शरीरको रहस्यमय गुफामा
जब प्रकृतिले रातो बत्ती बाल्छिन्
धर्मका ठेकेदारहरू
थर्थर काम्छन् ।
देवी फेरि एक पटक
रणचण्डीका रूपमा
पृथ्वीमा अवतरित हुन लागिन् भन्ने
डर हुन्छ तिनीहरूलाई ।
जान्दछन् तिनीहरू–
मासिक रक्तस्राव आदिम ज्वाला हो
जसले
प्रत्येक पटक
मरिरहेको ब्रह्माण्डलाई बौराउँछ ।
भन्छन् नै उनीहरू–
कामाख्यादेवीको
मासिक रक्तस्रावले भिजेको वस्त्र पवित्र हुन्छ ।
त्यसो हो भने
त्यस्तै रक्तस्राव हुँदा
उनकै भक्तिनीहरूको हैसियत
किन अछुत बन्छ ?
मेरो यो प्रश्न हो ती सबैलाई
जसले आधा आकाशको नक्सामा
छल गरी गरी कालो पोतेका छन् ।
धन्य छन् आधा आकाश !
जसले एउटा एउटा आकाशगङ्गालाई
सधैँ आफूभित्र राख्छन्
जहाँ प्रत्येक महिना
ब्रह्माण्डको ताला अलिकति खुल्छ
र जीवनको नयाँ प्रकाश
भुरुर्र उड्छ ।
त्यसैले त,
जुँगामुठे हुनुको मिथ्या अहम् पाल्ने
आफ्नै मनोग्रन्थीलाई लोप्पा ख्वाउँदै
मलाई भन्न मन लागेको छ यसबेला–
वास्तवमा
महिनावारी भनेको त
अनन्तसम्म पृथ्वीको रक्षा गर्ने शपथपत्रमा
मातृशक्तिद्वारा
रगतको मसीले गरेको दस्तखत पो रहेछ ।