‘सुर्ती उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौँ यो मोहजाल’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आज नेपालमा पनि मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवस सुर्तीजन्य पदार्थ र यसको उत्पादनविरुद्ध औपचारिक चेतनामूलक जनस्वास्थ्य अभियान हो
सुर्तीबाट निर्मित चुरोट, बिडी, तम्बाकु, खैनी, गुट्खा, जर्दा वा पानपराग आदि धुँवा आउने, नआउने सबै सुर्तीजन्य पदार्थ हुन्, जसमा कार्बन मोनोक्साइड, निकोटिन, टार, बेन्जोपाइरिन, एमोनिया जस्ता चार हजारभन्दा बढी क्यान्सर बेन्जोपाइरिन जस्ता रसायन हुन्छन्, तीमध्ये ४० जतिले क्यान्सर गराउँछन् ।
सुर्तीजन्य पदार्थको सेवनबाट सबै उमेरका नागरिकलाई बचाउन सुर्तीजन्य पदार्थको उद्योग एवं उत्पादनलाई निरुत्साहित गर्ने प्रभावकारी नीति बनाउन, पैरवी गरी सुर्ती सेवनविरुद्ध जनचेतना अभिवृद्धि गर्नु हो । सन् १९८७ मा विश्व स्वास्थ्य साधारण सभाद्वारा सुर्तीजन्य पदार्थको उत्पादनबाट समुदाय एवं वातावरणलाई पु¥याउने हानिविरुद्ध बचाउन विश्व स्वास्थ्य दिवसका अवसरमा ‘विश्व धूम्रपानविरुद्धको दिवस’ मनाउन आह्वान ग¥यो । सोही अनुरूप १९८८ मा विश्व स्वास्थ्य सङ्गठनद्वारा हरेक वर्ष मे ३१ तारिखदेखि विभिन्न नाराका साथ विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने निर्णय ग¥यो ।
सुर्तीबाट मानव स्वास्थ्यमा पार्ने समस्या र जोखिम निराकरण गर्न विश्वव्यापी नीति निर्माण गरी समाजलाई स्वस्थ राख्न सन् २००३ मा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी महासन्धि पारित गरियो । सो महासन्धिको उद्देश्य विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थ त्याग गर्ने कार्यको कार्यान्वयन गर्ने सम्झौता गरियो ।
सन् २००८ को विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसको पूर्वसन्ध्यामा विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थसम्बन्धी सबै किसिमका विज्ञापन, प्रवर्धन तथा प्रायोजन बन्द गर्न आह्वान ग¥यो । यसरी ‘सुर्तीजन्य पदार्थमुक्त युवा’ नामक नारामार्फत बालबालिकालगायत युवालाई लक्षित गरी स्वास्थ्य प्रवर्धन अभियानको थालनी गरिएको हो ।
हरेक वर्ष विश्वभरिका १३ देखि १५ वर्ष उमेरका झन्डै तीन लाख ७० हजार युवकयुवती कुनै न कुनै माध्यमको सुर्ती सेवन गर्छन् । सुर्ती सेवन गर्न सिकेका १५ देखि २४ वर्षका ५८ प्रतिशत युवाले विद्युतीय सुर्ती (भेप) सेवन गर्छन् । करिब ८० लाख व्यक्ति प्रत्यक्ष रूपमा सुर्तीजन्य पदार्थ सेवन गर्छन् भने एक करोड ३० लाख व्यक्ति आफूले सुर्ती सेवन नगर्ने भए पनि अरूले गरेको धुवाँ (सेकेन्ड हैंड स्मोक) बाट प्रभावित हुन्छन् भने सुर्ती सेवनकै कारणे बर्सेनि ५० प्रतिशतको मृत्यु हुने गरेको छ । प्रत्यक्ष वा परोक्ष रूपमा सुर्ती सेवन गर्नेलाई मुटु, तथा श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या देखिने मात्र नभई फोक्सोको क्यान्सरसमेत हुन्छ ।
विश्वभरका करिब एक करोड ३० लाख सेवनकर्ता कम तथा मझौला स्तरको आम्दानी हुने मुलुकका छन् । सन् २०३० सम्ममा एक करोडभन्दा बढी सुर्ती सेवनकर्ताको सुर्ती सेवनकै कारणले उत्पन्न स्वास्थ्य समस्याबाट मृत्यु हुने अनुमान गरिएको छ । नेपालको जनसङ्ख्याको ५७ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्छन्, तीमध्ये ३० हजारभन्दा बढी सेवनकर्ताको सुर्ती सेवनकै कारणले मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थ सेवन धेरै प्रकारका क्यान्सरको मुख्य कारण बनेको छ । सन् २०२४ को विश्वव्यापी प्रतिवेदन अनुसार नेपालका ६८ हजारभन्दा बढी व्यक्ति सुर्ती सेवनकै कारण क्षयरोगबाट सङ्क्रमित भएका र सन् २०२३ मा १६ हजार जतिको मृत्यु भएको अनुमान गरिएको छ । नेपालका हरेक दुई जनामध्ये एक जना क्षयरोग सङ्क्रमित हुने अनुमान गरिएको छ ।
सुर्तीजन्य पदार्थले रोग प्रतिरोध क्षमता कम गराउने हुँदा सेवन नगर्नेको तुलनामा सेवनकर्तामा उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, दीर्घ श्वासप्रश्वास रोग, दीर्घ ब्रोङ्काइटिस, इन्सुलिन हर्मोनमा असरका कारण टाइप–२ मधुमेह तथा यसको विकृति, दृष्टि कमजोर, महिलामा यौन चाहनामा कमी, समय अगाडि नै महिनावारी बन्द हुने, गर्भमा रहेको भु्रणको शारीरिक तथा मानसिक वृद्धि/विकास नभई तौल कम भएको शिशु जन्मने जस्ता जटिल समस्या उत्पन्न हुन्छन् ।
सुर्तीजन्य पदार्थमा क्यान्सरजन्य पदार्थ हुने हुँदा शरीरका नौ वटै प्रणालीमा जटिल स्वास्थ्य समस्या उत्पन्न हुन्छ । सुर्ती सेवनबाट उत्पन्न समस्याको उपचारका लागि परिवारको २० प्रतिशतभन्दा बढी खर्च हुन्छ नै, यसबाट विश्वको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । स्वास्थ्य सेवा विभागको २०८०/८१ को प्रतिवेदन अनुसार नेपालमा झन्डै ४१ हजार व्यक्ति क्षयरोगबाट सङ्क्रमित छन् । हरेक वर्ष तीन सयभन्दा बढी औषधी प्रतिरोध क्षयरोग पाइन्छन् । क्षयरोग नै नेपालको सबैभन्दा उच्च मृत्यु तुल्याउने रोगको नामले चिनिन्छ । सुर्तीजन्य पदार्थको कुलतमा फसेका किशोरकिशोरी, युवाका कारणले विभिन्न नसर्ने रोगमा वृद्धि भएको हो ।
सबै खालको सुर्ती सेवन त्याग गर्दा धेरै फाइदा हुन्छ ।
जस्तै : २० मिनेटसम्म सुर्ती सेवन छोड्दा मुटुको गति र उच्च रक्तचाप घट्छ । १२ घण्टासम्म छोड्दा रगतमा कार्बनमोनोक्साइड घट्छ, दुईदेखि १२ हप्ता छोड्दा फोक्सोको कार्य तथा रक्तसञ्चारमा सुधार हुन्छ । एकदेखि नौ महिनासम्म छोड्दा श्वासप्रश्वासमा कठिनाइ घट्छ, एक वर्षसम्म छोड्दा मुटुको समस्या ५० प्रतिशत घट्छ । पाँच वर्षमा सेवन गर्नेभन्दा सेवन नगर्र्नेमा मस्तिष्कघातको जोखिम पाँचदेखि १५ वर्षसम्म घट्छ, १० वर्षसम्म छोड्दा फोक्सोको क्यान्सरको सम्भावना ५० प्रतिशत र मुख, घाँटी, खाना नली, पिसाबको थैली, पाठेघर र प्याङ्क्रियाका रोगको जोखिम घट्छ । सुर्ती छोडेको १५ वर्षमा मुटुसम्बन्धी (कोरोनरी हर्ट डिजिज) रोग तथा कोरोना भाइरस सङ्क्रमणबाट विभिन्न रोगले च्याप्ने सम्भावना निकै कम हुन्छ भने सुर्तीजन्य पदार्थ सेवनकै कारणले उत्पन्न हुने १६ किसिमका क्यान्सरबाट समेत बँच्न सकिन्छ ।
सुर्तीजन्य पदार्थबाट बच्ने उपाय
सुर्तीजन्य पदार्थ सेवन नगर्न आफैँले अठोट गर्ने ।
सुर्ती सेवन छोडेर खेलकुद र मनोरञ्जनात्मक काममा लाग्ने ।
आफ्नो जीवनशैलीमा सुधार (बिहानको नित्यकर्मपछि पानी पिउने, समयमै खाने, सुत्ने एवं शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्ने, बेलुका खाना खाएपछि एक माइलजति) हिँड्ने ।
सुर्तीजन्य पदार्थको तल तल लागेमा फलफूल, पानी खाने ।
निकोटिन प्रतिस्थापन औषधीजन्य पदार्थ (सिन्काउलीको स्वादका चुइङगम चुस्ने पदार्थ, प्याच) को प्रयोग गर्ने ।
सुर्ती त्याग गर्न विभिन्न सञ्चार माध्यमका सन्देशमूलक जानकारी राख्ने र स्वस्थकर बानी व्यहोरा अपनाउने ।
सुर्तीजन्य पदार्थ नियन्त्रणका उपाय
सुर्तीजन्य पदार्थविरुद्धको दिवस सुर्तीजन्य पदार्थ उद्योगबाट प्रकाशित/प्रसारित आकर्षक विज्ञापनमा रोक लगाई बालबालिकालगायत युवाको सुर्ती सेवनको नियन्त्रणमा केन्द्रित छ । सुर्ती सेवनका कारण उत्पन्न स्वास्थ्य समस्या एवं मृत्यु हुनबाट सबै उमेरका नागरिकको स्वास्थ्य सुधार गर्न विश्व स्वास्थ्य सङ्गठनले सुर्र्तीजन्य पदार्थ नियन्त्रण रणनीति २०३० को कार्यान्वयनमा सरकारले २०६८ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा नियमावली लागु गरेको छ ।
सार्वजनिक स्थानमा कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ सेवन र बिक्रीसमेत गर्न, उपहार दिन नपाउने, गर्भवती र नाबालिगले खरिद गर्न नपाउने कानुनी प्रावधान छ । नेपाल सरकारले सुर्तीजन्य पदार्थ त्याग गर्न परामर्श तथा उपचारसम्बन्धी अभिमुखीकरण/तालिम पुस्तिकालाई अन्तिम रूप दिएको छ । यसबाट समुदायस्तरसम्म सुर्तीजन्य पदार्थ सेवन त्याग गर्न/गराउन र यससम्बन्धी अनुगमन गर्ने प्रयास गरेको छ । सेवनकर्ताको अवस्थाको पहिचान गर्ने, सेवनकर्तालाई सही र स्पष्ट किसिमले परामर्श दिनु पर्छ । त्याग गर्न चाहेको र प्रयास गरे/नगरेको निश्चित गर्ने, सुर्ती छुटाउन नियमित परामर्श दिने र व्यक्तिगत, सामाजिक सञ्चार माध्यमबाट परामर्श गरी सुर्ती सेवन त्याग गर्न सघाउनु पर्छ ।
सुर्ती सेवनबाट उत्पन्न खतराका चिह्नबारे सचेत गराउनु पर्छ । सुर्तीजन्य पदार्थमा कम्तीमा ५० प्रतिशत कर वृद्धि गर्नु पर्छ । सुर्तीजन्य पदार्थ सेवनविरुद्ध शिक्षा, स्वास्थ्यलगायत सबै निकायबाट समुदायस्तरसम्म विभिन्न कार्यक्रममार्फत जनचेतना अभिवृद्धि गर्नु पर्छ, यसका लागि विद्यालय शिक्षाको पाठ्यक्रममा सुर्तीजन्य पदार्थविरुद्धका पाठ्य सामग्री राख्नु पर्छ ।
सुर्ती सेवनबाट बच्ने कसरी
सुर्तीजन्य पदार्थको उत्पादन, व्यवसाय, आकर्षक विज्ञापन र बिक्री वितरणमा रोक लगाइनु पर्छ । सुर्तीजन्य पदार्थ सेवन सुरु नगर्न र सेवन त्याग गर्न विद्यालयलगायत समुदायस्तरसम्म चेतना अभिवृद्धि अभियान चलाउनु पर्छ । सुर्तीजन्य पदार्थ सेवनकर्ताको अनुगमन गरी यसबाट रोकथामसम्बन्धी कडा नीति नियमको कार्यान्वयन गर्नु पर्छ ।सुर्तीजन्य पदार्थको आयात, वातावरण करसमेत गरी करमा अत्यधिक (कम्तीमा ५० प्रतिशत) वृद्धि गरिनु पर्छ । स्वास्थ्य कर कोषको रकमबाट समुदायस्तरसम्म सुर्तीजन्य पदार्थको सेवनरोकथाम/नियन्त्रणमा विभिन्न कार्यक्रम तथा अभिमुखीकरण/तालिम प्रदान गरिनु पर्छ ।
विद्यालयदेखि उच्च शैक्षिक संस्थामा सुर्तीजन्य पदार्थविरुद्ध विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा पाठ्य सामग्रीमार्फत सुर्ती सेवनबाट उत्पन्न जोखिमबारे स्वास्थ्य सन्देश दिइनु पर्छ ।
धूम्रपानको लत छुटाउने अठोट गरेर वैकल्पिक उपाय (चुस्ने ओखती, गम, प्याच, नाकमा छर्कने (नेजल स्प्रे र सुँघ्ने औषधी) प्रयोगमा लगाउनु वाञ्छनीय हुन्छ ।