• १८ जेठ २०८२, आइतबार

हुलाक टिकटमा भोजपुर

blog

हुलाक टिकटले देशको भूगोल, रहनसहन, संस्कृति, भाषा र कलाको संयोजन गरेको हुन्छ । हुलाक वस्तुको ओसारपसार गर्दा संसारभर हुलाक टिकट पुग्छ, सँगसँगै इतिहास, संस्कृति, कला र भाषा बोकेर जान्छ । नेपालमा सरकारी कागजमा हुलाक टिकट राख्ने प्रचलन छ । हुलाक टिकटले सरकारी राजस्व मात्र दाखिलासँगै प्रमाणको समेत काम गरिरहेको हुन्छ ।

विश्वमा सर्वप्रथम सन् १८४० मा बेलायतमा ‘पेनी ब्ल्याक’ हुलाक टिकट प्रकाशन भएको थियो । नेपालमा विसं १९३८ वैशाखमा एक आना मूल्यको खुकुरी क्रस र श्रीपेच अङ्कित हुलाक टिकट प्रकाशन भएको थियो । हालसम्म नेपालमा १४७० जति हुलाक टिकट प्रकाशन भइसकेको छ । नेपालमा विभिन्न भौगोलिक भूभाग, मठमन्दिर, जातजाति, राष्ट्रिय व्यक्तित्व, वेशभूषा, संस्कृति आदिको हुलाक टिकट प्रकाशन हुने गरेको छ । हालसम्म नेपालमा एक हजार ४७० जति हुलाक टिकट प्रकाशन हुँदा भोजपुर जिल्ला सम्बन्धित हुलाक टिकट नौ वटा प्रकाशन भएको अभिलेख पाइएको छ । 


बालागुरु षडानन्द 

षडानन्द अधिकारीको जन्म १८९२ साल मार्ग शुक्लपञ्चमीका दिन भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो । लक्ष्मीनारायण अधिकारी र रुक्मिणीका कान्छा छोरा षडानन्द गर्भेटुहुरो हुन् । 

दिङ्ला सभ्यताका जनक चामेश्वर नेवार र त्यसका प्रवर्तक आबाल ब्रह्मचारी षडानन्द हुन् । नेपालकै जनस्तरबाट सञ्चालित पहिलो पाठशाला संस्थापक समाज सुधारक शिक्षासेवी आवाल ब्रह्मचारी षडानन्दले विसं १९३२ मा षडानन्द संस्कृत पाठशाला सञ्चालन गरेपछि दिङ्लाको ऐतिहासिक महìव बढेको थियो । षडानन्दले योग साधना, विद्यालय स्थापना, गुठी व्यवस्था, बगैँचा निर्माण, पाटी, धारा, कुण्ड, पोखरी र बाटो निर्माण, टुँडिखेल निर्माण, सामुदायिक वनको व्यवस्था, मेला व्यापार, फजुल खर्च नियन्त्रण र सदाचार शिक्षा प्रचारमा महत्वपूर्ण योगदान पु¥याएको पाइन्छ । उनले सिद्धिप्राप्ति र श्री १०८ को उपाधिसमेत पाएका थिए । 

उनले १९६६ सालमा धर्म पत्रिकामार्फत आफ्नो सिर्जना प्रकाशित गरी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेलापर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएका थिए । त्यसपछि काठमाडौँ टेकुको पचलीघाटमा अवस्थित आश्रममा फर्किएर १९७३ सालको जेष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदारहँदै षडानन्द ब्रह्मलीन भएका थिए । षडानन्दको सम्मानमा भोजपुर जिल्लामा षडानन्द नगरपालिका नामकरण गरिएको छ ।

हतुवागढी

हतुवागढीको तस्बिर अङ्कित टिकट हुलाक विभागले प्रकाशनमा ल्याएको थियो । हतुवागढी किराँतले शासन गरेको ऐतिहासिक भूमिका रूपमा प्रसिद्व छ । भोजपुर जिल्लामा हतुवागढी गाउँपालिका नामकरण गरिएको छ । 

प्रजातान्त्रिक योद्धा रामप्रसाद राई

विसं १९६५ मा माझकिराँत भोजपुरमा जन्मिएका प्रजातान्त्रिक योद्धा रामप्रसाद राई ब्रिटिस भारतीय गोरखा सेनामा नौ वर्ष काम गरी विसं १९८९ देखि प्रजापरिषद्सँग आबद्ध भई राजनीतिक गतिविधिमा संलग्न भएका थिए । स्वतन्त्र राष्ट्रवादीको हैसियतले देशमा प्रजातन्त्र स्थापनार्थ लड्ने यी योद्धाले आफ्नै नेतृत्वमा मुक्तिसेना गठन गरी विसं २००७ मा माझकिराँत भोजपुरमा राणाका सेनालाई परास्त गरेका थिए ।

विसं २००८ मा कैद सजाय भोगेका देशभक्त रामप्रसाद राईको सोही वर्ष षड्यन्त्रपूर्वक हत्या भएको भनिन्छ । रामप्रसाद राईको नामबाट भोजपुरमा रामप्रसाद राई गाउँपालिका नामकरण भएको छ ।

सिद्धकाली मन्दिर

भोजपुर सदरमुकामको शिरमा अवस्थित सिद्धकालीको मन्दिर प्रसिद्ध देवी शक्तिपीठमा पर्दछ । पहरामा दक्षिणतर्फ मूलद्वार फर्किएको यो मन्दिर एकतले छ । स्थानीय बासिन्दाको भनाइ अनुसार स्थानीय नेवार थरलाई सपनामा तीन पटकसम्म माताको दर्शन भएपछि सपनामा देखिएको स्थानमा प्राप्त शिलालाई सिद्धकाली माताको प्रतिमाका रूपमा स्थापना गरी मन्दिर निर्माण भएको थियो । यस मन्दिरमा बडादसैँमा एक हप्तासम्म मेला लाग्दछ । नवरात्रिमा यो मन्दिर चौबसै घण्टा खुला रहन्छ । हरिबोधनी एकादशी, हरिशयनी एकादशी, हरितालिका तीज तथा रामनवमी जस्ता पर्वमा मन्दिरमा विशेष भिड लाग्दछ ।

साल्पापोखरी

भोजपुर जिल्लाको साबिक दोभाने गाउँ विकास समिति–८ हाल साल्पासिलिछो गाउँपालिका–५ स्थित साल्पापोखरी रहेको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको यस पोखरी समुद्री सतहबाट ३६७२ मिटरको उचाइमा रहेको छ । सिलिचुङ पहाडको काखमा अवस्थित यस पोखरी करिब ३७६ वर्गमिटर परिधिमा फैलिएको छ । यसको गहिराइ पाँचदेखि सात मिटर रहेको अनुमान छ । यो पोखरी भोजपुर जिल्ला सदरमुकामबाट ७९ किलोमिटर उत्तर (४४ माइल) तर्फ रहेको छ ।

भदौको ऋषितर्पणी (जनैपूर्णिमा) का दिन यहाँ ठुलो मेला लाग्छ । टाढा टाढाबाट सयौँको सङ्ख्यामा धामीझाँक्री आई दर्शन र साधना गर्दछन् । यहाँ नुहाउनाले र साल्पादेवीको दर्शन गर्नाले रोग निको हुने, बोल्न नसक्नेहरू बोल्न सक्ने, सन्तान नहुनेको सन्तान हुने जस्ता धार्मिक विश्वास रहेको छ । पोखरीको एक किनारामा साल्पादेवीको मन्दिर, पश्चिमपट्टि पाटीपौवा र प्राकृतिक गुफा रहेको छ । देवीको मन्दिरसँगै बौद्ध गुम्बा पनि छ । यो पोखरी कहिलेकाहीँ गर्जेका दिन घाम लाग्ने र दिनको मध्याह्नमा पोखरीको बिचमा नाग देखा पर्दछन् पनि भनिन्छ । पोखरीमा रुखबिरुवाको पातपतिङ्गर हुँदैन । सिलिचुङको टाकुराबाट सगरमाथा र मकालुको मनोरम दृश्य देखिनुका साथै सूर्योदयको दृश्य पनि त्यत्तिकै मनमोहक देखिन्छ । भोजपुर जिल्लामा साल्पासिलिचो गाउँपालिका नामकरण गरिएको छ ।

योगमाया न्यौपाने

अदम्य साहस तथा विलक्षण प्रतिभाका धनी योगमाया न्यौपानेको जन्म विसं १९२४ मा भोजपुर जिल्लाको साबिक नेपालेडाँडा गाउँ विकास समितिमा भएको हो । यो स्थान हाल षडानन्द नगरपालिका–१ मा पर्दछ । चन्द्रकला र श्रीलाल न्यौपानेकी एक मात्र छोरी योगमायाको आठ वर्षको उमेरमा मनोरथ कोइरालासँग विवाह भएको थियो । विवाह भएको दुई वर्ष नपुग्दै पतिको निधन भई योगमाया विधवा बन्न पुगिन् । लोग्ने टोकुई भनेर दुव्र्यवहार भएपछि घर त्यागी रातमा भागेर माइत पुगिन् । केही वर्षपछि एक छिमेकी कणेलसँग भारतको आसाममा पुगिन् र उनैसँग विवाह गरिन् । पछि दोस्रो पतिसमेत गुमाएपछि बाध्यात्मक परिस्थितिमा भारतको फूलबारीमा एक डोटेल ब्राह्मणसँग योगमायाले तेस्रो विवाह गरिन् तर पछि उनीले धार्मिक प्रवचन, पुराण, ग्रन्थ सुन्दै जाँदा वैराग्य भई पारिवारिक जीवन त्याग गर्ने निर्णय गरिन् । त्यसपछि विसं १९७३ मा छोरी नैनकलासाथ आफ्नो जन्मस्थान भोजपुर फर्केर कठोर तपस्या गर्न सुरु गरिन् । मझुवाबेँसीमै अरुण नदीको तटमा कुटी बनाइन् र भजनकीर्तन, जपध्यान गरी बस्न थालिन् । उनले त्यहीबेला योगवाणीमार्फत समाजमा सचेतना फैलाउन थालिन् । उनको ‘सर्वार्थ योगवाणी’ प्रकाशनसमेत भएको छ । उनको योगवाणीलाई पछ्याउँदै हजारौँ व्यक्ति उनका अनुयायी बन्न पुगे । उनले समाज सुधार तथा सुशासनका लागि जुद्धशमशेरलाई समेत बिन्ती चढाइन् । उनले समाज सुधारको आश्वासन पाए पनि कुनै परिवर्तन समाजमा हुन सकेन । १९९५ साल कात्तिक २७ गते शुक्लपूर्णिमाका दिन तत्कालीन राणा शासनविरुद्ध आत्मदाह गर्ने योजना बनाउँदाबनाउँदै उनलाई जेलमा हालियो । धेरै अनुयायीलाई पक्राउ गरी कोहीलाई धनकुटा जेल त कोहीलाई भोजपुर जेलमा कोचियो । तैपनि आफ्नो विरोधको यात्रा जारी राखिन् । अन्त्यमा समाजमा केही पनि सुधार नहुँदा असह्य भएपछि विद्रोहस्वरूप उनले आफूसहित ६८ जना अनुयायी लिई १९९८ साल असार २२ गते शनिबार हरिशयनी एकादशीका दिन बिहानै अरुण नदीको ढुङ्गाबाट सामूहिक जलसमाधि लिइन् ।

नारदमुनि थुलुङ  

राणा शासनविरुद्ध पूर्वाञ्‍चलमा विद्रोहको राँको बोक्ने नारदमुनि थुलुङको तस्बिर अङ्कित १० रुपियाँ दरको हुलाक टिकट प्रकाशन भएको छ । भोजपुर र उदयपुर जिल्लाको शैक्षिक विकासमा योगदान दिएका नारदमुनि प्रजातन्त्रवादी राजनीतिक व्यक्तित्व हुन् । थुलुङको जन्म १९६५ चैत २७ गते साबिक नौलेगाउँ, छिन्‍नामखु, भोजपुर हाल टेम्केमैयुङ गाउँपालिका–२, भोजपुरमा भएको हो । देहरादुन र दरभङ्‍गा भारतमा औपचारिक शिक्षा लिएका थुलुङले सन् १९२५ देखि १९३० र १९३४ देखि १९४६ गरी दुई पटकसम्म बेलायती भारतीय गोर्खा सैन्यमा भर्ना भई सैनिक जीवनसमेत व्यतीत गरेका थिए ।

थुलुङले विसं २००४ मा भोजपुर बजारमा उदय प्राइमरी स्कुल स्थापना गरी पठनपाठन सुरु गरेका थिए । उनले २००८ सालमा भोजपुरको टक्सारमा विद्योदय हाइस्कुल स्थापना गरेका थिए ।

थुलुङले २०२६ सालमा उदयपुरको बसाहामा नारद आदर्श हाइस्कुल स्थापना गरेका थिए । नारद आदर्श शिक्षा क्याम्पससमेत सञ्चालनमा छ । भोजपुर र उदयपुर जिल्लाको शैक्षिक विकासमा योगदान दिएकाले भोजपुर जिल्लाको सदरमुकाममा र उदयपुरको बसाहामा स्व. नारदमुनि थुलुङको सालिक स्थापना गरिएको छ ।

थुलुङले भोजपुरमा विद्यालय स्थापनासँगै भूमिगत राजनीतिक प्रचार र सङ्गठन निर्माणको सुरुवात गरेका थिए । उनकै नेतृत्वमा २००७ मङ्सिर २० मा गोप्य बैठक बसी भोजपुर कब्जा गर्ने योजना बनाई मङ्सिर २४ गते शनिबारका दिन भोजपुर कब्जा गरिएको थियो । 

२००८ देखि २०११ सालसम्‍म विभिन्न समयमा मन्त्री, सल्लाहकार सभा सदस्य, राजसभा सदस्य भएका थुलुङको २०४७ साल माघ २२ गते भोजपुरमा निधन भएको थियो ।

टक्सार अड्डा 

गणेश वज्राचार्यले सम्पादन गरेको ‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण २०८१’ पुस्तकमा काशीनाथ तमोटले खिकामाछा टक्सारबाट टिकट पनि छापिएको लेखेका छन् । खिकामाछा टक्सारखानी अड्डाका हाकिम साहेबसिंह थिए र सोही अड्डाबाट हुलाक टिकट छापेर पठाइन्थ्यो । खिकामाछा टक्सारबाट सन् १९०० (विसं १९५७) तिर टिकट पनि छापिएको बुझिएको छ । नेपालमा पहिलो पटक सन् १८८१ (विसं १९३८) मा जोर खुकुरीमाथि श्रीपेच अङ्कित टिकट निस्केको हो (मानन्धर, १९७२–१०) । यसपछि सरकारी कामकाजमा टिकट दस्तुर लाग्न थाल्यो । सन् १८९४ (विसं १९५१ वैशाख वदी ३ रोज ८) मा सनदले के कुरामा कति टिकट लाग्छ भन्ने दस्तुर निर्धारण ग¥यो । (ऐतिहासिक सामग्री) हनुमानढोका दरबार (हाल नेपाल तथा एसियाली अनुसन्धान केन्द्र) मा रहेको एउटा लेखापढीमा यस्तो लेखिएको पाइएको छ– सम्वत् १९५७ वैशाख सुदि ५ रोज ६ को खास अमानत खिकामाछा पैसा टक्सार अड्डाबाट यस अड्डालाई चाहिने टिकट चाँडै छपाई पठाइदिनु भन्ने कौसी तोशाखानाका नाउँमा सनद प्रमाङ्गी होस् भन्ने लेफटेन भारत खड्का क्षेत्रीले चढाएको रिपोर्ट । (गोतामे, १९७५–६३)