• १८ जेठ २०८२, आइतबार

सडक खुलाउन एमालेको ज्ञापनपत्र

blog

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै एमालेका नेताहरू । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट, समाचारदाता

कालीकोट, जेठ १७ गते । नेकपा (एमाले) कालीकोटले जिल्लाको खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा पहिरो जाँदा तीन महिनादेखि अवरोध भएको सडक खुलाउन जिल्ला प्रशासन कार्यालय कालीकोटलाई ध्यानाकर्षण गराएको छ । नेकपा (एमाले) जिल्लाको एक टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै तीन महिनासम्म सडक अवरोध भएर सयौँ नागरिकले दुःख पाएकाले तत्काल सडक मर्मत गराउन आग्रह गरेको छ । 

एमाले कालीकोटका उपसचिव पवित्रकुमार शाहीले मूल बजारको सेरापटामा लामो समयदेखि पहिरोका कारण सडक अवरुद्ध भएको विषयमा तत्काल समस्याको समाधान गर्नका लागि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई लिखित जानकारी गराएको बताउनुभयो । यस्ता विषयमा प्रशासनको बढी अधिकार छ, स्थानीय सरकारलाई भन्ने वा नगरपालिकाको भवन निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीलाई कसलाई भन्ने हो छिटो भनेर सडक सुचारु होस् भन्ने आफ्नो पार्टीको धारणा रहेको उपसचिव शाहीले बताउनुभयो । 

खाँडाचक्र नगरपालिकाले कर्णाली राजमार्गको छेउमा भवन निर्माणका लागि ठेक्का लगाएको थियो । निर्माण व्यवसायीले भवन निर्माणका लागि जग खन्दै जाँदा पहिरो गएपछि बजारको मूल सडक तीन महिनायता पूर्ण रूपमा बन्द छ । सडक बन्द मात्र होइन यहाँका पचासभन्दा बढी नागरिकका घरसमेत उच्च जोखिममा छन् । भवन हुँदै नहुने ठाउँमा केही व्यक्तिको व्यक्तिगत मनसायले भवन निर्माण गर्दा बजार मात्र होइन कर्णाली राजमार्गसमेत खतरामा रहेको छ । 

खाँडाचक्र नगरपालिकाका सबइन्जिनियर कम्बरबहादुर बमले भवन निर्माण उपयुक्त ठाउँमा नभएको बताउनुभयो । सुरुमा हेर्दा चट्टान छ भन्ने थियो तर अहिले बलौटे माटो रहेछ । मुनि चिप्लो पहरा छ, यहाँ कताबाट पिल्लर अडाउने, निकै चुनौती रहेको बमको भनाइ छ ।