• १२ पुस २०८२, शनिबार

मतदाता नामावलीमा दोहोरियो नाम

blog

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, पुस १२ गते । बाँकेको फोटोसहितको मतदाता नामावलीमा ९९३ जनाको दोहोरो नाम फेला परेको छ ।  जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको पाइएको हो । 

सबैभन्दा बढी नेपालगन्ज र सबैभन्दा कम कोहलपुर नगरपालिकामा दोहोरो नाम दर्ता गराएको पाइएको जनाउँदै प्रमुख शाहीले नाम केन्द्रमा पठाएपछि केन्द्रबाट ९९३ जनाको नाम दोहोरो परेको जानकारी आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नाम दर्ता गरेर केन्द्रमा पठाएपछि मात्रै थाहा पायौँ । हाल नाम अद्यावधिक गर्ने कार्य जारी रहेको र मतदाता नामावलीको दोहोरो नाम हटाउने काम भइरहेको छ ।”

यसैबिच बाँकेमा २३ वटा मतदान केन्द्र थप हुने सम्भावना देखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई जनसङ्ख्याका आधारमा निर्वाचन केन्द्र थप हुने जानकारी गराए अनुसार जिल्लामा केन्द्र थप हुन सक्ने निर्वाचन अधिकारी शाहीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “यसमा केही तलमाथि हुन सक्छ तर अन्तिम निर्णय पुस १२ गतेपछि मात्रै हुने छ । यससँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या ४०४ पुग्ने छ ।” यसअघि जिल्लामा ३८१ मतदान केन्द्र रहेका थिए ।