• १८ जेठ २०८२, आइतबार

भक्तिमा शक्ति, सत्यमा भक्ति

blog

शक्ति भक्तिमा हुन्छ, भक्ति सत्यमा हुन्छ । सत्य निष्ठावान्बाट शान्ति पाइन्छ, शान्तिबाट मनस्थितिमा ऊर्जा आउँछ । ऊर्जाले उत्साह, उत्साहले मनस्थितिलाई साम्राज्य बनाउँछ । यही साम्राज्यबाट वीर पुरुष हुन्छ । वीर पुरुष बन्न सके मात्र सुनौलो अक्षरले इतिहास लेख्न सफल हुन्छ । त्यसैले ज्ञानी मानिस सत्यलाई जानेर, बुझेर सत्कर्ममा लागेको हुन्छ । ज्ञानले सांसारिक अवस्थालाई बुझेपछि तब मनको गहिराइबाट स्वतःस्फूर्त निष्ठापूर्वक समर्पण भावनाले साधना गरेर ईश्वर भक्त हुन्छ । भक्तिले कठोरतालाई कोमलतामा बदलिदिन्छ । कोमलताले करुणाको मुहान उमारिदिन्छ । करुणामा हृदय पग्लेर आसु बहन्छ । भक्ति गुरुको कृपाबाट गुरुको प्रेरणाबाट श्रद्धाभक्ति मनमा जाग्छ । सदगुरु मिल्न कठिन, मिल्यो भने चिन्न कठिन, चिन्यो भने सङ्गत गर्न कठिन, सङ्गत गरी उनी निकट बसेर ज्ञानको कुरा सुन्न कठिन । सुन्यो भने बुझ्न कठिन । बुझ्यो भने व्यवहारमा उतार्न कठिन । उतारेर जीवन भर त्यस बाटोमा हिँड्न कठिन । त्यो बाटोमा हिँड्न सके, भक्तिले मुक्तिको गति नजिक पु¥याउँछ । मस्तिष्कमा नानाथरीका प्रपञ्चले भरेकाले सफलता प्राप्त गर्न मुस्किल भएको हो ।

हाम्रो शक्ति, भक्ति र सत्यताबाट क्षमता वृद्धि हुन्छ । भक्तिमा शक्ति हुन्छ, कृष्ण भगवान्ले आफ्ना भक्त सुदामाले दिएको तीन मुठी कनिका खाएर भक्तको इच्छा अनुरूप सुदामाको गाउँ नै सहर बनाई दिए । यसरी आश्चर्य चकित हुने गरी भगवान्को कृपा हुनु भक्तिमा शक्ति हुनु हो । पहिला सुदामा दरिद्रताले अत्यन्तै दुःखित थिए । एक छाक खान पनि धौ धौ भएकाले भिक्षा मागेर गुजारा चलाउन पथ्र्यो । भिक्षा मागी ल्याएको अन्न पकाएर खान लाग्दा सन्न्यासी आई भिक्षा मागे । सुदामाले आफ्नो भागमा राखेको मात्र नभई आफ्नो परिवारलाई पस्केको भागसमेत सन्न्यासीलाई दिए । यो त्याग प्रभुप्रति समर्पण हुनु प्रभुको भक्ति गर्नु हो । जब प्रेम हुन्छ, त्यहाँ त्याग हुन्छ, जहाँ त्याग हुन्छ, त्यहाँ समर्पण हुन्छ । जब समर्पण गरिन्छ, समर्पण प्रेमले स्नेह पाउँछ । स्नेहले गर्दा मानिससँग जनावर, पशु, पन्छी पनि नजिक भएको हामीले देखेका छौँ । त्यस्तै भक्त ध्रुवले ईश्वरको स्नेह पाउनाले ध्रुव लोक पाएर ध्रुव तारा हुन पाइयो । 

मिरावार्र्ई श्रीकृष्ण भगवान्की अराधिका थिइन्, उनी अन्यत्र कुरामा अनासक्त भई निरपेक्ष रूपमा श्रीकृष्ण भक्तिमा निर्लिप्त भइन् । उनले आठ सय वटा भजन लेखेकोमा पाँच वटा मात्र प्रचलितमा आएको छ । राजा महाराजाको दरबारमा भजन गाउन निमन्त्रणामा पनि उनी जादैनथे । उनी कृष्णका लागि मात्र भजन गाउने भएकाले कसैको मनोरञ्जनमा लागि भजन गाउँदिन । उनको स्वर अत्यन्तै मिठास भएकाले भजन सुन्न मसुर सङ्गीतकार तानसेन र राजा महाराजासमेत भजन सुन्न आउने गर्थे । मिरावाई कृष्ण भक्तमा एकाग्र भई तल्लीन भएको उनका परिवारलाई मन परेको थिएन । भक्त प्रह्लादलाई हिरण्यकश्यपुले मार्न अनेकौँ प्रयास गरे तर सारा प्रयास विफल भए जस्तै । त्यस्तै मिरावाईलाई पनि परिवारले मार्न अनेक चेष्टा गरे । विष खुवाए, ओछ्यानमा सर्प राखे तर कुनै पनि प्रयास सफल हुन सकेन । 

यसरी भक्तिमा शक्ति हुन्छ भनेर शक्तिले आफ्नो शक्ति देखाएको छ । भक्ति गर्दा ईश्वरप्रति डुबेर समर्पण गरेपछि ईश्वरप्रति विश्वास बढेर आकर्षण हुन्छ । त्यसपछि मात्र ईश्वरको भक्त हुन्छ । भक्तिले मानसिक र शारीरिक मजबुती हुन्छ । भक्तिले लोभ, मोह, भय जस्ता विकार नाश भएर जान्छ । विचार एकत्रित गरेर भक्तिभाव गरेपछि विचार सक्षम हुँदै आत्मा शुद्ध हुन्छ । मनलाई शान्त गरी ईश्वरसँग केही सर्त नराखी प्रार्थना गर्ने ईश्वरकै चिन्तन गर्दै ध्यान गर्ने । यसबाट ईश्वरप्रति प्रेम भावना जागेर वैराग्यपन भएर आउँछ । तब ईश्वरको कृपा पाउँछ । ईश्वरको कृपा पाएपछि जीवनमा अरू कुनै आवश्यकता पर्दैन ।

शक्तिको दुरुपयोग गर्न लागे फलामले फलाम काटे झैँ शक्तिले शक्ति क्षय गरिदिन्छ । इन्द्रजितले लक्ष्मणका लागि नारायण अस्त्र, पाशुपतास्त्र, ब्रह्मास्त्र चलायो केवल लक्ष्मणलाई प्रदक्षिणा गरी तेजहीन भए । इन्द्रजित शक्तिशाली भइकन शक्तिको दुरुपयोगले गर्दा लक्ष्मणको हातबाट मृत्यु भयो । त्यस्तै बर्बरिक महाबली भिम र हिडम्बाको नाति घटोत्कचका पुत्र थिए । ती महान् योद्धा थिए । बर्बरिकले महादेवको तपस्या गरी तीन वटा अचुक वाणको साथै अदभूत युद्ध शक्तिको वरदान पाए । पहिला वाण मनले जसलाई चाहियो उसलाई मृत्युको चिह्न हुने । दोस्रो वाण जसको मृत्यु चिह्न भएको हो त्यसको मृत्यु हुने । तेस्रो प्रलय हुने । बर्बरिक आफ्नो शक्ति पनि प्रयोग गर्ने निर्बललाई साथ पनि दिने मनसायले महाभारत युद्ध हेर्न जान भनी आमा मौरवी र हजुरआमा हिडम्बासँग आशीर्वाद लिन लागे तर हिडम्बाकी नजरमा कौरवको साथ भीष्म पितामह, कृपाचार्य, कर्ण, अश्वत्थामा, द्रोणाचार्य बडेबडेमान योद्धा छन् । फेरि कौरवको साथ सेना पनि धेरै छन् । पाण्डवको सेना थोरै भएकाले कमजोर होला भनी निर्बललाई सहयोग गर्नु भनी आशीर्वाद दिएर पठाए । भगवान् श्रीकृष्णले यो धर्म युद्धमा बर्बरिकले गर्दा युद्ध अधकल्चो अर्थात् युद्ध कायापलट हुने भयो भनेर उनको शिर मागेर युद्धदेखि पन्छाए । बर्बरिकले धर्मयुद्ध जिताउनका लागि आफ्नो शिर काटिदिए । बर्बरिकलाई महादेवले पनि वरदान दिँदा निर्बललाई साथ दिनु भनेका थिए । त्यही अनुसार बर्बरिकले पनि आफ्नो प्राण बलिदान दिएर महादेवलाई दिएको वचन निभाएका हुन् । श्रीकृष्ण भगवान्ले बलिदानको कदर गरेर स्वयम् आफ्नो नामबाट पूजा होस् भनी वरदान दिएका हुन् । त्यसैले बर्बरिकलाई राजस्थान खोटूमा खोटू श्यामाको नामबाट पुज्ने गरिएको छ । बबरिकसँग अमोघ वाणले गर्दा महाशक्तिशाली शक्तिको दुरुपयोग हुन लागेपछि भगवान् श्रीकृष्णले हावाहुरीलाई पहाडले छेकेर अन्तै मोडे जस्तै उनको शक्तिलाई क्षय गरी दिए । 

सत्यशक्तिको मात्र महìव हुने भएकाले हामीले हाम्रो शक्तिलाई सदुपयोग गर्न सिक्ने ज्ञान हासिल गर्नु पर्छ । हामीसँग जुन क्षमता छ, त्यो नै हाम्रो शक्ति हो । वैज्ञानिकको भनाइ अनुसार, संसारमा दुई वटा चिज मात्र छन्, त्यो हो पदार्थ र शक्ति । हाम्रो शरीर पदार्थ हो भने हाम्रो क्षमता शक्ति हो । हामीसँग जुन शक्ति छ, विचारिय शक्ति ज्ञानबाट काया चलायमानको शक्ति खाना र हावापानी तापले दिएको छ । हामीले खाने अन्नलगायत सागसब्जी, फलफूललाई पनि शक्ति माटो, हावापानी र तापले दिएको हुन्छ । यो हावा, पानी, ताप यी सबैमा भएको शक्तिलाई ब्रह्माण्डीय शक्ति भएको मानिन्छ । हामीसँग पनि त्यो ब्रह्माण्डीय शक्ति छ । त्यो ब्रह्माण्डको शक्तिलाई ईश्वरीय शक्ति मानिएको हो । ईश्वरीय शक्ति धर्ममा हुन्छ । धर्म सत्यमा हुन्छ । भक्तिमा शक्ति हुन्छ । 

तुलसीदासले हनुमानका भक्ति गर्दागर्दै हनुमानको कृपाले श्रीराम चरित मानस नामको रामायण लेखे । यो रामायण लेखी सक्दा तुलसीदासलाई देखावटी धर्ममा लागेका पण्डितहरूले विरोध गरे तर तुलसीदास कोहीसँग झुकेनन् । ईश्वरको कृपाले उनी रामायण लेखनमा सफल भए । ईश्वरबाहेक कोहीसँग नझुक्ने तुलसीदास बास्सा (बादसाह) सँग नझुकेपछि उनलाई बन्दी बनाई पिट्न खोजियो । तुलसीदासले आफूले लेखेको हनुमान चालिसा गुनगुनाई स्तुति गरे । बास्साको भवनमा बाँदरहरू आएर आक्रमण गरे । बास्सा आँटिएर तुलसीदाससँग माफी मागे भन्ने भनाइ छ । यसरी भक्तिमा शक्ति हुन्छ भनी तुलसीदासको घट्नाले पनि प्रमाणित गर्छ ।

मनुष्य भएर जन्मेपछि जीवनको मूल्य बुझेर त्याग र तपस्या गर्न सके मात्र केही पाउन सकिन्छ । स्वार्थ र लालचले भरेको मस्तिष्क जेजति गर्न खोजे पनि यो धर्तीमा आएर जाने काम मात्र हुन्छ । आज स्वार्थ र लालचले जेजति सम्पत्ति कमाए पनि जस्तो उच्च ओहोदा समाल्न पाए पनि छोडेर जानु पर्छ । हामीले लिएर जाने पनि कमाउनु पर्छ भनी सत्कर्म गरे मनमा शान्ति मिल्छ । यति कुरालाई ध्यानमा राखि मनस्थितिमा राखेपछि दीन दुःखीको सेवा गर्ने भावना जाग्छ । भित्री मनमा भएपछि बाहिर प्रकट हुन्छ परिणाममा परिणत हुन्छ । निस्कपट भएर लोभ लालचबाट मुक्त हुन्छ । समाजलाई अग्रगति दिन योगदान गरेका महापुरुषहरूले लोभ लालचलाई तिलाञ्जली दिएको उनीहरूको जीवन कथामा पाएका छन् ।

हरिदास लोभ र मोहलाई तिलाञ्जली दिन सकेकोले साच्चै हरिको दास बन्न सकेको हो । भक्त हरिदासलाई शिष्यले पारस मणि चढाउँदा हरिदासले त्यो पारसलाई नलिइकन यमुना नदीमा राख्न पठाए । एक दिन तानसेनले अकबर बादसाहलाई सङ्गीत सुनाइ राखेको बेला अकबर बादसाहले सूरदासलाई भन्छन्, “तानसेन तपाईं जस्तो सङ्गीतज्ञ यो दुनियाँमा कोही छैन होला ।” तानसेन कान पक्रिएर भन्छन् मेरो गुरु हरिदासको अगाडि म केही होइन तर उनले केवल ईश्वरका निम्ति मात्र गाउनु हुन्छ । दुवै जना सल्लाह गरी केही खजाना लिएर हरिदासमक्ष जान्छन् । सङ्गीत सुनेर बादसाह भन्छन्, “स्वामीजी केही सेवा गरौँ कि ? तुलसीदास बिग्रेको कुना देखाएर इशारा गर्छन् । ती बिग्रेको सिँढी रत्नले जडेको देखेपछि बादसाह छक्क परी हरिदासको पाउमा पर्छन् । यो कुराबाट हामी के बुझ्न सक्छौँ भने सन्त महाराजको अगाडि राजा महाराजा पनि झुक्छन् । ईश्वरीय शक्तिको अगाडि हाम्रो केही लाग्दैन । पाँच पाण्डव जुवामा हारेपछि राज सभामा द्रौपदीको चीरहरण भयो । एकसे एक विद्वान् र उत्साही, साहसी भएका वीरहरू उपस्थित थिए । त्यहाँ सबैका बल बुद्धि निस्तेज भई नतमस्तक भए । द्रौपदीले कृष्ण भगवान्लाई प्राथना गरिन्, भगवान्ले साथ दिई द्रौपदीको लाज बचाई दिनुभयो । त्यसैले हामीसँग जेजति क्षमता भए पनि अन्तिममा ईश्वर नै चाहिन्छ । त्यसैले मनलाई स्थिर गरी ईश्वरलाई प्रार्थना गराँै । मनलाई स्थिर मनको यन्त्र मन्त्रले गर्छ । मन्त्रले मनको गतिलाई नियन्त्रण गरी स्थिर गर्छ । यही मन्त्रको नीतिगत भक्तिमा शक्ति हुन्छ ।