जयकृष्ण यादव
इनरुवा, पुस १२ गते । भोक्राहानरसिंह गाउँपालिका–७ का ६६ वर्षीय शिवचरण ठाकुरले आफ्नो बाबुबाजेको कपाल काट्ने पुख्र्याैली पेसा धान्दै विगतको जस्तै बालीघरे प्रथाको संस्कृति जोगाउँदै आउनुभएको छ । उहाँले नरसिंह र इनरुवा नगरपालिका–९, बबियाका दुई वटा गाउँमा कापल काट्दै आउनुभएको छ ।
ठाकुरले कपाल काटेबापत वर्षमा दुई पटक धान र गहुँ मात्रै लिनुहुन्छ । उहाँले आफ्नो पुर्खाको पेसा र प्रथा धान्नुका साथै समुदायसँग मित्रवत् व्यवहारका लागि पनि बालीघरे प्रथामै चित्त बुझाउँदै आएको बताउनुभयो । अरू किसानले वर्षको एक बिघामा ४० देखि ८० मन अन्न उत्पादन गर्दै आएकामा आफूले कपाल काटेरै वर्षको ८० मनसम्म धान र गहुँ ज्याला उठाउँदै आएको उहाँ बताउनुहुन्छ । आफ्नो जाति ठाकुर (हजाम) ले विगतदेखि नै कपाल काट्दै आएको र त्यसबापत अनाज लिने पुख्र्यौली संस्कृति आफूले धानेको उहाँले बताउनुभयो । आफ्नो एक छोरा काठमाडौँमा सैलुन खोलेर बसेको उहाँले बताउनुभयो ।
सोही ठाउँका राम ठाकुरले पनि बालीघरे प्रथामै चित्त बुझाउनुभएको छ । आफूहरूको दिनचर्या र जीविकोपार्जनको आधार नै कपाल काट्ने पेसा भएकाले बालीघरेसँगै साप्ताहिक हाट र केहीले पसल खोलेरसमेत सेवा गर्दै आएको ठाकुरले बताउनुभयो ।
त्यसै गरी इनरुवा–९ का फुदन ठाकुर पनि बालीघरे प्रथामै रमाएको र त्यसबाट केही कमाएको बताउनुहुन्छ । कोशी गाउँपालिका–२, पश्चिम कुसाहाका सुकदेव ठाकुर पनि कपाल काटेबापत गहुँ र धान लिनुहुन्छ । उहाँले कामको पारिश्रमिकबापत एक जनाको कपाल काटेबापत वार्षिक रूपमा एक मन अन्न लिने गर्नुहुन्छ । सदिऔँदेखि चलिआएको बालीघरे प्रथा निर्मूल हुन नसक्दा आफूहरूले काम गरेबापतको मूल्य भने नपाएको उहाँको गुनासो छ । बालीघरे प्रथा अनुसार उनीहरू परिवारबाट भिन्न हुँदा ग्राहकको पनि अंशबन्डा गर्ने गर्छन् ।