिएको लयमात्रै पनि सन्देश प्रवाहका लागि कति महत्वपूर्ण हुन्छ उदाहरण यो गीत बनेको थियो । यो गीतले सुर्खेत र बुलबुले ताललाई विश्वभर चिनायो भन्दा अत्युक्ति हुँदैन होला । त्यसैले त अहिले सुर्खेत पुग्ने जो कोहीको ‘बकेट लिस्ट’मा बुलबुले ताल सुरुको नम्बरमा हुन्छ । करिब ५० वर्षअघि रेकर्ड भएको त्यो गीतपछि बुलबुले ताललाई लिएर कैयौँ गीत बने । विसं २०६२ मा चलचित्र बन्धकीको एउटा गीत यहीँ छायांकन गरियो । तर त्यसयताका वर्षमा संरक्षण नहुँदा अस्तित्व गुमाउने अवस्थामा पुगेको बुलबुले उद्यानले पछिल्लो समय तालमा मोटरबोट सञ्चालनमा भएपछि यसले पुनःजीवन पाएको छ ।विसं २०२९ सालमा राजा वीरेन्द्रको भ्रमणपछि बुलबुले तालको विशेष संरक्षण सुरु गरिएको थियो । सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो क्षेत्र मानिसका लागि प्रकृतिमा रमाउने गन्तव्यमात्रै नभइ चराचुरुंगीको बासस्थान पनि हो । अझै पनि मानिसहरु नुहाउन र कपडा धुनका लागि बुलबुले गर्दै जमिन मुनीबाट आउने पानीमै निर्भर छन् ।वीरेन्द्र्रनगरपालिकाका प्रमुख मोहनमाया ढकाल ९भण्डारी०का अनुसार बुलबुले तालमा मोटरबोट सुरु भएपछि यहाँको पर्यटकीय विकास मात्रै भएको छैन, यसले यहाँको आर्थिक गतिविधि पनि चलायमान बनाएको छ । “बुलबुले ताल यहाँको पहिचान हो, सुर्खेत नआउनेहरुले पनि बुलबुले ताल सुनेका छन्, त्यसैले यहाँ आउने जो कोही पनि एकपटक बुलबुले ताल पुग्छन्”, उहाँले भन्नुभयो ।बुलबुले तालमा मोटरबोट चल्न थालेपछि नगरपालिकाको आम्दानी मात्रै बढेको छैन, बुलबुले तालमा आश्रित भइ आम्दानी गर्नेहरुको संख्या पनि बढेको छ । नगरप्रमुख ढकालका अनुसार विगतका वर्षमा बुलबुले ताल परिसरबाट मुस्किलले रु २५ लाख राजस्व संकलन गर्ने गरेकामा अहिले त्यो झण्डै एक करोडको हाराहारीमा पुगेको छ । “पहिलो बुलबुले ताल परिसरमा जानेहरुसँग टिकट बिक्रीबाट मात्रै राजस्व सङ्कलन हुन्थ्यो भने अहिले मोटरबोटबाट वार्षिक रु १३ लाख, फोटो खिच्नेहरुबाट बोलकबोल प्रक्रियामार्फत वार्षिक रु १२ लाख आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक मोटरबोट सञ्चालनमा आएकै कारण त्यहाँ जानेहरु बढेका छन्, यसबाट कैयौँ युवाहरुका लागि रोजगारी पनि सृजना भएको छ ।” मोटरबोट सञ्चालनमा आएपछि तस्बिर खिच्नकै लागि १० देखि १५ जना युवाहरु क्यामरा बोकेर दिनभरी बुलबुले परिसरमै बस्छन्, उनीहरुका ग्राहक बुलबुले आउने पर्यटक बनेका छन् । जसबाट उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।नगरप्रमुख ढकालका अनुसार सुर्खेतमा अध्ययन गरिरहेका करिब ८० हजार विद्यार्थी, यहाँ आउने पर्यटक तथा स्थानीयका लागि बुलबुले पहिलो रोजाइको गन्तव्य बन्दै गएको छ । बुलबुले ताल हेर्न आउनेहरु एतिहासिक काक्रेविहार, लाटिकोइली देउती बज्यैलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्य पनि चलायमान भएका छन् । यहाँका मानिसका लागि पहिले समय बिताउनका लागि कुनै प्राकृतिक वातावरणका लागि काक्रेबिहारसम्म पुग्नुपर्ने अवस्थामा अहिले बुलबुले उद्यानमा घण्टौ बिताउन मिल्ने अवस्था बनेको छ । जमिन मुनीबाट बुलबुले गर्दै पानी आउने भएकाले यसको नाम बुलबुले ताल रहनगएको यहाँका जानकार बताउँछन् । मानिसहरु यही पानीमा नुहाउन र कपडा धुन थाले । पानी जम्मा हुँदै गएपछि नजिकै पोखरी बन्यो । मानिसहरु यही पोखरी हेर्न आउन थालेपछि भने फोहोर पनि बढ्दै गयो । संरक्षणको अभावमा पोखरीमा पानीभन्दा बढी फोहोर थुप्रियो । झारहरु पलाए भने पोखरीको अस्तित्व नै मेटिने अवस्थामा पुग्यो । सरकारी स्तरबाट पटक संरक्षणको प्रयास भए पनि यसले पुनःजीवन पाउन सकेन ।नगरप्रमुख ढकाल बुलबुले उद्यानलाई संरक्षण गर्दै यसको विकासमा काम गर्न लागिएको बताउनुहुन्छ । अहिले नुहाउने र कपडा धुने ठाउँलाई अन्यत्रै सार्ने योजना बनाइएको छ भने नजिकै पिकनिक स्थल पनि बनाइनेछ । यसले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने उहाँको विश्वास छ । संरक्षणको अभावमा अस्तित्व नै संकटमा परिसकेको अवस्थामा बोटेबोरा कम्पनीका सञ्चालक बीबी ढकालले यहाँ मोटरबोट सञ्चालन गर्ने योजना बनाउनुभएको थियो । त्यसअघि नारायणी नदी, नेपालगञ्जलगायतका स्थानमा मोटरबोट सञ्चालन गरिसकेको अनुभवी ढकालले बुलबुले ताललाई संरक्षण गर्दै मोटरबोट सञ्चालनको योजना बनाउनुभएको थियो । उहाँले यसका लागि त्यहाँ जनप्रतिनिधि र सरोकारवालासँग कुराकानी गर्नुभयो । उहाँहरुबाट सकारात्मक जवाफ प्राप्त भएपछि मात्रै ढकालले ताल सफा गर्नतर्फ लागेका थिए । “सुरुमा डोजरको प्रयोग गरी सफा गर्ने प्रयास भयो, तर काम लागेन, कैयौँ पटक प्रयास गर्दा पनि पोखरी सफा गर्ने अवस्था बनेन”, उहाँले सुरुआती दिन सम्झँदै भन्नुभयो, “केही सीप नलागेपछि म आफै पोखरीभित्र पसेर फोहोर बाहिर निकाल्न थाले, त्यसपछि पोखरी सफा गर्ने आइडियो फु¥यो ।” तालमाा भएको फोहोर निकालेपछि पानीको सतह घट्न थाल्यो, त्यसैले अहिले पानी कम हुँदा मोटरबोट सञ्चालनमा केही समस्या भने भएको उहाँको भनाइ छ ।सञ्चालक ढकालका अनुसार लामो समय ‘डेड लेक’ का रुपमा रहेको यो ताल अहिले ‘भाइब्रेन्ट’ भएको छ । यसले यहाँको पर्यटकीय र आर्थिक गतिविधि चलायमान बनाएको छ । “सहर नजिकै भएर पनि होला, मानिसहरुका लागि यो रिफ्रेस हुनका लागि उपयुक्त गन्तव्य बनेको छ, अहिले हरेक दिन घुम्न, रमाउन, तस्बिर लिन, व्यापार गर्न तथा अध्ययन गर्नका लागि आउनेको संख्या बाक्लो हुँदै गएको छ”, ढकालले भन्नुभयो ।अध्यक्ष ढकालका अनुसार ताल फोहोर र जलकुम्भीले भरिएको थियो । “ताल सफा गर्नका लागि एक हजार ८६० जना व्यक्तिको श्रम खर्च भएको छ, अहिले सरर मोटरबोट चलिरहेको ताल देखिए पनि त्यो बेला यस्तो हुन्छ भन्ने कल्पना नै थिएन, हामी सुरुआती समयमा अनिश्चिततामा लगानी गरिरहेका थियौँ”, ढकालले भन्नुभयो ।बोटेबोरा कम्पनीले आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेबापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता गरेको छ । तालमा अहिले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्रान्डका मोटरबोटमार्फत सेवा दिइरहेको छ ।नगरपालिकाले बुलबुले तालमा मोटरबोट सञ्चालनका लागि बोलपत्र आह्वान गरेको थियो । जसमा ढकालको कम्पनी छनोट सूचीमा दोस्रो नम्बरमा थियो । पहिलो नम्बरको कम्पनीले आवश्यक कागजपत्र बुझाउन नसकेको र मोटरबोट सञ्चालनको अनुभव पनि नभएपछि बोटेबोराले अनुमति पाएको ढकालको भनाइ छ । सुर्खेत उपत्यका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले बुलबुले ताल सफाइ गरी मोटबोट सुरु भएपछि मानिसहरुका लागि गन्तव्य बन्दै गएको बताउनुभयो । “सुर्खेतको जनसङ्ख्या र बाहिरबाट आउनेहरुको संख्या बढ्दै जाँदा यहाँको जनघनत्व बढ्दो छ, मानिसहरुलाई दिनभरी काम गरेर रमाउने ठाउँको कमी बुलबुले तालले पूरा गरेको छ”, उहाँले भन्नुभयो, “पहिले ताल सफा नहुँदा निकै कम मानिसहरु मात्रै त्यहाँ जान्थे भने अहिले दैनिक हजारौँ व्यक्ति त्यहाँ जान थालेका छन्, एक प्रकारले भन्दा बुलबुले तालमा मोटरबोट सुरु भएपछि यहाँको स्वरुप नै फेरिएको छ ।” मोटरबोट सुरु भएपछि स्थानीय मात्रै होइन बाहिरबाट आउने पर्यटकको संख्या पनि ह्वात्तै बढेको उहाँको बुझाइ छ । उहाँका अनुसार कर्णालीको गेटवे मात्रै नभइ प्रदेश राजधानी पनि भएकाले यहाँ मानिसहरुको चहलपहल भइरहन्छ, उनीहरुका लागि बुलबुले ताल जस्ता पर्यटकीय गन्तव्यले बसाइ लम्ब्याउन र एक पटक भए पनि त्यहाँ गएर तालमा बोटिङ गर्न आकर्षित गरिरहेको छ । “विगतमा पनि ताल संरक्षणका लागि प्रयास नभएका होइनन्, सरकारको लगानीमा सानो ताललाई विस्तार गर्ने काम पनि भयो तर त्यसले पूर्णता पाएन, विस्तार राम्रो नभएपछि फूटबल मैदान जस्तो भयो, सामाजिक सञ्जालमा पनि ताल हो कि फूटबल मैदान हो भन्दै व्यंग पनि गर्ने काम भयो”, उहाँले भन्नुभयो, “नयाँ सरकार आएपछि यसलाई जसरी पनि तालकै रुपमा संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले काम भयो, नगरप्रमुखले पनि राम्रो साथ दिनुभयो ।”
बागलुङ, जेठ १७ गते । निसीखोला गाउँपालिका–६ का ६७ वर्षीय भागविर घर्ती मगरले भेडापालनमा लागेको ५८ वर्ष भयो । नौ वर्षको उमेरदेखि भेडापालनमा लाग्नु भएका उहाँ अहिले पनि उस्तै तगडा हुनुहुन्छ । उहाँका भेडाका बथानमा २०० को हाराहारीमा पाठापाठी र माहुँ भेडा छन् । गत असोज दसैँ मान्नका लागि बेसी झर्नु भएका किसान घर्ती लेक उक्लिने तरखर गर्दै हुनुहुन्छ । उहाँका लेकमा बस्ने धेरैजसो गोठाला साथी लेक उक्लिसके । जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी उकाल्न थालेपछि अहिले तल्लो क्षेत्र सुनसान बनेका छन् । यति बेला बागलुङको रिग क्षेत्र, खोलाखानी, सोडेडाँडा, पातीहाल्नेलगायतका ठाउँमा गाईभैँसी, भेडाबाख्रा, भोटे कुकुरसँगै गोठाला किलादाम्ला र खर्चपर्च बोकी बुकी उक्लि रहेको भेटिन्छ । एकै परिवारले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा बाह्रै महिना एकै ठाउँमा बसेर घाँस र दाना पु¥याउन सक्दैनन् । यतिबेला लेक उक्लिएका गोठाला दसैँ मान्न असोज तिर मात्रै बेसी झर्छन् । अबको एक सातामा बुकी भेडाका बथानले भरिन्छन् भने बेसी क्षेत्र रित्तो हुन्छन् । अघिल्लो वर्ष असोजमा बेसी झरेका गोठाला सात महिनापछि लेक उक्लिन थालेका हुन् । लामो समय लेकमै बस्ने हुँदा भागविरले खाने खर्चको चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ । अबको करिब पाँच महिना लेकमै बिताउने उहाँ बताउनुहुन्छ । यति बेला बेसीमा घाँस सकिएकोे र लेकमा प्रसस्त पाइने उहाँको भनाइ छ । गोठालाहरु तीन हजारदेखि चार हजार ५०० मिटरको उचाइसम्म पुग्ने गर्छन् । यस वर्ष अलि छिटै वर्षा सुरु भएपछि लेकमा घाँस पलाउन थालेको घर्तीले बताउनुभयो । बर्खा भरि बुकीमा पालेका भेडाबाख्रा दसैँ बेला बजारसम्म पु¥याएर राम्रो मूल्य पार्ने गर्दछन् । बागलुङको निसीखोला–६ मा पर्ने रिग, खानीखोलामा रोल्पा र रुकुमका गोठाला पनि हजारौँ भेडाबाख्रा लिएर आउने गर्छन् । हिउँदको समय बुकीमा हिउँ पर्ने र जाडो हुने हुँदा बेसी ओर्लने गर्छन् । पछिल्लो समय नयाँ पुस्ताले चासो नदिँदा भेडापालन किसान कम भएको उहाँको भनाइ छ ।“लामो समय बेसीमै बसियो, अब लेक जाने बेला भयो, यसपाली मैले केही दिन ढिला गरेँ, अबको दुई÷चार दिनमा म पनि लेकमा पुगि सक्छु, गाउँमा बस्दा परिवारसँगै भइन्छ, रमाइलो हुन्छ, लेकमा त सबै हुँदैनन्,” उहाँले भन्नुभयो, “अब गएपछि आउने उहीँ दसैँ बेला हो, त्यस बेलासम्म छोराछोरीसँग भेट्न हुन पाइँदैन, कहिलेकाहीँ अन्नपात लिएर लेक उक्लिए भने मात्रै भेट हुन्छ ।”जिल्लो तमानखोला, बोबाङ, अधिकारीचौर लगायतका क्षेत्रका भेडीगोठाले पनि ढोरपाटन, जलजलालगायतको क्षेत्रमा वस्तुभाउ लिएर जाने गर्छन् । यी क्षेत्रबाट आधाभन्दा बढी गोठाला लेकमा पुगी सके भने केही बाटोमै भेटिन्छन् । कोही जाने सुरसार गर्दैछन् । ढोरपाटन–९ का थमबहादुर पुनले गत साता गाईभैँसीलाई लेक पु¥याउनु भएको छ । आफु पेटसम्बन्धि रोगी भएको हुँदा उपचारका लागि अहिले बेसी झार्नु भएको छ । पाँच दिनपछि लेक फर्किने गरी बेसी झरेको पुनले बताउनुभयो ।पहिले लेक जाँदा अन्नपात र वस्तुभाउका किलादाम्ला मान्छेलेनै बोकेर लैजाने गरेको भन्दै बुर्तिबाङ–ढोरपाटन सडकमा गाडी चल्ने हुँदा ढुवानी तिरर लैजाने गरेको सुनाउनुभयो । बाउबाजेको पालादेखिनै लेकबेसी गरेर सयौँ वस्तुभाउ पाल्दै आएको पुनको भनाइ छ । आफूको पुस्ताले पशुपालन गरेरै जीविको चलाए पनि अबका नयाँ पुस्ताले यो पेसा नगर्ने उहाँ बताउनुहुन्छ ।उहाँले भन्नुभयो, “गाउँभरिका सबैले पशु पाल्ने हुँदा एकै ठाउँमा राखेर दाना र घाँस पु¥याउन सकिदैन, त्यसले गर्दा बर्खामा लेक र हिउँदमा बेसी झर्ने चलन चलेको हो, एउटै परिवारले कम्तिमा २०-३० गाईभैँसी पालेको हुन्छ, कोहीले सयौँको सङ्ख्यामा भेडाबाख्रा पालेको हुन्छ, त्यति धेरै वस्तुभाउलाई कसरी घाँस पु¥याउने रु, त्यही भएर लेकबेसी गर्ने गरेका हौँ ।”
‘सुर्ती उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौँ यो मोहजाल’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आज नेपालमा पनि मनाइँदै छ ।
कञ्चनपुर, जेठ १७ गते । दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन् । हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण पनि महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक हब बन्ने उहाँको बुझाइ छ । लामो समय शिक्षण पेशामा लागेका उहाँ अहिले व्यवसायिक रूपमा कृषिमा लागेका छन् । तर भारतसँगको सहज कनेक्टिभिटि नहुँदासुदूरपश्चिमले आर्थिक लाभ लिन नसकेको उहाँको तर्क छ । “महाकाली करिडोर निमार्णपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरेका छौँ ।” उहाँले भन्नुभयो, “सुदूरपश्चिम आर्थिक गतिविधिमा न्युन छ, हाम्रो लागि सम्भावना भनेकै महाकाली करिडोर हो यसलाई राज्यले प्राथमिकताका साथ अगाडी बढाओस ।” दार्चुलाको तिङ्करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निमार्ण हुने करिडोरले यहाँको सामाजिक, आर्थिक क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ छ ।भारतका सबैभन्दा ठूला र महत्वपूर्ण, ठूला आर्थिक गतिविधि र जनसङ्ख्या भएका अनि औद्योगिक करिडोर भएका सहरसँग नजिकबाट जोडिएको छ । त्यति मात्रै होइन, उत्तरतिर चीनको सीमासम्म जान पनि सबैभन्दा राम्रो सरल पहुँच हुनेछ । महाकाली करिडोर निर्माण भए कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली किनारैकिनार छोटो दूरीमा यात्रा गर्न सकिने यहाँका स्थानीयको अपेक्षा छ । करिडोरले महाकाली किनारका बस्तीलाई सडक सञ्जालमा जोड्ने र लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने दार्चुलाको मालिकार्जून गाउँपालिका–५ का वडा अध्यक्ष मदन चन्द बताउँछन । “करिडोर सञ्चालनमा आइदिए त यहाँका जनतालाई धेरै फाईदा हुन्थ्यो ।” चन्दले भन्नुभयो, “यहाँबाट कञ्चनपुर घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त भइन्छ ।” उहाँले महाकाली करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थासमेतमा सुधार आउने बताउनुभयो । “छोटो दुरीमा आवतजावत त हुने नै भयो तिङ्करनाका सञ्चालनमा आए आर्थिक गतिविधि पनि बढ्छ ।” उहाँले भन्नुभयो, “सरकारले छिटो काम सम्पन्न गर्नेगरि बजेट विनियोजन गर्नुपर्छ ।” ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाको तिङ्करनाकासम्म यातायातको सहज पहुँच विस्तार गरी सुदुरपश्चिम प्रदेश तथा मुलुकको विकासमा कोसे ढुङ्गा सावित हुने अपेक्षा दार्चुलाको लेकम गाउँपालिकाका स्थानीय कोमल विष्ट बताउँछन् । “करिडोर निमार्णपछि आर्थिक हिसाबले सुदूरपश्चिमलाई फाइदा हुन्छ नै यसले धार्मीक पर्यटनको सम्भावना पनि बढाउँछ ।” विष्टले भन्नुभयो, “सजह अवागमन र आर्थिक गतिविधि बढाउन करिडोर प्रमुख आधार हो ।” करिडोर बनेपछि कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पन्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक साँस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउने छ । महाकाली करिडोर अन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरा सुन्दरी, मेलौली भगवती र निङ्लाशैनीजस्ता प्रसिद्ध धार्मीकस्थल छन् । त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामका रूपमा परिचित मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मीकस्थल रहेकाले करिडोरले धार्मीक पर्यटनसमेतमा टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन् । “महाकाली करिडोर बने मात्रै सुदूरको विकासको ढोका खुल्छ ।” यहाँका पर्यटन व्यवसायि जगदीश चन्द्र भट्टले भन्नुभयो, “यसले धार्मीक पर्यटनसमेतलाई फाइदा पुग्छ अर्कोतर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ ।” उहाँले अझै पनि भारतबाट यहाँका प्रसिद्ध धाममा भारतीय धार्मीक पर्यटन आउने गरेको बताउँदै करिडोरले आवागमनमा सहज भएपछि यहाँ धार्मीक पर्यटनको फष्टाउने बताउनुभयो । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निमार्ण गरिरहेको महाकाली करीडोर सडक ९ब्रह्मदेव–झुलाघाट–दाचुला–तिङ्करसडक० योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामचन्द्र जैशीले हालसम्म करिडोरको २३० किलोमिटर ट्र्याक खुलेको जानकारी दिनुभयो । उहाँका अनुसार अझै ५५ किलोमिटर ट्र्याक खोल्न बाँकि छ । करिडोर अन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किमी, बैतडीमा १४४ किमी र दार्चुलामा १२१ किमी सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किमी ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किमी ट्रयाक खुलेको छ । त्यसैगरी बैतडीमा ११४ किमी र दार्चुलामा ७७ किमी ट्रयाक खुलेको छ । योजनाका लागि चालु आर्थिक वर्षमा रु ४१ करोड ५० लाख बजेट विनियोजन भएको सूचना अधिकारी जोशीले बताउनुभयो । “बजेट अभावका कारण निर्माण व्यवसायिलाई भुक्तानी दिन सकेत समस्या भएको छ, चालु आर्थिक वर्षमा आएको बजेटमध्ये १७ करोड गत आवको भुक्तानी दायित्व थियो ।” उहाँले भन्नुभयो, “न्युन बजेट र रुख कटानलगायत प्रक्रियागत अल्झनका कारण निमार्णमा ढिलाइ भइरहेको छ ।” महाकाली करिडोसँगै कञ्चनपुरको महाकाली नदीमा बनेको चार लेनको पक्की पुल र दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्णपछि मुलुककै समृद्धि हुने अपेक्षा व्यवसायिहरूको छ ।सुदुरपश्चिम प्रदेशका चार जिल्ला कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नं १ सम्म निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिव एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने सरकारको अपेक्षा छ । त्रिदेशिय नाका भएका कारण व्यापारिक महत्व धेरै नै रहेको र धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको लागी छोटो बाटोको रूपमा प्रयोग हुने छ । निमार्ण सम्पन्न पछि यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्ने छ ।