हेटौँडा समाचारदाता
हेटौँडा, पुस १२ गते । हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको राईगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुमवासी बस्तीमा बस्न बाध्य हुनुभयो । विस्थापित भएर हेटौँडा आएको ३० वर्ष बितिसक्दा पनि उहाँको जीवन सङ्घर्ष उस्तै छ ।
भ्लोन र उहाँका श्रीमान् मिलेर दैनिक ज्यालादारी गर्दै परिवार पाल्दै आउनुभएको थियो । “ऐलानी १० कट्ठा जग्गा थियो, त्यहीँ खेतीपाती गरेर परिवारको गुजारा राम्रो चलिरहेको थियो,” विगत सम्झँदै उहाँले भन्नुभयो, “बाढीले सबै बगायो, अहिले ज्याला मजदुरी गरेरै परिवार पाल्दै आएको छु ।”
उहाँको दैनिकी बिहान सात बजे राप्ती नदीको बगरबाट सुरु हुन्छ । दिनभर बालुवा चालेर एक ट्रिप पु¥याउन चारदेखि पाँच दिन लाग्ने उहाँ बताउनुहुन्छ । “एक ट्रिप बालुवाबाट १५ सय रुपियाँ आउँछ, त्यसैको आम्दानीले जसोतसो अन्नको जोहो हुन्छ,” भावुक स्वरमा उहाँले भन्नुभयो ।
श्रीमान् मधुमेह रोगबाट पीडित भएकाले घरखर्चको मुख्य भार उहाँकै काँधमा छ । “ज्यान चलेसम्म कमाएर खानु प¥यो,” भ्लोनले भन्नुभयो, “हामी जस्ता मजदुरलाई बाँच्न गाह्रो छ ।” बालुवा चाल्नुका साथै भ्लोन कृषि कार्यमा पनि ज्यालादारी गर्न जाने गर्नुहुन्छ । स्थायी रोजगारी र आयस्रोत नहुँदा उहाँको परिवार आज पनि दैनिक मजदुरीमै निर्भर छ । त्यस्तै हेटौँडा–११, सिमलटारकी ४८ वर्षीय सिर्जना घलान पनि मजदुरी गरेरै परिवार पाल्दै आउनुभएको छ । श्रीमान् रोगी भएकाले दैनिक औषधी खुवाउनुपर्ने बाध्यताका कारण घरको काम भ्याएर फुर्सद हुनेबित्तिकै उहाँ बगरमा पुग्नुहुन्छ । “बालुवा कोट्याउने, थुपार्ने र चालेर आएको मजदुरीबाट परिवार चलाइरहेकी छु,” उहाँले भन्नुभयो ।
बगरमा बालुवा चालेर जीविकोपार्जन गर्न सजिलो नभएको मजदुरहरूको गुनासो छ । कहिले प्रहरी, कहिले साहु ठेकेदारको डर सहनु परेको उहाँहरू बताउनुहुन्छ । “साँझ–बिहान नभनी काम गर्नु पर्छ । कहिले प्रहरी आएर थर्काउँछ, कहिले साहु कराउन आइपुग्छ,” घलानले गुनासो गर्नुभयो ।
उनीहरूले बिरामी पर्दा सरसापट गरेर समस्या टार्ने गरेका छन् । वर्षायामबाहेक अन्य समयमा खोलामा बालुवा चाल्ने श्रमिक आवश्यक परे अन्य मजदुरीमा पनि लाग्ने गर्छन् । उनीहरू जस्तै यहाँका सयौँ श्रमिक दैनिक ज्यालादारीमै निर्भर रहँदै जीविकोपार्जन गर्दै आएका छन् । पछिल्लो सयम व्रmसर उद्योग खुल्दै जाँदा मजदुरको रोजगारीसमेत गुम्दै गएको छ । ठुला मेसिन र टिप्परको प्रयोगले बालुवा चाल्ने, गिट्टी कुट्ने, ढुङ्गा छुट्याउने गर्दा मजदुरको रोजगारी गुमेको श्रमिकहरू गुनासो गर्नुहुन्छ ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका–११, सिमलटारका तिलकबहादुर वलको दैनिकी पनि खोला किनारमै बित्ने गरेको छ । विगत १३ वर्षदेखि राप्ती नदी किनारको बालुवा नै उहाँको जीविकाको आधार बनेको छ । पुसको चिसोमा पनि एकसरो कपडाको भरमा बालुवा चाल्ने जाली र साबेल बोकेर राप्ती नदी किनारमा पुग्नु उहाँको दैनिकी हो ।
“बाध्यताले यही खोलामा आउनु पर्छ । बगरमा बालुवा चाल्ने रहर कसैलाई हुँदैन,” वलले भन्नुभयो, “शरीरमा शक्ति हुँदासम्म ढुङ्गा पल्टाउने, बालुवा चाल्ने हो । मजदुरको पीडा कसले सुनिदिन्छ र ?” प्रायः गरेर हेटौँडामा रहेको सुकुमवासी बस्तीका मानिस दैनिक ज्यालादारी र अनौपचारिक क्षेत्रको श्रममा जोडिनुभएको छ । न्यून आय, शिक्षाको कमी र आर्थिक अवस्था कमजोर रहेका यहाँका समुदाय गिट्टी कुट्ने, बालुवा चाल्ने, ट्याक्टर, टिप्पर चलाउने पेसामा आबद्ध हुनुभएको हो । श्रम शक्ति सर्वेक्षण–२०१७ का अनुसार आन्तरिक श्रम बजारमा ७० लाख ८६ हजार कार्यरत छन् । जसमध्ये ४४ लाख ४६ हजार पुरुष छन् भने २६ लाख ४० लाख जना महिला छन् । औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार जना मात्रै कार्यरत छन् । ठुलो हिस्सा अनौपचारिक क्षेत्रमा कार्यरत छ । जसमध्ये कृषि क्षेत्रमा १४ लाख ३४ हजारले रोजगारी पाएका छन् भने गैरकृषिमा २९ लाख चार हजार कार्यरत छन् । घरेलु श्रममा भने ७३ हजार जना कार्यरत छन् ।
प्रत्येक पाँच जनामध्ये एक जना कृषि क्षेत्रमा रोजगारी गर्छन् । सबैभन्दा बढी रोजगार दिने क्षेत्र कृषि हो । दोस्रोमा व्यापार क्षेत्र (१७.५ प्रतिशत) पर्छ । त्यसपछि निर्माण क्षेत्र (१३.८ प्रतिशत) छ । सेवा र विक्रेताको पेसामा २३.८ प्रतिशत श्रमिक आबद्ध छन् । अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकका समस्या औपचारिक क्षेत्रमा भन्दा भिन्नै प्रकृतिका छन् । अधिकार, ज्याला, तलब, सामाजिक सुरक्षा र अन्य सुविधा सबै कोणबाट उनीहरू बढी पीडित छन् ।