ऊ घरतिर छिर्दै थियो । आँखा जुधे । झस्किएको हो कि जस्तो लाग्यो । ऊ अडिएन, भित्र पस्यो । म हिँड्दै थिएँ बाटैबाटो । उसको घरअघि ऊ भित्र छिर्दै गर्दा जम्काभेट भएको थियो । आँखाको जम्काभेट भनौँ । टक्क अडिएर, रोकिएर होइन ।
ऊ सेतो वस्त्रमा थियो, म रङ्गीचङ्गीमा । यद्यपि रङ्गीचङ्गी भनेर हिरोहिरोइनले लगाउने खाले भड्किलो वस्त्रमा होइन । सामान्य पाइन्ट सर्टमा तर सेतोमा थिइनँ ।
मलाई चिन्यो कि चिनेन ? किनभने मेरो मुखमा मास्क थियो । सायद चिन्यो होला । त्यसैले ऊ झस्किएको पनि होला, सोच्दै, “म सेतो लुगामा, ऊ किन होइन सेतो लुगामा ?”
म हिँडिरहेँ बाटैबाटो । मनमा कुरा खेलाउँदै । ऊ मेरै उमेरको मानिस । नाम रमेश अधिकारी । बाहुन अधिकारी कि क्षेत्री थाहा छैन । यो क्षेत्री बाहुनको कुरा पनि विचित्र लाग्छ, एउटै थर पनि कोही बाहुन हुने, कोही क्षेत्री हुने अरे ? मलाई थर, गोत्र, जातपात केहीसँग सरोकार छैन । यो अहिलेदेखि होइन, उहिल्यैदेखि, पढ्दैदेखि मभित्रको फिलिङ्गोले काम गरेर हो मलाई सरोकार नभएको कुनै जातपात, थर, गोत्रसोत्रदेखि ।
उसैबेला स्कुल पढ्दैदेखि म लेखिहिँड्थेँ– आफ्नो नामका पछाडि ‘मानव’ । मलाई उरन्ठेउला साथीले ‘तँ मानव होइन, दानव दानव’ भन्दै जिस्क्याउने पनि गर्थे । राधेश्याम सरले एक पटक यस्तै जिस्क्याइरहेका साथीहरूलाई दपेट्नुभएको थियो र भन्नुभएको थियो, “ठिक त भन्दै छ नरेशले । तिमीहरू पनि मानव बन । ऊ दानव होइन, तिमीहरू बरु उसलाई जिस्क्याएर दानव बन्दै छौ ।”
म मानिस मानिसबिच यो जातपात, छुवाछुत, उँचनिच, केही हुनुहुँदैन भन्ने सोच्थेँ । राधेश्याम सरले मलाई बेला बेला ढाडस दिनुहुन्थ्यो, “तिम्रो सोच ठिक छ नरेश । कहिल्यै हार नखानु । पछि पनि जीवनमा तिमीलाई यसरी उडाउने मानिस आइलाग्न सक्छन् तर नथाक्नु, मानव हुनु नै सबैभन्दा उत्तम कुरा हो ।”
राधेश्याम सरको अनुहार आँखामा आउँदाआउँदै फेरि उही रमेश अधिकारीको अनुहार आँखामा उत्रिँदै गयो । उसको सेतो लुगा पनि तैरियो आँखामा । उसका बाआमाका धमिला चित्र पनि आँखामा नाचे ।
पछिल्लो पटक उसले सेतो लुगा उसका बा मरेकाले लगाएको थियो । अर्थात् उसले बर्खी बारेको थियो ।
एउटै टोलमा थियो उसको र हाम्रो घर । उसको घर पूर्वतर्फ, हाम्रो पश्चिम ।
उसको र मेरो उस्तो दोस्तीयारी केही थिएन ।
ऊ ‘ठालु’ पल्टिन्थ्यो, बोल्न खोज्दैनथ्यो । म पनि उसलाई फुटेको आँखाले देख्न सक्दिनथेँ । मानौँ कि म उसलाई ‘दानव’ ठान्दथेँ ।
उसको र हाम्रो आर्थिक अवस्था उस्तै उस्तै हो । ‘कमजोर’ भन्दा हुने तर ऊ भन्सारमा मुखिया भएकाले ‘ठुलो’ थियो । भन्सारमा मुखिया भएकाले उसको घर पक्की थियो, ठुलो थियो, दुई तले थियो तर बाआमासित थिएन ऊ, बेग्लै थियो । अलग्गै बसेको थियो । कहाँबाट आयो पैसा ? भन्नु पर्छ र ? ‘कमजोर’ अवस्थाका मानिसको ठुलो घर, कसरी ? भन्सारमा मुखिया भनिसकेपछि कहाँबाट, भनिरहनु पर्छ र ?
पैसा आएर पनि ऊ शिष्ट भए त, मानव भए त हुन्थ्यो नि, अहँ ऊ दानव नै थियो ‘दानव’ ।
उसका बा हाम्रो घर आइरहन्थे । मेरा बासित रोइरहन्थे । “दुःख छ, गाह्रो छ,” भनिरहन्थे ।
उनको कुरा सुनेर बा मेरा आँखामा हेर्नुहुन्थ्यो । कुरा बुझ्नु पथ्र्यो– उनलाई ‘ठुलो’ भएको छोराले हेर्दैन । ऊ आफ्नै दुनियाँमा छ । बाआमाको वास्ता गर्दैन ।
बा उठेर भित्र मनेर कोठामा आउनुहुन्थ्यो । बिस्तारै सानो स्वरले भन्नुहुन्थ्यो, “अलिकति पैसा छ भने दे, अधिकारी दाइलाई काम चलाइदिऊँ ।”
बाहिर अधिकारी बा रुन्चे अनुहार लगाएर बसिरहेका हुन्थे । बाले उनको हातमा केही रुपियाँ राखिदिएपछि अधिकारी बा उठ्थे । “म तपाईंको गुन कहिल्यै बिर्सिन्नँ । तिर्छु । मेरो अलिकति जग्गा छ, बेच्छु र तिर्छु । हिसाब राख्नुहोला...!” भन्दै, खुसी हुँदै हिँड्थे । यो बेला बेला म घर आउँदा देखेको, भोगेको कुरा !
झस्किन्छु, भाटभटेनी पो आइसकेछ । अर्थात् सुपरस्टोर अरे ! पिसाबले च्यापेको छ । हिँड्ने बेलामा फेर्न बिर्सिएँछु । पस्छु पिसाब फेर्नकै लागि भाटभटेनी सुपरस्टोर । यो सहर महानगर भनेर के गर्नु ? शौचालय जान कि त बुधहाट चोक पुग्नु प¥यो कि त ट्राफिक पछाडि ।
पिसाब फेरेर निस्किएपछि भाटभटेनीको कुर्सीमा केहीबेर बस्छु । सुस्ताउँछु । आँखामा रमेश अधिकारीको सेतो लुगाले पछ्याइरहेको छ ।
हाम्रा बाले भन्ने गरेका ‘अधिकारी दाइ’ को प्राण गएको चार/पाँच महिना भइसकेको छ । मेरा बाको प्राण गएको भयो १४/१५ दिन । उनले जिउँदैमा फिर्ता दिन्छु भनेको रुपियाँ फर्काउन सकेनन् अरे । जग्गा भन्नेबित्तिकै बिक्री हुने वस्तु भए पो फर्काउन सक्थे । काठमाडौँमा पो किनेको छ, बेचेको छ, फेरि बेचेको छ– एउटै जग्गा १० पटक पनि बिक्री हुन्छ र नाफाखोर नाफा खान्छन् । यो महानगर त हो तर मोफसल, काठमाडौँ जस्तो ‘फसलदार’ महानगर होइन । कहाँ भन्नेबित्तिकै जग्गा बिक्री हुनु ? त्यसैले जग्गाजमिन भएर पनि यहाँका मानिस दुःखी छन् । अधिकारी बाले आफ्नै सम्पत्ति बेच्न नसकेर परमधाम हुनु प¥यो ।
सुनेँ, त्यही जग्गामा रमेशले आफ्ना भाइहरूमाथि मुद्दा ठोकेको छ । सम्पत्तिमा कमजोर भाइहरूमाथि पनि उसको दानवदृष्टि छ । घुसले सम्पन्न रमेशभित्र अझै सम्पत्ति चुल्याउने तृष्णा बरकरार छ ।
एकछिन सुस्ताएपछि उठ्छु । लाग्छु बजारतिर । किराना दोकानमा केही सामान लिनु छ, पुग्छु ।
बुधहाट चोकमा पुगेर उभिन्छु– खोइ किराना दोकान ? यहाँ मैले किन्ने गरेको मदन सेठको दोकान खोइ ?
म जहिले जहिले विराटनगर आउँछु, यस ठाउँमा आएकै हुन्छु । थाहा छ, यहाँबाट दोकान उठेको धेरै वर्ष भइसक्यो तर जहिले पनि यस ठाउँमा उभिएर सम्झिएकै हुन्छु, यहाँ एकै ठाउँमा कति थिए लाइनले किराना दोकान ? अहिले त महानगरपालिकाले कब्जा गरेको छ । छैनन् एउटै दोकान ।
म किराना दोकान खोज्दाखोज्दै जलजला सिनेमा हल चोक पुग्छु । मेन रोडबाट अलि उत्तरतर्फ लाग्छु । त्यहाँ पनि थियो पहिले मैले यदाकदा किन्ने गरेको किराना दोकान । बाटोदेखि पश्चिमपट्टि केही किराना दोकान थिए मारवाडीका, देख्छु– ती अहिले पनि रहेछन् । पहिले दुई वटा थिए, अहिले चार वटा भएछन् ।
त्यहाँ राजेश नामको सेठ थियो । ऊ मेरै उमेरको थियो । उसलाई खोज्छु– अहँ, देख्दिनँ ।
एउटा दोकानमा पस्छु र सोध्छु, “राजेश अग्रवालको दोकान यहीँ थियो होइन ?”
त्यो बुढो मानिस हाँस्छ । भन्छ, “म त हो राजेश ! भन्नुस् के काम थियो ?”
म छक्क पर्छु । उसको आँखामा, अनुहारमा आँखा गाडेर हेर्छु ।
ऊ फेरि हाँस्छ र भन्छ, “म नै हो राजेश, किन छक्क पर्नुभएको ?”
म अकमकाएर बोल्छु, “तपाईं त धेरै दुब्लो हुनुभएछ, बुढो पनि !”
ऊ फेरि हाँस्छ र बोल्छ, “मान्छे बुढो हुँदैन ?”
एकछिन चुप लाग्छ र फेरि बोल्छ, “मलाई सुगरले जान मा¥यो ।”
अर्थात् ऊ भन्न खोज्छ, सुगरले दुब्लाएको तर मलाई त्यस्तो लाग्दैन । दोकानको हालत हेर्छु उस्तै छ, रुग्ण र बुढो जस्तो ! पहिले पहिले अटेसमटेस, भरिभराउ देखिने दोकानमा अहिले सामान नाम मात्र !
फेरि मनमा कुरा खेल्छन्, मारवाडी भनेर र व्यापारी भनेर मात्र पनि हुँदैन रहेछ । यो राजेश सेठ असमयमै रोगी र बुढो भएको उसको आर्थिक अवस्थाले हो ।
राजेश सेठ फेरि लहरै रहेका अरू किराना दोकानतिर औँलाले देखाउँछ र भन्छ, “पहिले तपाईंले देखेको मेरो र मेरो भाइको किराना दोकान थियो । अहिले यो दुई वटा मेरो छोराहरूको छ, अनि अर्को एउटा मेरो भाइको छोराको । मेरो भाइ त मरिसकेको छ ।”
ऊ सुस्तरी बोलिरहेको छ । म बुझ्छ,ु उनीहरूका छोराहरू छुट्टिएर बसेका छन्, आआफ्नो गर्दै छन् ।
म सोध्छु, “यो घर त तपाईंहरूकै हो नि, होइन ?”
“हो, यो मेरो आफ्नै छ । मेरो बाबुजीले पनि यसमा नै किराना दोकान गरेको । त्यसपछि म र मेरो भाइ । अनि अहिले हाम्रो छोराहरूले गर्दै छन् ।”
“म सामान लिन आएको तर...?” म वाक्य पूरा गर्दिनँ ।
ऊ कुरा बुझ्छ । भन्छ, “मेरो छोराहरूको दोकानमा सबै सामान भेटिन्छ, त्यसमा जानुस् न ।”
उसका छोराहरूले उसलाई के गरे ? हेरविचार के गरे ? थाहा छैन र पनि ऊ छोराहरूप्रति न्यौछाबर छ ।
म उसलाई सुन्दिनँ । भन्छु, “होइन, तपाईंकहाँ जे जे छ, म यहीँ किन्छु ।”
म चाहिनेभन्दा बढी सामान किन्छु । त्यसैबेला भित्रबाट एउटी बुढी आइमाई गिलास हातमा लिएर आइपुग्छिन् ।
राजेश मलाई हेर्छ । भन्छ, “चिया खानुहुन्छ, चिनी नहालेको ?”
“प्रेमले खुवाएपछि म सब चिज खान्छु । चिनी हाले पनि के, नहाले पनि के ! तर अहिले खान्न । किनभने मलाई हतार छ । धेरै ढिलो भयो । अब म जान्छु ।”
“तपाईंलाई अरू सामान चाहिँदैन ?” ऊ सोध्छ ।
म एकछिन सोच्छु र भन्छु, “तपाईँ आफैँले आफ्नो छोराको दोकानबाट मलाई चाहिने अरू सामान ल्याइदिन सक्नुहुन्छ ?”
ऊ ती हातमा चियाको गिलास लिएर आउने बुढी आइमाईतिर हेर्छ । म बुझ्छु यी आइमाई उसकी स्वास्नी हुन् । तिनले ‘हुन्छ’ मा टाउको हल्लाउँछिन् ।
म भन्छु, “तपाईंसँग ग्राहकलाई चाहिने जति सामान नभएर के भो, अरूसित पनि लिएर बेच्न सक्नुहुन्छ । चाहे छोरासँग लिनुस्, चाहे अरूसँग ! त्यसबापत तपाईंले केही रकम मार्जिन पाउन सक्नुहुन्छ । यस्तो हुन्छ व्यापारमा । काठमाडौँमा त दोकानै नखोली अर्डर लिएर सामान बेच्ने कम्पनीहरू छन्...।”
ऊ ट्वाल्ल पर्छ । मेरो मुखमा हेर्छ, “तपाईंलाई चिनिनँ मैले तर देखेको जस्तो अहिले लाग्दै छ !” ऊ आफ्नो दिमागलाई जोड दिन खोज्छ ।
म भन्छु, “सम्झनुस् कहाँ देख्नुभएको होला ? तपाईं र मेरो चिनजान थियो...!”
ऊ अझै बल गर्दै छ, मलाई सम्झिन, कहाँ देखेँ हुँला ? आखिर मै बोल्छु, “यहीँ नजिकको बैङ्कमा थिएँ म । तपाईं चेक लिएर आइरहनुहुन्थ्यो । १५ वर्षदेखि म काठमाडौँमा छु, सरुवा भएर । अहिले मेरा बा बित्नुभएकाले घर आएको...!”
ऊ झसङ्ग हुन्छ । बोल्छ, “याद आइहाल्यो, तपाईंले एक पटक मेरो दोकानबाट साइकलमा एक टिन करुवातेल हालेर लग्नुभएको, कहाँ बिर्सिन्छु ! मलाई लागेको थियो यो बैङ्कको बाबुले किन यस्तो हैरानी गरेको होला । रिक्साले त लगिहाल्थ्यो ।”
म हाँस्छु, केही बोल्दिनँ । मनमनै बोल्छु, “म घुस नखाने ‘बाबु’, त्यसैले यस्तो गर्थें । दुःख खेप्थेँ ।”
“तपाईं त धेरै बुढो हुनुभएन । अहिले पनि उस्तै देखिनुभएको छ ।” ऊ फेरि बोल्छ । म फिस्स हाँस्छु । बोल्दिनँ ।
ऊ नै फेरि बोल्छ, “तपाईंको घर त राममन्दिरपछाडि होइन ? भाटभटेनीनजिक छ । त्यहाँ सबै किराना सामान पाइहाल्छ, किन यहाँ आउनुभयो ?”
“यहाँ नआएको भए तपाईंसित कसरी भेट हुन सक्थ्यो ?” म यति बोल्छु र उसको आँखामा हेर्छु । उसको आँखा नजानिँदो पाराले रसिलो बनेको छ, म पढ्छु ।
म ती आइमाई जसले उसका लागि गिलासमा भित्रबाट चिया लिएर आइन् (जो उसकी स्वास्नी हुन्) लाई हेर्दै एउटा चिर्कटमा सानो लिस्ट तयार पार्छु र थमाउँछु ।
एकछिनमा छेउको दोकानबाट मेरो सामान सबै आइपुग्छ ।
म पैसा तिरेर हिँड्न हिँड्न लागेको हुन्छु, त्यसैबेला एउटा सेतो लुगा लगाएको अर्को मान्छे यसै दोकानमा आउँछ ।
यसबेला मेरो मुखमा मास्क छैन । यहाँ कसैले मास्क लगाउँदैनन् । मैले पनि मुखबाट मास्क हटाइसकेको छु ।
त्यो सेतो लुगा लगाएको मान्छे पनि मलाई देखेर मानौँ झस्किन्छ । र, फेरि खिस्स हाँस्छ ।
म ऊसित हात मिलाउँछु । बोल्छु, “कमरेड ! को बित्नुभएको ?”
म उसको आँखामा आँखा गाड्दै छु र बोल्दै छु । यसको नाउँ पनि रमेश । ऊ मुखिया रमेश अधिकारी । यो कमरेड रमेशको थर पोखरेल !
अधिकारी रमेश मेरो आँखासित आँखा गाडिँदा झस्किएको कारण सायद मेरो मुखमा मास्क भएकोले म नै हो कि, हो कि भएर । अथवा, हो भने ‘यसले किन सेतो लुगा लगाएन, यो दानव’ भनेर ।
तर यो रमेश पोखरेल झस्किएको कारण ‘बरु नरेशले पो हिम्मत ग¥यो सेतो लुगा लगाएन, मैले चाहिँ किन सेतै नलगाउन सकिनँ ? म बरु क्रान्तिकारी होइन !’ भनेर...!
उसलाई फेसबुकबाट थाहा भइसकेको थियो मेरो बा खस्नुभएको किनभने फेसबुकमा मैले राखेको बा खसेको खबर र फोटोमा उसले कमेन्ट लेखेको थियो, म सम्झिरहेको थिएँ ।
कमरेड रमेश पोखरेल मानौँ पक्राउ परेको चोर झैँ मुन्टो लत्र्याएर, “को बित्नुभएको” को मेरो अघिकै प्रश्नमा बल्ल बोल्छ, “आमा ।”
ऊ मेरो आँखामा आँखा गाड्दै बोल्छ, “तपाईंको पनि बा खस्नुभएको होइन ?”
म जवाफ दिन्छु, “हो, आज १५ दिन भयो ।”
अनि फेरि म पनि उसको आँखामा आँखा गाडेर फेरि आँखा सेतो उसको लुगातिर हुत्याउँदै बोल्छु, “अनि सेतो लुगा लगाउनैपर्ने ?”
ऊ सफाइ दिन्छ, “आमाको इच्छा थियो, मेरो स्वर्ग जान बाधा नपार्नु तिमीहरूले भन्नुभएकाले...!”
ऊ यति बोलेर चुप लाग्छ ।
म मनमनै बोल्छु, “समाज बदल्न हिँडेकाको दुर्गति हेर...!”
अन्तिममा म फेरि बोल्छु, “आमाको इच्छा त पूरा गर्नै पर्छ । आमा भनेकी सृष्टि हुन्, हाम्री जननी ! जिउँदैमा पनि आमाको इच्छा पूरा गर्नुभयो नै होला...?”
ऊ ट्वाल्ल पर्छ कि पर्दैन, थाहा छैन । कुरा बुझ्छ कि बुझ्दैन, थाहा छैन । यति बोलेर म अघि बढ्छु । कमरेड रमेश किन दोकानमा आएको थियो, त्यो पनि थाहा पाउँदिनँ । एउटा सिटी रिक्सालाई इसारा गर्छु । दुई हातको झोलामा झुन्डिरहेको सामान सिटी रिक्सामा राख्छु । बस्छु र भन्छु, “जाऊँ भाइ, शान्ति चोक जाऊँ, राममन्दिरनजिक...!”