विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस ११ गते । सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरु विरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै राजविराजमा दुई वटा सङ्गठनले शुक्रबार विरोध प्रदर्शन गर्नुका साथै बजार समेत बन्द गराएका छन् ।
सामाजिक सञ्जाल मार्फत आपत्तिजनक टिप्पणी गरेको गर्ने राजविराज निवासी अफरोज आलममाथि कानुनी कारबाहीको माग गर्दै राष्ट्रिय बजरङ्ग दल र हिन्दु सम्राट सेना समर्थिक कार्यकर्ताहरुले नाराबाजी गर्दै राजविराज बन्द गराएका हुन् ।
बन्दको प्रभावले राजविराजबाट चल्ने छोटो तथा लामो दुरीका यातायात सञ्चालन हुन सकेको छैन भने आंशिक रुपमा बन्दको प्रभाव सरकारी कार्यालयमा पनि प्रभाव परेको छ । सप्तरी जिल्ला अदालतले सूचना टाँस गरी नै एक दिनको लागि सेवाप्रवाह रोकेको छ । हिन्दु धर्माम्वलम्बीको आस्थामा चोट पु¥याउने गरी सामाजिक सञ्जालमा टिप्पणी गर्ने उपर कारबाही हुनपर्ने हिन्दु सम्राठ सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले बताउनुभयो ।
यसअघि राष्ट्रिय बजरंग दल र हिन्दु सम्राट सेना र श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई कारबाहीको माग सहित ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा राजविराज नगरपालिका वडा नम्बर १ रहमतपुर टोल निवासी अफरोज आलमले सामाजिक सञ्जालमार्फत भगवान् श्रीकृष्णलाई लक्षित गरी अत्यन्त अश्लील, अपमानजनक तथा घृणायुक्त अभिव्यक्ति सार्वजनिक गरेकाले कारबाहीको माग गरिएको थियो ।
यता आलमले भने तीनबर्ष अघि भूलबस सामाजिक सञ्जाल मार्फत त्यस्तो टिका टिप्पणी हुन गएकोले क्षमायाचना गरेका छन् । उहाँले समामाजिक सञ्जाल मार्फत नै यस्तो नदोहोर्याउने प्रतिवद्धता समेत जनाएका छन् ।