• १२ पुस २०८२, शनिबार

आशा, भरोसा र विश्वासको खोजी

blog

नेपाली बृहत् शब्दकोश दसौँ संस्करण २०७५ मा आशा शब्दलाई चाहेको वस्तु पाउने इच्छा, अभिलाषा, चाहना तथा लोभ आदिका रूपमा अथ्र्याइएको छ । यसै गरी भरोसालाई कुनै काम, व्यवहार जस्ता कुरामा अरूबाट हुने भरको आशा वा विश्वास, आधार, आश्रय वा टेकोका रूपमा लिइएको छ । विश्वासलाई कुनै काम, कुरो, व्यक्ति, मत, नीति आदिप्रति हुने सत्यताको धारणा; दृढ आस्था र पत्यारका रूपमा ग्रहण गरिएको छ । माथिका तीन शब्द झट्ट हेर्दा एकै प्रकृतिका देखिए पनि यथार्थ त्यसो होइन । तिनीहरूले गराउने अर्थबोधमा भिन्नता छ । हाम्रो जीवनमा तिनैथरी शब्दहरूको उत्तिकै महत्व र आवश्यकता छ । जीवनलाई गतिमय, प्रवाहमय, आशामय, र विचारमय बनाएर सक्रियताका साथ हिँडाउन ती शब्दहरूको विशिष्ट साथ सहयोग चाहिन्छ ।

सबैको आकाङ्क्षा कल्याण, विकास, उन्नति र प्रगति हो । यी कुराले मात्र मानिसलाई सुखी, खुसी र उत्साहित तुल्याउन सक्छन् । हाम्रो लक्ष्य पनि त्यही हो । त्यही प्राप्तिका लागि हामीले काम गरिरहेका हौँ । आशा, भरोसा र विश्वासको अभावमा मानिस सुखी, खुसी र सन्तुष्ट बन्न सक्दैनन् । संसारमा भइरहेका लडाइँ झगडादेखि विवाद र तनाव आशा, भरोसा र विश्वासकै अभावमा भएका हुन् । सुख र खुसीकै लागि मानिस आजीवन लागि रहेका हुन् । यो क्रम आज नभएर हिजै देखिको हो । त्योभन्दा पनि अघिको हो । त्यसो त लाग्ने बित्तिकै सफल होइन्छ भन्ने पनि छैन । कतिपयका प्रयत्न सफल त कतिपयका असफल भएका पनि छन् । तथापि मानिस बाटोबाट एक इन्च वरपर सरेका छैनन् । कतै विश्राम नलिई कर्म गरिरहेका छन् । प्रत्येक कर्मको जडमा आशा, भरोसा र विश्वास हुन्छ र यही कुरा बोकेर मानिस वर्षदेखि निरन्तर कर्म गरिरहेका छन् । 

धेरैको चाहना विकासले छिटोभन्दा छिटो गति लेओस् भन्ने नै हुन्छ तर त्यसो हुन सकिरहेको छैन । यस कारण मन मनमा असन्तोषको बीजारोपण भएको छ । जीवनमा सकारात्मक परिवर्तन आओस्, विगतका अप्ठ्यारा र असजिलाका ठाउँमा वर्तमानका पाना सहज र सरल होऊन्, हैसियत सुध्रिऊन्, आफूलाई उँचो र विकसित देखाउन पाइयोस् भन्ने हरेक मानिसका सोचमा हुन्छन् । हाम्रा मस्तिष्कमा यस्ता इच्छा आकाङ्क्षा सदियौँदेखि जरो गाडेर बसिरहेछन् । प्रतीक्षा वा चाहनाले मूर्तरूप लिन सकिरहेका छैनन् । अस्ति र हिजो जस्ता थिए आज पनि त्यस्तै छन् । आशा एउटा उज्याले बाटो हो । यसले प्रकाशको खोजी गर्छ । भरोसा र विश्वास पनि बलिया सहारा हुन् । अर्थात् यी उज्यालोका पर्याय हुन् । तिनीहरूलाई आत्मसात् गर्नुको विकल्प हुँदैन । एउटा लामो कालखण्डदेखि पर्खिरहेछौँ । पर्खाइले सकारात्मक मोड लिन सकिरहेको छैन । यथास्थितिको रजगज छ । यसर्थ हिजो आज आशा, भरोसा र विश्वासमाथि अनेकौँ शङ्का उपशङ्का उब्जन लागेका हुन् । 

हामीलाई थाहा छ आशा, भरोसा र विश्वास जीवनका मूल आधार हुन् । हरेक मानिस यो कुराबाट टाढा रहन सक्दैनन् । यी आधार आत्मसात् गरेर जीवनलाई सकारात्मक मोडबाट अगाडि पु¥याउन सकिन्छ । आशा, भरोसा र विश्वासलाई मनमा नराखेसम्म व्यक्ति वा समाजले सकारात्मक गति समात्न सक्दैन । जुन समाज वा देशका जनतामा आशा, भरोसा र विश्वास छ त्यो समाज वा देशले विकासको फड्को सहजै मार्न सक्छ । हाम्रा नजरबाट ती कुरा लुकेका छैनन् । विकासले गति लिएपछि मात्र जनता सुखी र खुसी बन्न सक्छन् । ती खुसी र सुखी भएपछि मात्र सकारात्मक सोचले स्थायी रूप ग्रहण गर्न सक्छ । हिजो–आज हाम्रा आशा, भरोसा र विश्वसमाथि धमिरा लाग्न थालेका त हैनन् ? शङ्का उब्जन लागेका छन् । मनमा शङ्का उब्जनु राम्रो होइन र यसले अगाडिको बाटो पनि देखाउँन सक्दैन । हरेक अविश्वासले पु¥याउने ठाउँ भनेको अन्धकार मात्र हो । अन्धकार वा अँध्यारो जीवनको मूल बाटो नभएर कुबाटो हो । त्यो बाटोबाट हिँड्न सक्दैनौँ वा सके पनि हिँड्नु हुँदैन । त्यसले केही समयका लागि आत्मसन्तोष त दिलाउला तर जीवनभर खुसी सुखी बनाउन सक्दैन । अन्धकारको लय लामो हुने हुँदा जिउने कला पनि लामै हुन्छ । नकारात्मकताले पछाडि धकल्ने काम मात्र गर्छ । त्यहाँबाट निस्कने परिणाम सकारात्मक हुन सक्दैन । त्याग्नुमा नै हामी सबैको कल्याण छ ।  

हिजोआज सामाजिक सञ्जालदेखि भेटघाट, छलफल, विचारविमर्श कुराकानी, बैठकलगायतका विविध गतिविधिमा यस्ता समाचारले विशेष रूपमा स्थान पाउन थालेका छन् । आशा, भरोसा र विश्वासका विपक्षमा धेरैभन्दा धेरै चर्चा परिचर्चा हुन लागेका छन् । केही होइन भन्दाभन्दै पनि धेरै मानिस यस्ता क्रियाकलापको पछि लाग्न थालेको देखिन्छ । किन हो कुन्नि ? यो क्रम ह्वात्तै बढेको छ । मन मनमा नराम्रा भाव र विचार पलाउन लागेका छन् । वितृष्णा र नैराश्यता जताततै सुनिन थालिएको छ । सन्तोष र खुसीका कुरा बिरलै सुनिने गर्छन् । नकारात्मक विचार वा चिन्तन सुन्न र ताली बजाउन अलि बढी लालयित बन्ने गरेका उदाहरण देखिन्छन् । यस्ता अर्थहीन विषयले किन बढावा पाउन लागेका हुन्, अर्थात् के छ राज ? यो खोजको विषय हो । कतै फोस्रो आदर्शका अनावश्यक गफ हाँकेर बढी बोलिरहेका त छैनौँ ? नचाहिने कुरामा जोड पो गरिरहेका छौँ कि ? कतै झुठा आश्वासन र प्रलोभन बाँडेर ढोँगी गीत गाइरहेका त छैनौँ ? यी आजका ज्वलन्त प्रश्न हुन् । यी प्रश्नका उत्तर खोज्न सके धेरै कुराको छिनोफनो हुने सम्भावना प्रबल छ । प्रश्न ओठ ओठमा छन् । बन्ने क्रम पनि यथावत् छ । जति पनि समाज वा देश अगाडि बढेका छन् ती सबैको मूलमा आशा, भरोसा र विश्वासले काम गरेको हुन्छ । 

आजभोलि हाम्रो समाजमा ती कुरा बिस्तारै देखिन छाडेका छन् । कुण्ठा, निरासा, छटपटी, आक्रोश र गालीगलौजले मनग्गे ठाउँ पाउन लागेको देखिन्छ । देशले विकासको फड्को नमारी खुसी र सुखी बन्न सकिँदैन । यसका लागि मनमा प्रचुर धैर्य आवश्यक पर्छ । अमेरिका, भारत तथा चीनलगायतका राष्ट्रले धैर्यका साथ आशा, भरोसा र विश्वासलाई सिरानी हालेका कारण माथि पुगेका हुन् । 

हिजोआज देशबाट लाखौँलाख युवा विदेश पलायन भइरहेछन् । विदेश जाने लहर नै चलेको छ । यहाँ केही छैन, यता बसे केही गर्न सकिँदैन । जो जसले जति प्रगति गरेका छन्, त्यो सबै विदेशमा गएर मात्र सम्भव भएका हुन् । हामीले आफ्ना सपना साकार बनाउन विदेश जानै पर्छ । त्यहाँ गएर प्रगति गरेका यहाँ बसेका भए केही गर्न सक्दैनथे । गर्न सक्ने भनेको उतै गएर मात्र हो । यता त कुनै सम्भावना नै छैन । यस्तो भाष्य बनाइएको छ । बनाइएको मात्र नभएर गाउँ गाउँमा पु¥याइएको छ । भाष्यले मजासँग काम गरिरहेको छ । कसले बनायो थाहा छैन तर मजासँग काम गर्ने गरी बनाएको छ । यही कारण जताततै नकारात्मकता बलियो बन्दै गइरहेको प्रस्ट हुन्छ । सकारात्मकता देखिन पनि हम्मेहम्मे पर्न लागेको छ । कतै हामी अनावश्यक वा फाल्तु कुरामा समय बर्बाद गरिरहेका त छैनौँ ? हाम्रा बोलीमा आममानिसले अपत्यार गरेका कारण यो अवस्था सिर्जना भइरहेको त होइन ? प्रश्न पेचिलो छ । उत्तर खोज्नु त्यत्तिकै आवश्यक छ । जानेबुझेका मानिएकाले नहुने वा हुन नसक्ने काल्पनिक र अयथार्थ कुरा गरेर यथार्थलाई ढाकछोप गर्न तनमनले लागेका कारण माथिको भाष्य बलियोभन्दा बलियो बन्दै गएको हो । त्यस्ता बोलीमा लगाम नलगाए भविष्य अझ अन्धकार हुनेमा शङ्का छैन । 

यसो नभए मानिसका मन मनमा, समाजका विभिन्न तह र तप्कामा नकारात्मकताको मात्रा बढ्दै जानुको खास कारण के हो त ? यद्यपि मानिस तिनै नकारात्मक कुरा गर्नेका पछि पछि किन लागि रहेछन्, गम्भीर विषय हो । जिम्मेवारले जिम्मेवारीका साथ सोच्नु र समस्या समाधानतिर गम्भीर बन्नु अति आवश्यक भइसकेको छ । सबैले सबैले जानेका हुन्छन् । जानेका जति जहाँ पायो त्यहीँ बेल्नु आवश्यक पनि हुँदैन । यसर्थ जान्ने बुझ्नेले अनावश्यक बोलीलाई नियन्त्रण गर्नु आवश्यक छ । हिजो आज अगुवाका अनियन्त्रित बोलीले गर्दा समाजमा नकारात्मक प्रभाव पर्दै गएको देखिन्छ । कम बोल्ने र चाहिने मात्र बोल्ने हो भने समाजमा यति नकारात्मकता बढ्ने नै थिएन । हामीहरूले हुने भन्दा नहुने बोल्यौँ । आफूबाहेक कोही अन्य कोही जानकार नभएको मान्यौँ । आफूभित्रकालाई देवत्वकरण र बाहिरकालाई दानवीकरण ग¥यौँ, त्यसैले आमचिन्तनमा नकारात्मक भावले प्रश्रय पाएको हो । 

मानिस विकास चाहन्छन्, विश्वास चाहन्छन्, आस्था, भरोसा र आशा चाहन्छन् । मनगढन्ते, हुँदै नभएका र असम्भव गफ सुन्न चाहँदैनन् । यद्यपि नचाहँदा पनि सुन्न विवश छन् । अनावश्यक र फजुल गफले निम्त्याउने निराशा र वितृष्णा नै हो । आशा भरोसा जगाउने कामतिर सम्बन्धित पक्षको ध्यानाकर्षण हुन सकिरहेकै छैन । समाज र सामाजिक संरचनामाथि डाह गर्नेहरूको नजरलाई फाइदा पुग्ने हिसाबले काम भइरहेको छ । आशा जगाउने तथा विश्वास बढाउने काम हुन नसकेकै कारण आमजनमानसमा वितृष्णाको भाव निरन्तर बढिरहेको हो । यसलाई कसरी कम गर्ने वा आमजनताको चित्त बुझाउने भन्नेतिर जिम्मेवारको सोच पुग्न नसकेको स्पष्ट हुन्छ । सम्बन्धित पक्ष सचेत अनि सजग भइदिए समाधान नहुने समस्या नै हुँदैन । यही कारण हामी बाँचिरहेको वर्तमान स्पष्ट नभएर गाोलमटोल बनेको हो । जिम्मेवारी पाएका निर्धक्क बनिरहेका छैनन् । प्राप्त कामबाट पछि हटिरहेछन् । उनीहरूसँग स्पष्ट विचार नभए पछि हुने गन्जागोल मात्र हो । उनीहरू नै अलमलिएको अवस्थामा सामान्य जनमानसमा आशा, भरोसा र विश्वास डगमगाउनुलाई अन्यथा भन्न सकिँदैन । कता कता केही नपुगे जस्तो, केही नमिले जस्तो आभाए हुन थालेको छ । वर्तमानले सही बाटो लिन नसकिरहेको महसुस हुँदै छ । 

सबैभन्दा ठुलो खोजी आशा, भरोसा र विश्वास हो । यी कुराहरूले मात्र आममानिसलाई सही बाटोमा हिँडाउन सक्छ । मानिसका मन मस्तिष्कबाट माथिका कुरा बिस्तारै बाहिरिँदै गएको अवस्था छ । तीबिना वास्तविक अनि सकारात्मक सोचको परिकल्पना गर्न सकिँदैन । अर्थात् ती जीवन बुझ्ने मूल बाटा हुन् । तिनलाई आत्मसात् नगरी सफल हुन सकिँदैन । विधिको विडम्बना । अलिअघिदेखि मनबाट ती बिस्तारै बसाइँ सरिरहेछन् । जिम्मेवार सुनेको नसुन्यै र देअ‍ेको नदेख्यै गरिरहेछन् । देश विकास मात्र नभएर समाज, परिवार र व्यक्तिले सही बाटो समाउन पनि जीवनका हरेक मोडमा आशा, भरोसा र विश्वासको महत्वपूर्ण साथ र हात चाहिन्छ । हाम्रा मन र मस्तिष्कबाट ती कुरा बिस्तारै टाढिँदै गएका छन् । यही कारण अनेकौँ समस्या उत्पन्न हुने प्रबल सम्भावना छ । यसर्थ पनि वर्तमानको खोजी आशा, भरोसा र विश्वास हो ।