परिघटना
झन्डै सात वर्षअघि । साँझपख ।
सहकर्मी बालकृष्ण बस्नेत र म मेडिकल काउन्सिलकी तत्कालीन प्रशासन प्रमुख अनिता लामाको कार्यकक्षमा थियौँ । तिनताक मित्र बस्नेत र म कान्तिपुर दैनिकमा कार्यरत थियौँ । उहाँ वरिष्ठ उपसम्पादक, म कला र शैलीको ब्युरो सम्पादक । साहित्यकार अनिता लामा चाहिँ नेपाल मेडिकल काउन्सिलको प्रमुख प्रशासकीय अधिकृत । समाजमा बढ्दै गइरहेको नकारात्मकता, उपभोक्तावादी बजारले मानिसबाट खोस्दै लगेको स्वत्व र त्यसले उत्पादन गरेको चरम निराशालाई साहित्य, कला र पत्रकारिताको माध्यमबाट कसरी चिर्ने होला भन्ने विषयमा हामी चियाको चुस्कीसँगसँगै घोत्लियौँ ।
“म सँग एउटा सोच छ,” अनिता नानाले भन्नुभयो ।
म उहाँलाई नाना सम्बोधन गर्छु । नाना अर्थात् दिदी । काभ्रेको तेमालमा जन्मिएर काठमाडौँमा एउटा सफल र सङ्घर्षशील पहिचान बनाएका उहाँ उमेर, अनुभव र योगदान हरेक दृष्टिले मभन्दा दिदी नै हुनुहुन्छ । “कस्तो सोच ?” बालकृष्णजीले सुरुप्प चिया लिँदै सोध्नुभयो । “हरेक महिना हाइकिङ जाने; स्थानीय संस्कृति, सम्पदा र जनजीवनको प्रत्यक्ष अनुभव गर्ने र त्यसलाई सिर्जनामा उतारेर मिडियामार्फत प्रचारप्रसार गर्ने,” अनिता नानाको अनुहारमा आभा नाच्यो, “केही नगर्नुभन्दा थोरै भए पनि सकारात्मक प्रयास गर्नु उत्तम ।”
यसअघि नै उहाँ र मबिच काउन्सिलमै कुनै एक साँझ सकारात्मकताका साथ केही सिर्जनशील अभियान गर्नेबारे ‘अमलेट वार्ता’ भइसकेको थियो । त्यस दिन तीन जनाको ‘चिया वार्ता’ पछि चाहिँ अभियानले मूतरूप लियो र बन्यो– पदयात्राको योजना । पहिलो गन्तव्य चुन्यौँ धुलिखेल । कवि, चित्रकार, रङ्गकर्मी र पत्रकार स्वेच्छाले सहभागी हुने गरी एउटा स्वतन्त्र र ‘लुज फोरम’ बनाउने । संस्था दर्ता नगर्ने अनि आफैँले गोजीबाट दामासाहीले पैसा हालेर खर्चबर्च जोहो गर्ने ।
सुखद आरम्भ
विसं २०७५ भदौ १६ को बिहान हामी हुस्सु चिर्दै धुलिखेलको देवीथान डाँडातिर उक्लिने हजार सिँढीमा सगरमाथा आरोहण जस्तै एउटा साङ्केतिक यात्रामा पाइला चालिरहेका थियौँ । अनिता नाना अघि अघि, हामी पछि पछि । यो यात्राका परिकल्पनाकार, संयोजक, संस्थापक जे भने पनि उहाँ नै हुनुहुन्थ्यो । हामी सहयोगी । चित्रकार लालकाजी लामा, एनबी गुरुङ, केशवराज खनाल, देवेन्द्र थुम्केलीको पछिल्तिर क्यानभास, इजेल र रङहरूको झोलितुम्बा थियो । हामी (बालकृष्ण बस्नेत, दिनमान गुर्मछान, नरेन्द्रकुमार नगरकोटी, जगत तामाङसहित) चाहिँ हातमा कलम र डायरी च्याप्दै ।
देवीथानमा पुगेपछि हामी छरियौँ । जुगल हिमाल, गौरीशङ्करदेखि तेमाल र छितिजसम्म फैलिएको महाभारत पर्वत शृङ्खला साक्षी राख्दै कोही चित्र कोर्न थाले, कोही कविता । एकाध घण्टामा हामी सिर्जनासहित जम्मा भइसकेका थियौँ ।
अभियानको नाम के राख्ने ? छलफल चल्यो ।
पाइला, गहना, सौन्दर्य, समृद्धि यस्तै यस्तै नाम आए । हामी कहीँ कतै कसैले पनि नसुनेका सीमान्तकृत शब्दको खोजीमा थियौँ; जसले हराउँदै गइरहेको नेपाली मौलिकतालाई साङ्केतिक रूपमा प्रतिनिधित्व गरोस् । प्रस्तावित नामहरूमा कसैको पनि चित्त बुझ्न सकेन ।
“जेसुम,” मैले भनेँ, “तर यो त तामाङ भाषाको शब्द हो ।”
“यसको अर्थ के हुन्छ ?” केही साथी जिज्ञासु बने ।
“सौन्दर्य, समृद्धि या गहना,” मैले भनेँ, “अर्थात् सबैभन्दा राम्रो ।”
अनिता नाना केही बेर गम्भीर हुनुभयो ।
“लु यही ठिक छ,” बालकृष्णजी हौसिनुभयो, “नयाँ र मौलिक शब्द आयो ।” सबैले ताली बजाए ।
यसरी सुरु भयो– जेसुम ।
शब्दको सत्ता
हरेक शब्दको सत्ता हुन्छ । हरेक दृश्यको सत्ता हुन्छ । हरेक रङको सत्ता हुन्छ । जेसुम तामाङ भाषाको सीमान्त परिचय बोकेको नेपाली राष्ट्रियतासहितको शब्द–सत्ता हो । सद्भाव, समृद्धि, सहअस्तित्व र सकारात्मकताको प्रतीकात्मक पुलका रूपमा हामी सबैले यो शब्दलाई ग्रहण ग¥यौँ ।
जेसुम अब शब्दमा मात्रै रहेन; क्यानभासमा चित्र बन्यो, रङहरूको तरेली बन्यो । रङ्गकर्मीको अभिनयको लय बन्यो । उदार पुँजीवादी सांस्कृतिक दबदबाले सीमान्तकृत बन्दै गइरहेको समग्र नेपाली राष्ट्रिय संस्कृतिको यो एउटा प्रतीक बन्यो । हराउँदै गइरहेको स्थानीय संस्कृति, सम्पदा र विश्वासपद्धतिलाई सकारात्मकतासाथ प्रवर्धन गर्दै संसारभर नेपाली ‘सफ्ट पावर’ फैलाउने यो सानो झिल्को बन्यो ।
हो, यो सानो झिल्को मात्रै हो ।
बजार र न्यु मिडियाले फैलाउँदै गइरहेको भ्रमपूर्ण सांस्कृतिक उत्पादनहरूको बाढीले यसलाई निलेन र बल्दै गयो भने यो भोलि ठुलो होला । तर, चुनौती नै चुनौतीको आहाल छन् चारैतिर । यस्तै प्रकृतिका अरू थुप्रै अभियान थपिए भने सायद यो नेपाली सन्दर्भको ‘रेनेसाँ’ होला कुनै दिन । हामीले खोजेको अहिलेको मूल आवश्यकता ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँग जोडिएको सांस्कृतिक आयामको विस्तार हो । जेसुम त्यो गरिरहेछ ।
यही क्रममा हामी नगरकोट पुग्यौँ । धनकुटा पुग्यौँ, हाम्रै ‘सेलेब्रिटी’ झमककुमारी भेट्न । बजारले त पश्चिमालाई मात्र ‘सेलेब्रिटी’ देख्छ; हाम्रो स्थानीयता, हाम्रा निधिहरूलाई निल्छ बजारले । पश्चिमतिरैबाट बगेर त आइरहेको छ नि प्रदूषित संस्कृति । जेसुम यसको विरुद्धमा छ । हामी हाम्रै गीत गाउँछौँ, हाम्रा आफ्नै भाका छन् । हामी हाम्रै दृष्टिले हेर्छौं, हाम्रा आफ्नै आँखा छन् । यसरी नै साँखु पुग्यौँ, टोखा पुग्यौँ । हाम्रै लिच्छविकालभित्र पस्यौँ र खोतल्यौँ । भक्तपुर र थिमिका आदिम पटाङ्गिनीहरू चाहा¥यौँ । तारकेश्वर, बागमती सभ्यताको शिर वाग्द्वार, विष्णुद्वार, बुढानीलकण्ठ, बौद्धनाथ स्तूप; सबै सबैतिर हामीले हामी नै खोज्यौँ । चन्द्रागिरिको टुप्पोमा पुगेर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यको अभिभावकत्वमा जेसुम घोषणापत्र जारी ग¥यौँ ।
त्यो सानो चियागफमा परिकल्पनाकार अनिता लामाको मस्तिष्कबाट फुत्त बाहिर निस्केको यो अवधारणा अब सामूहिक बनेको छ । यसका सैद्धान्तिक–दार्शनिक र रणनीतिक एवं कार्यनीतिक केही बहस जरुरी छन्– गर्न बाँकी । कला, साहित्य, गीतसङ्गीत, अभिनयलगायत आर्टका सबै ‘फर्म’ मा हाम्रो आफ्नै मौलिकता खोज्ने, बहस गर्ने र सिर्जना गर्ने यो अभियानका आयामहरू अरू थुप्रै हिसाबबाट विस्तारित हुन बाँकी नै छ ।
अहिले त यो झिल्को मात्रै त हो ।
र अन्त्यमा
केही महिनाअघि मात्रै संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा यो देशका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जानुभयो । एउटा प्रवचनका क्रममा उहाँले बोल्नुभएको ‘गैँडाज’ र ‘डाँफेज’ शब्दप्रति सामाजिक सञ्जालमा आलोचना भयो ।
किन नहोस् ? ती आलोचकले तिनका मौलिक आत्मा त पश्चिमबाट निरन्तर दूषित हावा चलिरहने सांस्कृतिक बजारमा बेचिसकेका छन् । त्यसकारण हाम्रो आफ्नै पूर्वीय ज्ञानसत्ता र विश्वास पद्धतिप्रति नै तिनको विश्वास टुटेको छ । त्यस्ता लिलिपुटहरूले कुनै दिन “तिम्रो नाम यो हुँदै हैन” भनेर कसैले भ्रमपूर्ण भाष्य निर्माण ग¥यो भने सायद नागरिकता पनि च्यातेर हिँड्ने छन् ।
तर हामी खुसी छौँ कि यो देशको प्रधानमन्त्रीले अमेरिकामा ‘जेसुम’ गर्नुभयो ।
हो, जेसुम भनेको ‘डाँफेज’ र ‘गैँडाज’ नै हुन् ।
हाम्रो आफ्नै ज्ञानसत्ता । हाम्रो आफ्नै ‘पेटेन्ट राइट’ ।