शिक्षा प्रणालीको विकेन्द्रीकरण र सङ्घीयता कार्यान्वयनसँगै नेपालको विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रमको अवधारणाले महत्वपूर्ण स्थान पाएको छ । राष्ट्रिय पाठ्यक्रमको विशाल परिधिभित्र समेटिन नसक्ने तर स्थानीय परिवेश, संस्कृति, ज्ञान, सिप र आवश्यकतासँग प्रत्यक्ष जोडिएका विषयवस्तुलाई शैक्षिक प्रक्रियाको अभिन्न अङ्ग बनाउनु यसको मूल अभीष्ट हो । स्थानीय पाठ्यक्रम प्रभावकारी रहेको अध्ययन अध्यापनमा संलग्न शिक्षक र विद्यार्थीको बुझाइ छ । स्थानीय पाठ्यक्रमलाई विद्यालय तहको पाठ्यक्रममै समेट्ने अग्र भूमिका खेलेका स्थानीय निकाय भक्तपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, रुपन्देहीको देवदह नगरपालिकाले स्थानीय पाठ्यक्रमबाट धेरै रचनात्मक शैक्षिक सफलतासमेत हात पारिसकेका छन् ।
भक्तपुर नगरपालिकाले भक्तपुरमा लोप हुन लागिसकेको खेल ‘कसिमला पाँय’ लाई स्थानीय पाठ्यक्रममार्फत नै पुनर्जीवन दिएको छ । लुडोसँग मिल्दोजुल्दो यो खेल दुई व्यक्तिबिच खेलिन्छ । त्यसका लागि एउटा कागजको बोर्ड र १३/१३ वटा गोटीको आवश्यकता हुन्छ । पहिले भुइँमा चित्र कोरेर ढुङ्गाको सानो टुक्रालाई गोटीका रूपमा प्रयोग गरिन्छ । जित्नका लागि बुद्धिको प्रयोग आवश्यक हुने भएकाले यो खेल बौद्धिकतासँग पनि जोडिएको छ । बालबालिकाको बौद्धिक विकासका लागि पाठ्यक्रममा यो खेल राखिएको नगरपालिकाका शिक्षा शाखा प्रमुखको भनाइ छ । प्रायः लोप भइसकेको खेल पाठ्यक्रममा समावेश भएपछि शिक्षक र विद्यार्थी दुवैले सिक्न पाएका छन् । विद्यालय तहको पाठ्यक्रममै भक्तपुरको परिचय बनेको जुजुधौको सांस्कृतिक,आर्थिक र वैज्ञानिक महत्व पनि समेटिएको छ । जुजुधौ बनाउने स्थानीय प्रविधिबारे विद्यार्थीलाई उद्योगमै लगेर प्रयोगात्मक रूपले नै सिकाइन्छ भने पाठ्यक्रममा भक्तपुरका कला, संस्कृति, धर्म, रीतिरिवाज र ऐतिहासिक स्थल समावेश गरिएको छ ।
स्थानीय पाठ्यक्रम लागु गर्ने अर्को जेठो नगरपालिका काठमाडौँको गोकर्णेश्वर नगरपालिका हो । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि बनाइएको पाठ्यक्रममा स्थानीय सम्पदा, धर्म, संस्कृति, भाषा, सभ्यता, कला, चाडपर्व र स्थानीय पहिचान समेटिएको छ । शिक्षासेवी टेकेन्द्रप्रसाद ढकालका अनुसार पाठ्यक्रममा नगरपालिकाको सबै पक्षलाई चिनाउने विषयवस्तु छन् । विद्यालयका लागि छापिएका ३० औँ हजार थान पुस्तकमा स्वास्थ्य, योग, वातावरण र उत्प्रेरणामूलक पाठ पनि छन् । वैदिक सनातन धर्म, बुद्ध जयन्ती, रक्षाबन्धन जस्ता धार्मिक, सांस्कृतिक, विषय पनि समेटिएका छन् । गोकर्णेश्वर नगरपालिकाका व्यवस्थापनको संरचनाबारे पनि विद्यार्थीले पढिरहेको शिक्षासेवी अग्निप्रसाद अधिकारीको भनाइ छ । शिक्षाविद्, प्राध्यापक, स्थानीय शिक्षक, संस्कृतिविद् र स्थानीय बुद्धिजीवीको सहभागितामा निर्माण गरिएको पाठ्यक्रम कक्षा १ देखि ८ सम्म एकैपल्ट लागु गरिएको छ ।
उपत्यकामा मात्र होइन स्थानीय पाठ्यक्रम लागु गर्नेमा रुपन्देहीको देवदह नगरपालिका पनि जेठो स्थानीय निकाय हो । “बौद्ध शिक्षा र देवदह परिचय समेटेर २०७५ वैशाखमा स्थानीय पाठ्यक्रम लागु गरेको यो नगरपालिकाले महत्वपूर्ण शैक्षिक सफलता हात परेको अनुभूति सगालेको छ । पाठ्यक्रममा नैतिकता र असल कर्मका लागि बुद्धका पञ्चशील सिद्धान्तलाई प्राथमिकता दिइएको छ । कथा, निबन्ध, सूत्र तथा योगाभ्यासको माध्यमबाट बुझाउने गरिएको र यसबाट विद्यार्थीको आनीबानीमा समेत परिवर्तन आएको राजनीतिज्ञ एवं शिक्षासेवी हीराबहादुर खत्रीको अनुभव छ । सुरुमा लुम्बिनीको बौद्ध विश्वविद्यालयको सहयोगमा सिद्धिचरण भट्टराई संयोजकत्वको ११ सदस्यीय समितिले पाठ्यक्रम निर्माण गरेको हो । देवदहका ३० सामुदायिक र संस्थागत विद्यालयमा पढाइने उक्त पाठ्यक्रम अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गरिएको छ । शिक्षासेवी टीकाराम शर्माका अनुसार नैतिकता र परोपकारसित जोडिएको स्थानीय पाठ्यक्रमले विद्यार्थीमा राम्रो प्रभाव पारेको उल्लेख छ ।
पछिल्लो समय देशभरका विभिन्न स्थानीय निकायमा स्थानीय पाठ्यक्रम लागु गरिएको छ । राजधानी बाहिर स्थानीय पाठ्यक्रम लागु गर्ने स्थानीय निकायमध्ये अग्रपङ्क्तिमा झापाको मेचीनगर पनि पर्छ । ‘हाम्रो मेचीनगर’ समेटेर लागु गरिएको स्थानीय पाठ्यक्रम प्रभावकारी रहेको मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीको प्रतिक्रिया छ । स्थानीय पाठ्यक्रमले स्थानीय क्षेत्रका महìवपूर्ण ऐतिहासिक धार्मिक, सांस्कृतिक र जातीय विविधताका सम्पूर्ण पक्षबारे परिचय र ज्ञान दिने हुँदा विद्यार्थीले नजिकबाट आफ्नो समुदायका विविधतालाई हेर्न, सिक्न र महसुस गर्न पाएको झापाको नमुना विद्यालय बाल सुबोधिनी माविका प्रधानाध्यापक एवं शिक्षासेवी विश्व थापाको बुझाइ छ ।
कति स्थानीय तहमा पाठ्यक्रम निर्माण गरिएको छ ? शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रसँग तथ्याङ्क नै छैन । नेपालको संविधानको धारा ३१ (५) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय स्तरको शैक्षिक ज्ञान, सिप र प्रविधिको संरक्षण प्रवर्धन र स्तरीकरण गर्ने अधिकार दिएको छ ।
स्थानीय पाठ्यक्रमको प्रभावकारिता
स्थानीय पाठ्यक्रमले विद्यार्थीको जीवन र सिकाइलाई सान्दर्भिक, व्यावहारिक र अर्थपूर्ण बनाउनुका साथै राष्ट्रिय/अन्तर्राष्ट्रिय ज्ञानसँग स्थानीय ज्ञानलाई एकीकृत गर्ने विशिष्ट भूमिका निर्वाह गरेको पाइन्छ । स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नै भाषा, संस्कृति, सम्पदा र वातावरणका बारेमा सिक्ने अवसर प्रदान गर्नुका साथै यसले सिकाइलाई विद्यालयको कृत्रिम वातावरणबाट घरको दैनन्दिन जीवनसँग नजिक पु¥याएको छ । विद्यार्थीमा जिज्ञासा र रुचिलाई जागृत गरेको छ भने स्थानीय पेसा, व्यवसाय, प्रविधि र कृषि जस्ता व्यावहारिक ज्ञानले उनीहरूलाई स्थानीय स्रोतसाधनमाथि अपनत्वको भावना बढाउन मद्दत पु¥याएको छ ।
केन्द्रीय पाठ्यक्रमले ओझेलमा पारेका स्थानीय मूल्यमान्यता, कला, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षण तथा संवर्धनमा स्थानीय पाठ्यक्रम सहयोगी देखिएको छ । अध्ययनले विद्यार्थीमा कला–संस्कृतिको संरक्षण आफैँले गर्नु पर्छ भन्ने चेतना विकास भएको, सामाजिक रूपमा चासो बढेको र समसामयिक विषयमा राय राख्न सक्ने क्षमताको विकास भएको निष्कर्ष
निकालिएको छ । शिक्षाको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरिएसँगै स्थानीय पाठ्यक्रम निर्माणले स्थानीय समुदायका मानिसको सहभागिता सुनिश्चित गरी शैक्षिक निर्णय प्रक्रियामा जनताको पहुँच र अपनत्व बढाएको छ । यसले पाठ्यक्रमलाई सन्तुलित, लोकतान्त्रिक र स्थानीय मूल्यमान्यता अनुरूप तुल्याउन सकेको छ ।
कार्यान्वयनका समस्या
स्थानीय पाठ्यक्रमको सैद्धान्तिक जग बलियो भए पनि, यसको प्रभावकारी कार्यान्वयनमा जटिल संरचनागत र व्यवस्थापकीय चुनौती विद्यमान छन्, जसले यसको अपेक्षित नतिजा अझै दिन सकिरहेको छैन । कतिपय अवस्थामा स्थानीय पाठ्यक्रम निर्माण र अध्यापन गराउन सक्ने सक्षम र दक्ष जनशक्तिको अभाव देखिएका छ । पाठ्यक्रम निर्माण आफैँमा एक प्राविधिक र विज्ञतामूलक कार्य भए पनि, धेरै जसो स्थानीय तहमा विषयविज्ञ र प्राविधिक सहयोग उपलब्ध नहुँदा पाठ्यक्रम निर्माण प्रभावकारी बन्न सकेको देखिँदैन । धेरै जसो स्थानीय निकायका शिक्षकमा समेत यसको अवधारणा, उद्देश्य र कार्यान्वयनसम्बन्धी प्राविधिक ज्ञानको कमी छ । स्थानीय पाठ्यक्रम कार्यान्वयनमा पर्याप्त आर्थिक स्रोत र शैक्षिक सामग्रीको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको छ । धेरै जसो दुर्गम क्षेत्रका विद्यालयमा त स्रोतको सीमितताले गर्दा पाठ्यक्रम विकास गर्नै कठिन भएको स्थिति समेत देखिएको छ । स्थानीय पाठ्यक्रमको मूल मर्म भनेको व्यावहारिक ज्ञान र सिप सिकाउनु नै हो तर शिक्षण सिकाइमा सैद्धान्तिक अवधारणामा जोड दिने परम्परा अझै हाबी छ । स्थानीय विषयवस्तुको अध्यापनमा प्रोजेक्टर वा भिडियो जस्ता आधुनिक प्रविधिको प्रयोग नगरी परम्परागत शिक्षण विधि अपनाइँदै आएको र मूल्याङ्कन प्रणाली पनि अन्य विषयको जस्तै परम्परागत हुनुले सिकाइको प्रभावकारितालाई भने सीमित नै पारेको छ । स्थानीय पाठ्यक्रमको महत्वबारे अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य अनभिज्ञ हुनु र अभिभावकमा अङ्ग्रेजी भाषाप्रतिको मोहले स्थानीय विषयवस्तुको पठनपाठनलाई ओझेलमा पार्ने गरेको छ । कतिपय विद्यालयमा स्थानीय पाठ्यक्रमका नाममा कम्प्युटर वा अङ्ग्रेजी विषय पढाइएको पनि पाइएको छ । यस्तो कार्यले स्थानीय पाठ्यक्रमको मर्ममाथि प्रश्न खडा भएको छ ।
निष्कर्ष
स्थानीय पाठ्यक्रम शैक्षिक विकेन्द्रीकरण, सांस्कृतिक संरक्षण र सान्दर्भिक सिकाइ सुनिश्चित गर्ने शैक्षिक लोकतन्त्रको अपरिहार्य दस्ताबेज हो । यसले विद्यार्थीलाई स्थानीय ज्ञान, सिप र अपनत्वको माध्यमबाट राष्ट्रिय विकासमा योगदान दिन सक्ने नागरिक बनाउँछ । यसको प्रभावकारितालाई गुणात्मक रूपमा अभिवृद्धि गर्न नीति र व्यवहारबिचको खाडल पुर्न आवश्यक छ । यसका लागि स्थानीय पाठ्यक्रम निर्माण, कार्यान्वयन र यसको अध्यापनका लागि शिक्षकलाई सन्दर्भ–केन्द्रित विशिष्ट तालिम र अभिमुखीकरणको व्यवस्था गर्नु आवश्यक छ । स्थानीय पाठ्यक्रम अन्य पाठ्यक्रम जस्तो पढाउन सकिँदैन । आफ्नै वरपरको परिवेश, संस्कार, संस्कृति र इतिहासमा आधारित हुने भएकाले विद्यार्थीले भन्दा बढी मिहिनेत शिक्षकले गर्नु पर्छ । स्थानीय संस्कृति र अन्य विशेषताबारे शिक्षक स्वयम्ले अनुसन्धान अध्ययन गरेपछि मात्र विद्यार्थीलाई त्यसबारे पढाउन सक्छन् । पाठ्यक्रम लागु गरिएका अधिकांश विद्यालयमा शिक्षकलाई पढाउन समस्या भएको छ । स्थानीय तहका ऐतिहासिक स्थलबारे जानकारी भए पनि पुराना संस्कार संस्कृति र धार्मिक दर्शन सम्बन्धमा जानकारी नहुँदा पढाउन समस्या हुने गरेको शिक्षकको भनाइ छ । अर्कातर्फ पाठ्यक्रम विकासमा स्थानीय विज्ञ, शिक्षक, अभिभावक र समुदायको सव्रिmय तथा सार्थक सहभागिता सुनिश्चित गर्नु अनिवार्य छ । स्थानीय पाठ्यव्रmमलाई मूर्तरूप दिन आवश्यक शैक्षिक सामग्रीको विकास तथा न्यून लागतका स्थानीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्नु आवश्यक छ । शिक्षण सिकाइमा व्यावहारिक र प्रविधिमैत्री विधिलाई अनिवार्य गर्दै सोही अनुरूपको मूल्याङ्कन प्रणाली विकास गर्नु पर्छ ।