शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काँस फुल्यो बाटोभरि, गाउँ भयो शून्य
अर्मपर्म कोही छैन, कसलाई भन्ने
एक्लिँदै छु गाउँतिर, सबै लाखापाखा
उबेलाको गाउँ सम्झी रसाउँछन् आँखा
भन्छन् ठुलेदाइ–
गाउँ छाड्न सकिनँ हौ, यस्तै छ है भाइ !
रित्तिँदै छ गाउँघर, बाँझै भए खेत
थाप्लोभरि पिरैपिर, कहाँ खोल्ने पेट
जन्मीहुर्की बढेको यो, आफ्नै थातथलो
जसोतसो थामिरैछु, यहीँ धुरीबलो
भन्छन् ठुलेदाइ–
गाउँ छाड्न सकिनँ हौ, यस्तै छ है भाइ !
बिदेसिए कति कति, गरे उतै बास
मलाई भने मेरै गाउँ लागिरह्यो खास
खनीखोस्री जसोतसो पुगेकै छ खान
मरिगए आफूसँगै के नै छ र लान
भन्छन् ठुलेदाइ–
गाउँ छाड्न सकिनँ हौ, यस्तै छ है भाइ !
बस्नेलाई माटो भन्छन्, हिँड्नेलाई बाटो
दुःखसुख यस्तै नै हो चलुन्जेल जाँतो
मर्न पाऊँ यै माटोमा अन्तिम इच्छा यही
स्वर्गसरी गाउँ छाडी जानु छैन कहीँ
भन्छन् ठुलेदाइ–
गाउँ छाड्न सकिनँ हौ, यस्तै छ है भाइ !